
बागलुङ, १० पुस– प्रदेश सरकारको लगानीमा निर्माण भएका अधिकांस पूर्वाधारका कार्यक्रम गुणस्तर कमजोर भएको गुनासो बढेको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट ग्रामीण तहमा निर्माण गरिने धेरै विकास निर्माणमा समन्वय र सहकार्य अभावले गुणस्तरमा प्रश्न उठेको हो ।
गत आर्थिक वर्षको बजेट लगानी भएका र त्यसअघिको वर्षको लगानीका पूर्वाधारमा पनि जनगुनासो आएको हो । बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेस्थित भ्युटावर जाने पदमार्ग निर्माणमा समन्वयसमेत नहुँदा गुणस्तरहिन काम भएको उदाहरण स्थानीयले बताए । एउटै काममा नगरपालिकाले गरेको र प्रदेशको लगानीमा गरिएको कामको गुणस्तर फरक परेको उनीहरुले टिप्पणी गरे ।
प्रदेश सरकारको बजेटको काममा स्थानीय पालिकामा समन्वय नभएको जनप्रतिनिधिले टिप्पणी गरेका छन् । ‘नगरपालिकाले लगानी गरेर बनाएको सिंढी राम्रै छ, तर प्रदेशले गरेको कमजोर देखियो’ स्थानीय उपभोक्ता खिमबहादुर पुनले भने, ‘उपभोक्तालाई जानकारी नदिई ठेक्का लगाउने कामले राम्रो प्रतिफल दिएन ।’ उपभोक्ताले नियमित अनुगमन गरेका पूर्वाधार भने राम्रो भएको उनले बताए ।
भ्यूटावर जाने पदमार्गमध्ये झण्डै २० लाख खर्चेर नगरपालिकाले ५ सय मीटर सिंढी लगाएको छ । गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालयबाट आएको १० लाख बजेटले बनाएको २ सय मीटरको सिंढी अग्लो, अप्ठ्यारो र कमजोर गुणस्तरको भएको भेटिएको हो । सिंढी भत्कने गरी संरचना बनाइएको भेटिएको बागलुङ नगरपालिकाका योजना अधिकृत युक्तप्रसाद सुवेदीले बताए । ‘झट्ट देखिने गरी नराम्रो र प्राविधिक रुपमा कमजोर देखियो’ सुवेदीले भने, ‘समयमा पानी राख्ने र स्टिमेटमा सुधार गरेको भए राम्रो हुन्थ्यो ।’
प्रदेश सरकारले भने छोटो दुरीमा दृश्यावलोकन गरेर पदमार्ग बनाउने नीति अनुसारको काम गरेको पर्यटन मन्त्री विकास लम्सालले बताए । ‘नीतिगत रुपमा बनाउन खोज्दा भूगोलको बनोट ख्याल नगरेको देखियो’ लम्सालले भने, ‘आगामी वर्षको बजेटमा थप लगानी गरेर सहज बनाउने योजना ल्याउँछौं ।’ मन्त्री लम्साल उक्त पदमार्गको अबलोकनका लागि पुग्दा अप्ठ्यारो महसुस गरेको बताए ।
यस्तै समस्या प्रदेशले लगानी गरेका धेरै योजनामा देखिने गरेको हो । गत आर्थिक वर्षको बजेटले गलकोट नगरपालिका वडा नं. ९ देखि १० जोड्ने सडकमा एक करोडको काम भयो । ५० लाख रुपैयाँ नगरपालिका र ५० लाख प्रदेशस्थित पूर्वाधार विकास कार्यालयले खर्चंदा प्रदेशको कमजोर देखिएको वडा नं. ९ का अध्यक्ष त्रिलोक थापाले बताए ।
उक्त बजेटबाट प्रदेशले २५ मीटर सडक ढलान गरेको थियो भने उत्तिकै बजेटले नगरपालिकाले २ किमी पक्की नाली निर्माण गरेको थियो । ५० लाखमा ७५ लाखको काम गर्न सकेको नगरप्रमुख भरत शर्मा गैरेले दाबी गरे । ‘प्रदेशको काम गर्दा समन्वय नहुने, उपभोक्तालाई वास्ता नगर्ने कारणले कमजोर हुने रहेछ’ उनले भने, ‘स्थानीयको अपनत्व भएको भए काम गुणस्तर र धेरै हुन्थ्यो ।’
चालु वर्ष भने कामको गुणस्तर कमजोर नगर्ने पूर्वाधार विकास कार्यालय बागलुङका डिभिजन इन्जिनियर शोभियत खड्काले बताए । ‘सडक बनाउँदा संरचना बनाउने, स्टिमेट अनुसारको कामको गुणस्तर मापन र समयमा सक्न प्रभावकारी अनुगमन गर्छौ’ खड्काले भने, ‘दोहोरो पर्ने गरी काम पनि हुँदैन ।’ अघिल्लो वर्ष एउटै सडक र अन्य पूर्वाधारमा दोहोरो बजेट परेका थिए ।





