पोखरा, १७ पुस– नेपाली सेनाको पश्चिम पृतनापति प्रमुख उपरथी विनयविक्रम राणाले नेपाली सेना समाजकै अंग भएको बताएका छन् । उनले सेनाले देश र जनताको हितमा विभिन्न परियोजना संचालन गरेको जानकारी दिँदै राष्ट्रिय एकता कामय गराउन संविधानले दिएको दायित्वप्रति सेना सचेत रहेको पनि बताएका छन् ।
‘नेपालको संविधानले नै हामीलाई राष्ट्रिय एकताको जिम्मेवारी दिएको छ’, पश्चिम पृतनानले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उपरथी राणाले भने, हामी त्यो जिम्मेवारीप्रति सचेत छौं र हाम्रा गतिविधि त्यसमा पनि केन्द्रीत छन् ।’ सेनाले राष्ट्रिय एकता मजबुत बनाउनकै लागि यही पुस २० गते गोर्खा दरवारमा अन्तरक्रिया र सांस्कृतिक कार्यक्रम एवं पुस २१ गते गोर्खा दरबारबाट बोर्लाङसम्म एकीकरण पदयात्रा गर्ने जानकारी दिए । सामाजिक कामअन्तर्गत आउँदो जेठमा तिलिचो ताल सरसफाई पनि गरिने उनको भनाई थियो । सेनाले यही पुस २८ गते भूतपूर्व सैनिक सम्मेलन पनि गर्दैछ ।
पृतनापति राणाले कोभिड–१९ को संक्रमण सुरु भएसँगै सेनाले विभिन्न ठाउँमा हेल्थ डेक्स स्थापना तथा कोरोनाबाट मृत्यु हुनेहरुको शव व्यवस्थापन कार्य कुशलतापूर्वक सम्पन्न गरेको बताए । उनका अनुसार गएको मंसिर मसान्तसम्म गण्डकीमा १७२ जनाको शव व्यवस्थापन गरिएको जनाए । पश्चिम पृतनाका जनसम्पर्क अधिकृत सेनानी प्रेमप्रसाद पौडेलका अनुसार तीमध्ये १५३ जनाको शव गाडिएको थियो भने बाँकी जलाइएको थियो । सुरुमा पीपीई र सुरक्षा सामग्रीको अभावमा केही समस्या भए पनि पछिल्ला दिनमा शव व्यवस्थापनमा कुनै कठिनाई नभएको उनले बताए । यद्यपि, शव व्यवस्थापन गरेवापत् सेनाले अतिरिक्त भत्ता भने पाएको छैन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अग्रमोर्चामा खटिनेलाई भत्ता दिने आवश्वासन भने दिएको सेनाले जनाएको छ । हालसम्म पश्चिम पृतनाअन्तर्गतका ३१० जना कोरोना संक्रमित भएको पनि उनले जनाए ।
जनसम्पर्क अधिकृत सेनानी पौडेलका अनुसार सेनाले यो बीचमा बाढीपहिरोमा परेका ५२ जनाको जिवित र७० जनाको मृतावस्थामा उद्दार गरेको थियो । फेवातालमा डुबेका २ जनाको पनि जिवित उद्दार गरिएको उनले जनाए ।
सेनाले आफ्नो कर्र्तव्य निभाउने सिलसिलामा स्थानीय निकायसँगको सहकार्यमा लकडाउनका कारण रोजगार गुमाएकाहरुलाई राहत वितरण, कोरोनासम्बन्धी अन्तरक्रिया, मन्दिर, ताल तथा बाटो सफाई, वृक्षरोपणलगायतका कार्यक्रम गरेको पनि जानकारी दिएको छ ।





