बागलुङ, १४ पुस– गलकोट नगरपालिकाको वडा नं. ७ मल्मबाट पाण्डवखानीहुँदै, वडिगाड गाउँपालिकाको रणसिंहकिटेनी जोड्ने सडक छ । हिउँदमा चल्ने यो सडक वर्षामा सधैं समस्याग्रस्त हुन्छ । ठाउँ ठाउँमा सडक मर्मत गर्नुपर्ने अवस्थाको छ । कठिन सडकमा चल्ने सवारीमा यात्रुहरुले कष्टपूर्ण यात्रा गर्छन् । गलकोट नगरपालिकाबाट वडिगाडहुँदै ढोरपाटन नगरपालिका पुग्ने यो सडकमा हरेक वर्ष लाखौं बजेट बिनियोजन हुन्छ तर काम उस्तै ।
समयमा कार्यान्वयन नहुने, बजेट फ्रिज हुने समस्या भोग्दै आएको यो सडकलाई गलकोट नगरपालिकाले चालु आर्थिक वर्षमा भने प्राथमिकताका साथ मर्मत गर्ने भएको छ । ‘प्रदेशको बजेट पर्छ, फ्रिज भएको खबर आउँछ, डुव्लीकेशन नहोस् भनेर हामीले बजेट राखेका थिएनौं’ नगरप्रमुख भरत शर्मा गैरेले भने ‘यो वर्ष मर्मत गरेर बाह्रै महिना चल्ने बनाउँछौं ।’
तीन पालिका जोड्ने सडक भएकाले गलकोट नगरले रणनीतिक सडकमा समाबेश गरेको छ । चालु आर्थिक वर्षमा सडक विभागले उपलव्ध गराउने १५ लाख रुपैयाँ खर्चेर यो सडक मर्मत गर्ने तयारी भएको हो । ‘नगर कार्यपालिकाको ४३ औं बैठकले प्राथमिकतामा राखेर यो सडकको काम पहिला गर्ने निर्णय गरेको छ’ गैरेले भने ‘स्थानीयको सहजताका लागि सडकको प्राथमिकीकरण गरेका हौं ।’ यो सडक मर्मत भएपछि गलकोटको मल्म, पाण्डबखानी, वडिगाडको रणसिंहकिटेनी र ढोरपाटनका अधिकांश वडालाई सहज हुनेछ ।
यो आवमा मल्मदेखि पाण्डवखानीको सिद्धथानसम्मको सडक स्तरोन्नती हुने नगरपालिकाले जनाएको छ । ग्रामिण पर्यटन र स्थानीय उत्पादनको ओहोरदोहोरमा समेत सडकले सहयोग पु¥याउने गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारी बताए ।
नगरपालिकाले यो वर्षका समपुरक तथा बिषेश अनुदानका कार्यक्रमसमेत तदारुकताका साथ सञ्चालनमा ल्याउने निर्णय गरेको छ । संघिय समपुरक र विशेष अनुदानको लागि आयोजना तथा कार्यक्रमहरु नगरपालिकाभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएका योजनाहरु प्राथमिकतामा राखिएको छ ।
सडक, स्वास्थ्य चौकी, वडा कार्यालय भवन तथा झोलुङ्गे पुलहरु निर्माणको कामलाई अघि बढाउने निर्णय भएको भण्डारीले बताए । नगरपालिकामा आयोजना बैंक स्थापना गरेर दिगो विकासका लागि पहल थालिएको भण्डारीले बताए ।





