बागलुङ, १६ पुस– पाँच महिनादेखि थालेको प्रक्रिया पूरा नभएपछि यहा“का एक युवाले ब्लक उद्योग संचालन गर्न सकेका छैनन् । काठेखोला गाउँपालिका–२ भीमापोखराका विष्णु थापाले बागलुङ नगरपालिका वडा नं. ४ बाट सिफारिस नपाएर उद्योग खोल्न नपाएको गुनासो गरे । उनले आवश्यक काजगात पु¥याएका छन् । तर, वडाध्यक्षले सिफारिस नबनाएकै कारण काम गर्न नपाएका हुन् ।
वडाध्यक्ष धु्रबबहादुर केसीले प्रक्रिया पुगेर पनि अनुमति नदिएको उनले आरोप लगाए । ‘मैले सबै कागजात पु¥याएर उद्योग खोल्न लाग्दा अनुमति पाइन्’, थापाले भने, ‘के नियत राखेर हो, मेरो कागजातमाथि कारवाही नै भएन ।’ वडा कार्यालयले मुचुल्का नबनाएसम्म घरेलु र नगरपालिकामा उद्योग दर्ता नहुने प्रावधान छ ।
थापाले वडा नं. ४ मा काम गर्न नपाएपछि वडा नं. ३ मा त्यही कागजातले उद्योग संचालन अनुमति पाएका थिए । गत साउनमा केसीले दर्ता नगरेपछि वडा नं. ३ मा पुगेर उद्योग दर्ता गरेका थिए । संचालनका लागि थापाले वडा नं. ४ को जग्गा भाडामा लिएका छन् । ‘मैले पा“च महिनादेखि जग्गाको भाडा तिरिरहेको छु, उद्योग खोल्न मुचुल्का बनेन्’, उनले भने, ‘अनुमति पाएर पनि संचालन गर्न नपाएपछि लाखौं नोक्सानी भैसकेको छ ।’ थापाले दिएको ठाउ“सारीको सिफारिसमा केसीले आनाकानी गरेका हुन् । वडा नं. ३ बस्ती र बजार क्षेत्र हो । वडा नं. ४ मा उद्योग चलाउन जग्गा भाडामा लिएको उनले बताए ।
‘पटक पटक मैले मुचुल्काका लागि अनुरोध गरेको थिए, मान्नु भएन’, उनले भने, ‘मलाई अनुमति नदिनुको कारण के हो भनेर सोध्दा पनि उत्तर पाइन ।’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले सबै कागजात पुगेकोले अनुमतिका लागि मुचुल्का बनाइदिन आग्रह गरेको बताए । उद्योग संचालनका लागि जग्गा भाडा सम्झौता, जग्गाधनी प्रमाणपूर्जा, पाना नम्बर, बीलभरपाई बनाइसकेकोलाई वडाले मुचुल्का बनाइदिनुपर्ने प्रावधान छ । नगरपालिकाले भने विदेशबाट फर्केर व्यवसाय गर्न खोज्नेलाई प्रोत्साहन र करछुट दिने नीतिसमेत बनाएको छ । उक्त नीति कार्यान्वयन भएमा थापाले थप सहुलियत पाउन सक्छन् ।
वडाध्यक्ष केसीले मध्यपहाडी लोकमार्गको मापदण्डभित्रको जग्गा भएकोले सिफारिस दिन नसकेको बताए । जग्गाधनी हरिनारायण उपाध्यायले भने मापदण्ड छाडेपछिको जमिन भाडामा दिएको दाबी गरेका छन् । ‘नगरपालिकाले औद्योगिक ग्राम बनाएर उद्योगहरु चलाउने भनेकोले अब सबै उद्योग त्यतै लैजाने योजना राखेको छ’ केसीले भने, ‘अर्को उद्योगीसँग झगडा पर्ने देखेर सिफारिस रोकेको हुँ ।’ उपल्लाचौरमा संचालित अर्को उद्योगमा लेनदेन व्यवहार भएकोले विवाद भएको उनले बताए । नगरपालिकाले वडा नं. १३ को कालाखोलामा जग्गा लिएर औद्योगिक ग्राम बनाउने योजना अगाडि सारेको छ । तर चालु वर्षका लागि बजेट नभएकोले अझै दुई वर्षसम्म औद्योगिक ग्राम चल्ने संभावना छैन ।





