मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

छ वटा पालिकामा १३ उद्यान बन्दै

छ वटा पालिकामा १३ उद्यान बन्दै


  • ढोरपाटन संवाददाता
  • पुष १९ २०७७, आइतबार

बागलुङ, १९ पुस– कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्र विस्तारै तंग्रिदै गएको छ । २०७६ चैतअघिको जस्तो बाह्य पर्यटकको चाप नभएपनि आन्तरिक पर्यटन सल्बलाउन थालेका हुन् ।
बागलुङमा पनि तंग्रिदै गरेको पर्यटनको प्रभाव छ । धार्मिक तथा प्राकृतिक रुपमा रहेका पर्यटकीय क्षेत्रहरुको विकासका कामले पनि विस्तारै गति लिन थालेका छन् । महामारीको चपेटामा परेको पर्यटन क्षेत्रको विकासमा स्थानीय, प्रदेश र संघीय सरकारद्वारा विनियोजित कार्यक्रमहरु सञ्चालनको चरणमा प्रवेश गरेका छन् । यो वर्ष बागलुङमा पर्यटकीय क्षेत्रको विकास कार्यक्रमअन्र्तगत प्रदेश सरकारले १३ वटा उद्यान निर्माणको काम गर्दैछ ।
पुसको १५ बितिसक्दा जिल्लाभर निर्माण हुने उद्यानमध्ये चारवटाको काम सुरु भएको छ । बाँकी उद्यानको नापजाँच र लगत स्टमेट तयार गर्ने काम चलिरहेको डिभिजन वन कार्यालय बागलुङले जनाएको छ । जिल्लाभर छ वटा स्थानीय तहमा ११ वटा उद्यान र २ वटा विद्यालय तथा क्याम्पसहरुमा हरियाली विकास कार्यक्रम चालु आर्थिक वर्षको लागि विनियोजित छन् ।
‘उद्यान आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षक गन्तव्य हुन्, अन्य पर्यटकीय पूर्वाधारसँग जोडेर उद्यानको विकास गर्ने योजनामा छ’ गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल भन्छन्– ‘यो वर्ष पर्यटन क्षेत्रमा विनियोजित सबै बजेटको काम हुनेगरी प्रक्रिया थाल्न निर्देशन दिएका छौं ।’
बागलुङको ताराखोलामा दुईवटा उद्यान बन्ने छन् । शहिदपार्क ताराखोला र मोतीमोर बराह पर्यापर्यटन कार्यक्रमका लागि १०÷१० लाख रुपैयाँ बजेट छ । मोतीमोर बराह पर्यापर्यटनको काम सम्झौता भएर सुरु भैसकेको डिभिजन वन कार्यालय बागलुङका प्रमुख मुकुन्द अधिकारीले बताए ।
जैमिनी नगरपालिकामा दश लाखमा दुईवटा उद्यान बन्नेछन् । पाकोट हिलपार्क जैदी र देवल मन्दिर क्षेत्र बिनामारेमा पर्यापर्यटनको कार्यक्रम सञ्चालन हुनेछ । बागलुङ नगरपालिकाको अमलाचौरमा शहिद पार्क, रामरेखामा वि.पि. स्मृति पार्क, नारायणस्थानमा हरियाली पर्यापर्यटन, रामरेखामा हरियाली उद्यान र कालापानी हरियाली उद्यान निर्माण हुनेछन् । वि.पि स्मृति पार्कका लागि ५ लाख र अन्यमा दश लाख रुपैयाँ बजेट छ ।
ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा हरियाली उद्यान बन्ने अधिकारीले बताए । त्यहाँ दश लाख रुपैयाँ बजेट खर्च हुनेछ । गलकोटमा भगत सर्वजित हरियाली उद्यान निर्माणका लागि ६ लाख ८३ हजार रुपैयाँ बजेट छ । जिल्लाभरका विद्यालयहरुबाट प्रस्ताव मागेर पाँच वटा विद्यालयमा विद्यालय परिसर हरित प्रबद्र्धन कार्यक्रम र विद्यालय तथा कलेजमा हरियाली उद्यान निर्माणको कार्यक्रम सञ्चालन हुनेछन् ।
दुवै योजनाका लागि जम्मा २० लाख रुपैयाँ बजेट रहेको उनले बताए । पर्यटकीय गतिविधि बढाउने र युवा जनशक्तिलाई आर्थिक क्रियाकलापमा समेट्ने योजनाअन्र्तगत प्रदेशले उद्यान विकासका कार्यक्रम सञ्चालनमा ल्याएको मन्त्री लम्साल बताउँछन् । स्थानीय तहसँगको सहकार्यमा सबै योजनाहरुको काम उपभोक्ता समितिले गर्नेछन् । हालसम्म डिभिजन वन कार्यालयमा रहेको तथ्यांक अनुसार चार वटा योजनाको मात्रै सम्झौता भएको छ । बाँकी योजनाको उपभोक्ता समिति गठन र योजना सम्झौताका लागि आवश्यक प्रक्रिया थालेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->