संसद विघटनसँगै नेपालप्रति विदेशी चासो ह्वात्तै बढेको छ । हिमाली राज्य नेपाल अन्तर्राष्ट्रिय संचारमाध्यममा छाएको छ ।संसद विघटनले निम्त्याएको अस्थिरतासँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) विभाजित हुँदा छिमेकी चीनको चासो अलि बढी देखिएको छ । चिनियाँ उपमन्त्री कुओ येचोको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले राष्ट्रपतिदेखि प्रधानमन्त्री र दुबै नेकपाका नेताहरुसँग भेटघाट गरेको छ । भेटघाटको क्रममा भित्रीरुपमा के कुरा भयो भन्ने सार्वजनिक त भएको छैन तर चीन नेकपा विभाजन चाहँदैन भन्ने चाहिँ स्पष्ट रुपले बाहिर आएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादीका नेता डाक्टर बाबुराम भट्टराईलाई पनि भेटेर चीनले द्धिपक्षीय सहयोग आदानप्रदान नै आफ्नो प्रमुख एजेण्डा भएको सन्देश दिन खोजे पनि खासमा ऊ नेपालमा बढ्दो अस्थिरताले आफ्नो सुरक्षामा पार्नसक्ने खतराप्रति बढी संवेदनशील देखिएको छ । नेपालमा पछिल्ला दिनमा विकसित घटनाक्रमलाई छिमेकी भारतले आन्तरिक मामिला भने पनि ऊ यहाँको राजनीतिको प्रमुख खेलाडी भएको कहिँकतैबाट छिपेको छैन । भारतीय प्रधानसेनापति, सत्तारुढ भारतीय जनता पार्टीका नेता तथा गुप्तचर संस्थाका प्रतिनिधिको नेपाल भ्रमण लगत्तै विकशित राजनीतिक घटनाक्रमलाई विभाजित नेकपाकै नेताहरुले पनि शंकाको दृष्टिले हेरेका छन् । नेकपाको प्रचण्ड–माधव समूहका स्थायी समितिका सदस्य देव गुरुङले नेपालमा आफ्नो सैन्य बेसक्याम्प राख्न र चीनमाथि आक्रमण गर्न नै अहिलेको कदम चालिएको आरोप लगाएका छन् । उनको संकेत भारत र अमेरिकालगायतका मुलुकप्रति लक्षित रहेको बुझ्न गाह्रो छैन । नेकपाका अन्य नेताहरुले पनि प्रधानमन्त्री केपी ओलीले विदेशीकै इसारामा संसद विघटन गरेको भनाई पत्याउने हो भने देशमा साँच्चिकै विदेशी चलखेल बढेको छ ।
आणविक शक्ति सम्पन्न विशाल देशको बीचमा रहेको नेपालप्रति उनीहरुको चासो हुनु अस्वभाविक हैन । चीन र भारतबीचको प्रतिष्पर्धा र कटुताले पनि नेपाली भूमि संवेदनशील भएको हो । प्रतिष्पर्धीहरुले नेपाल आफ्नो पक्षमा भइदिओस् र यो भूमि अर्काको विरुद्ध उपयोग गर्न पाइयोस् भन्ने सोच्दा पनि हुन् । तर, उनीहरुको यो सोचलाई मलजल गर्ने काम चाहिँ नेपाली नेताहरुले नै गरेका छन् । सानो कुरामा विदेशी गुहार्ने अनि उनीहरुकै इसारामा चल्नु नेपाली राजनीतिको सबैभन्दा डरलाग्दो पक्ष हो । आफूलाई अनूकुल हुँदा विदेशीसँग सम्बन्ध गाँसिहाल्ने र एउटा छिमेकीविरुद्ध अर्कालाई प्रयोग गर्न खोज्ने गलत प्रवृत्तिले हाम्रो राष्ट्रियता कमजोर बनेको हो । यो प्रवृत्तिको जति आलोचना गरे पनि कम हुन्छ । आफैले गलत गरेपछि अर्काले यसो ग¥यो भन्नु झन गलत काम हो । नेपाली नेताहरुले यो गलत प्रवृत्ति रोक्नैपर्छ । आफ्नो देशको सार्वभौमिकता, सुरक्षा संवेदनशीलता तथा राष्ट्रिय स्वार्थमा कसैसँग सम्झौता गर्न हुँदैन । देश र राष्ट्रियताभन्दा ठूलो केही हुँदैन भन्ने उनीहरुले मनन गर्नैपर्छ । आफू अवाञ्छित क्रियाकलाप गर्ने र अर्कालाई दोष दिएर उन्मुक्ति खोज्नुभन्दा ठूलो राष्ट्रघाट अरु केही हुनै सक्दैन । देशलाई विदेशीको क्रिडास्थल बनाउने काम तत्काल रोकिनुपर्छ । दुई हात्तीले प्रेमालाप वा झगडा जे गरे पनि नाशिने घाँस नै हो भन्ने उक्ति यहाँ सम्झिनैपर्छ । घर झगडामा अरुको आड भरोसा खोज्ने काम बन्द गर्नुपर्छ ।

