
बागलुङ, १६ पुस– वनभोज खाएर फर्किँदै गरेका युवाहरुको समुहले बागलुङ नगरपालिका–१ रामरेखाका वडाध्यक्षसहित तीन जनालाई हातपात गरेका छन् । बुधबार साँझ बागलुङ नगरपालिका–३ मुलपानीको भोर्लाबोट भन्ने ठाउँमा वडाध्यक्ष दुर्गा बहादुर बोहरा, रामरेखाका देवबहादुर बोहरा र बुद्ध बोहरामाथी युवाहरुले हातपात गरेका हुन् । मदिराले मातेका सोही ठाउँका युवाहरुले हातपात गर्दा तीनै जना घाईते भएका छन् ।
उनीहरुमध्ये गम्भिर घाईते भएका देव बहादुर बोहरालाई धौलागिरी अस्पतालमा सामान्य उपचारपछि मणिपाल शिक्षण अस्पताल पोखरा पठाईएको वडाध्यक्ष दुर्गा बहादुर बोहराले बताए । उनको टाउको, खुट्टा र शरीरका विभिन्न अंगमा गहिरो चोट लागेको छ । बुधबार साँझ भोर्लाबोटमा रहेको वडाध्यक्ष दुर्गा बहादुरका भाई नगेन्द्र बोहराको इट्टा भट्टीमा आगो लगाउन पुगेर फर्किँदै गर्दा वनभोजबाट फर्केका युवाहरुले आक्रमण गरेका थिए । काठेखोलामा वनभोज खाएर फर्किएको युवाहरुको समुहले उनीहरुलाई मध्यपहाडी लोकमार्गबाट भोर्लाबोट जाने दोबाटोमा भेटेको थियो ।
‘हामी भोर्लाबोटबाट मध्यपहाडीमा निस्किने ठाउँमा मोटरसाईकल स्टाट गर्दै थियौं, युवाहरुको ठुलो समुह आयो’ बोहराले भने ‘पहिले मोटरसाईकलको बत्ति देखेर ढुंगाले हाने, यसो नगरभन्दा नजिकै आएर भाटा, भाँडाकुँडा सबैले हाने ।’ वनभोजमा गएका युवाहरुको साथमा रहेका डाडु, पन्यु, दाउरासमेतले आँफुहरुलाई प्रहार गरेको उनको गुनासो थियो । उनीहरुले मोटरसाईकलसमेत तोडफोड गरेका छन् ।
२२÷२५ जनाको समुहमा मोटरसाईकलमा आएका स्थानीय युवाले बिनाकसुर आँफुहरुमाथी आक्रमण गरेको भन्दै उनीहरुले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । ‘१५ जना युवाहरुको नामथरसहितको किटानी जाहेरी दर्ता भएको छ, थप ७ जनाको परिचय नखुलेको उल्लेख छ’ प्रहरी निरीक्षक बिजय भण्डारीले भने ‘पक्राउ गर्ने क्रम चलिरहेको छ, नाम वतन खुलाउन मिल्दैन् ।’
प्रहरीले वडाध्यक्षसहितका व्यक्तिहरुमाथी आक्रमण गर्नेको खोजी थालेको जनाएको छ । ढिलोगरी जानकारी आएकाले शुक्रबार बिहानसम्म सबैलाई पक्राउ गरी घटनाको विषयमा अनुसन्धान थालिने भण्डारीले बताए ।





