बागलुङ, १० पुस– जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको कार्यालयमा सर्वसाधारणको पहुँच नभएको भन्दै पश्चिम क्षेत्रका सर्वसाधारणको सुविधाका लागि बुर्तिबाङमा मालपोत कार्यालय स्थापना गरिएको छ । मालपोतको काम झण्झटिलो र समय लाग्ने भएकाले घरदैलोबाटै छिटोछरितो सेवाका लागि स्थापना भएको कार्यालयनै समस्यामा छ ।
कार्यालय स्थापना भएको वर्षौंसम्म पनि दरवन्दी अनुसारका कर्मचारी नपुग्दा बुर्तिबाङ मालपोत कार्यालयमा सर्वसाधारणले पाउने सास्ती कायम छ । मालपोत अधिकृतसहित १२ जना कर्मचारीको दरबन्दी रहेको कार्यालयमा ८ जना कर्मचारीले काम चलाउँछन् । कर्मचारीकै अभावका कारण सर्वसाधारणले समयमा काम पाउँदैनन् । अनलाइनमार्फत हुने काम र कागजमा हुने काम समेतका लागि आवश्यक जनशक्ति नहुँदा समस्या भैरहेको मालपोत अधिकृत दिल बहादुर केसीले बताए ।
बुर्तिबाङ मालपोत कार्यालयमा नायव सुब्बा तीन जनाको दरवन्दी छ । सर्वसाधारणको पहिलो चरणको कामसँग जोडिने नायव सुब्बाको दरबन्दीमा एकजना पनि कर्मचारी छैनन् । सबै दरवन्दी खाली रहँदा काम चलाउनै कठिन हुने गरेको केसीले बताए । कम्प्युटर अपरेटरको दरवन्दी भएपनि अहिलेसम्म बुर्तिबाङ मालापोतमा अपरेटर पुगेका छैनन् ।
एक जना कार्यालय प्रमुखसहित तीन जना खरिदार, एक सह–लेखापाल र तीन जना कार्यालय सहयोगीको भरमा सबै सेवा चलिरहेको केसीले बताए । ‘काम रोकिएको छैन तर काम द्रुत बनाउने जनशक्तिनै हामीसँग छैन्’ केसी भन्छन्– ‘सर्वसाधारणले चाहेजस्तो समयमा काम दिन सकिएको छैन् ।’ भाडाको घरमा सञ्चालनमा रहेको कार्यालय अपांगमैत्री नभएको भन्दै बेला बेलामा गुनासो समेत आउने गरेको छ ।
निजी भवनको चौथो तलामा रहेको कार्यालयमा पुग्न नसक्दा अपांगता भएका लाभग्राही मर्कामा पर्ने गरेका छन् । ‘जनतालाई दुःख नहोस् भनेर बिहान ९ बजेदेखि साँझ ५ बजे सम्म काम गरिरहेका छौं, मुद्दा, निवेदन, सुचनाको काम त बिहान बेलुका गरेर सक्छौं’ उनले भने ‘दैनिक २०÷२५ जना बढि सेवाग्राहीले कार्यालयबाट सेवा लिँदै आएका छन् ।’
काममा ढिलासुस्तीका कारण बुर्तिबाङ पुगेका सेवाग्राहीले लामो समय त्यहीँ बसेर काम गर्नुपर्ने बाध्यता छ । जग्गा रजिष्ट्रेसनको कामका लागि बडिगाड गाउँपालिका–२ बाट बुर्तिवाङ पुगेकी रुनमाया छन्त्यालले भनिन्– ‘१० बजेअघि नै कार्यालय आएकी थिएँ तर हिजो नै आएका ५ जना रहेछन्, आज काम सकिएन फेरी भोली आउनुपर्ने भयो ।’ काम नहुँदा समय र खर्चसमेत बर्बादी हुने गरेको उनको गुनासो थियो ।
कर्मचारी अभावकै कारण समस्या भएको भन्दै मालपोत अधिकृत केसीले भूमि व्यवस्था तथा अभिलेख विभागसंग समन्वय गरेर कर्मचारी पठाउने कुरा भएको तर कर्मचारी नआएकाले समस्या भैरहेको बताए । बागलुङ पश्चिमका ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका स्थानीयले मालपोत कार्यालय बुर्तिवाङबाट सेवा लिँदै आएका छन् ।





