बागलुङ, २० पुस– समुन्द्री सतहदेखि २१ सय ९५ मिटर उचाईमा रहेको हाँडीकोट । जहाँबाट नाङ्गो आँखाले दर्जनौ हिमश्रृंखलाहरु देख्न सकिन्छ । मुटु छुने चिसो ! लुगलुग कमाउने सिरेठो हाँडिकोटमा चलिरहन्छ ।
वर्षाको समयमा जुकाको समस्या, हुस्सु र कुहिरोले ढाकिने भएपनि हिउँदमा हिउँले घुम्टो नहालुन्जेल हाँडिकोट पर्यटक पर्खिरहेको हुन्छ । प्रचार प्रसारको अभावकै कारण प्रकृतिको अनुपम उपहार भएर पनि हाँडिकोटले गाईबाख्रा हेर्ने गोठाला मात्रै भेटेर बर्षौं बितायो ।
बाइसे चौविसे राजाका पाला रहेको दरवार उठेपछि उराठलाग्दो भएको हाँडिकोटले पछिल्लो समय न्याय पाउन थालेको छ । जैमिनी नगरपालिकाका तीन वडाको संगममा रहेको टापुबाट देखिने केही दृश्यहरु साँच्चिकै अदभूत लाग्दछन् । आजकल हाँडीकोट पुग्नेहरुको भीडनै लाग्न थालेको जैमिनी नगरपालिका–१० राङ्खानीका स्थानीय मित्र थापाले बताए ।
जैमिनीको राङखानी, वडा नं. ७ जैदी र वडा नं. ८ छिस्तीको संगम स्थल हाँडीकोट टापु साँच्चिकै सुन्दर छ । त्यहाँ पुगेर ‘आहा ! हाँडीकोट टापु’ । नभनी सुखै छैन । समथर जमिन, राजदरबारका भग्नावशेष, मन्दिर र शिलाहरु सुशज्जित हाँडिकोटमा पुगेर पहाड खोँचहरुमा मडालिएको बालदसँग तस्विर खिचाउनेहरु आजभोलि दिनदिनै हाँडिकोट पुग्छन् । ‘एक पटक हाँडिकोटको सुन्दरतासँग तस्विर खिचाउन त्यहाँ पुगेँ’ पर्वतको फलेवासबाट हाँडिकोट पुगेका हिटलर थापा भन्छन् ‘छेउछाउमा धेरै घुमियो, मुख्य ठाउँमा बल्ल पुगियो ।’
हिउँदे वर्षा भएको भए यतिबेला हाँडिकोट टापु हिउँले पुरिएको हुन्थ्यो । यो बर्ष हिउँदे बर्षा नभएकाले आन्तरिक पर्यटकको रोजाईमा हाँडिकोट परेको जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेल बताउँछन् । बनभोज खान, भेला, गोष्ठि र सेमिनारका लागि हाँडिकोट पुग्नेहरुसमेत बढेका छन् ।
हाँडिकोट टापुको चर्चा सुनेकाहरु बिदा मनाउनसमेत त्यहाँ पुग्ने गरेका छन् । कोरोना महामारीले बिस्तारै तंग्रिँदै गरेका विद्यालयहरु अवलोकन भ्रमण र बनभोजका लागि विद्यार्थी लिएर हाँडिकोट पुग्ने गरेको स्थानीय बताउँछन् ।
पर्यटकको आवागमन बढ्दै जान थालेपछि राङ्खानीका तिलक क्षेत्री यतिबेला कतारको काम छोडेर हाँडिकोट पुग्नेहरुलाई खाजाको प्रबन्ध गर्न थालेका छन् । कमाई र सेवा दुवै हुने भएपछि टापु नजिकै होटल सञ्चालनमा ल्याएर उनले सेवा दिन थालेका हुन् । क्षेत्रीले आफ्नै ठाउँ बिहारथलामा परम्परागत रुपमा सञ्चालन हुँदै आएको होटललाई स्तरवृद्धि गरि ‘हाँडीकोट टापु रेष्टुरेन्ट एण्ड लज’को रुपमा विकास गरेका छन् ।
हाँडिकोट पुग्ने पर्यटकले स्थानीय कोदोको ढिँडो, स्थानीय कुखुरा र खसीको मासु खोज्ने गरेका छन् । जैमिनी नगरपालिकाले बनाएको पदमार्ग र कच्चि सडकले पनि हाँडिकोटमा पर्यटक पु¥याउन सघाएको छ ।





