बागलुङ, २० पुस– नेपाल नागरिक उड्ययन प्राधिकरणले बागलुङ नगरपालिकाको समन्वयमा बलेवास्थित विमानस्थल निर्माण अगाडि बढाएको छ । चालु आर्थिक वर्षभित्रै सबै काम सक्नेगरी निर्माण कम्पनीले कामलाई तीब्रता दिएको हो ।
केही समयअघिसम्म लकडाउनका कारण मजदुर नभएर रोकिएको कामले अहिले गति लिएको हो । बागलुङ नगरपालिकाले निर्माणमा सहजीकरण गराएकोले कामले गति लिएको नगरप्रमुख जनकराज पौडेलले बताए । पौडेलले बेला–बेला आँफै पुगेर यहाँको अनुगमन गरिरहेका छन् ।
धेरै वर्षदेखि अलपत्र रहेकोले पक्की धावनमार्ग बनाएर जहाज चलाउने लक्षले पुननिर्माणको काम गरिएको प्राधिकरणका कार्यक्रम व्यवस्थापक मीनराज ओझाले बताए । उनले समयमै काम सकेर नियमित जहाज उडाउने योजनामा पनि साथ दिने बताए । प्राधिकरणले ‘काष्ठमण्डप उमा एण्ड संयुक्त निर्माण कम्पनी’सँग गत वर्षको पुस १५ गते ८ करोड २४ लाख ३४ हजार रुपैयाँमा विमानस्थल कालोपत्रेको सम्झौता गरेको थियो ।
२०१६ देखि २०१८ सम्म लगाएर स्थानीयले बनाएको बिमानस्थलमा पोखरा बागलुङ सडक नबनेसम्म नियमित जहाज चलेको स्थानीयले बताए । सडक बनेपछि भने जहाज चल्न छाडेको थियो । बागलुङ नगरपालिकाले खाली सिटको भारसमेत व्यहोर्ने गरी २०७५ सालमा जहाज चलाएको थियो । साताको दुई दिन चलाएको जहाजबाट घाटा भएको र कच्ची धावनमार्गका कारण जहाज चिप्लने खतरा भएको भन्दै हिउँदमा मात्रै चलेर उडान बन्द भएका थिए । गत वर्ष नगरपालिकाकै पहलमा प्राधिकरणले मैदान कालोपत्रेका लागि ठेक्का लगाएपछि कामले गति लिएको हो ।
ठेकेदार कम्पनीले जेठ मसान्तसम्म प्राधिकरण र नगरपालिकालाई विमानस्थल हस्तान्तरण गर्ने योजना बनाएको छ । विमानस्थलमा ६ सय २० मीटर लामो पक्की नाली बनाउने, मैदानमा १ हजार ५ सय मीटर लामो घेराबार लगाउने तयारी छ । मैदानको सबै भाग १ किमी लामो छ । तर हाल ६ सय २० मीटर लामो, २० मीटर चौडा कालोपत्रे गरिनेछ । मैदान भने ६० मीटर चौडा सम्याइएको छ ।
यहाँ १८ देखि २४ सिट क्षमताका जहाजहरु चल्ने आंकलन गरेर मैदान पुननिर्माण भएको हो । यो मैदानमा सडकको भन्दा फरक गुणस्तरको कालोपत्रे हुने बताइएको छ । अहिले मैदानमा गिटी बिच्छ्याउने काम भैरहेको छ । गर्मी मौषम सुरु हुनासाथ कालोपत्रेको काम थालिने ठेकेदार कम्पनीले जनाएको छ ।
बागलुङको बलेवा विमानस्थलसम्म पुग्नका लागि कालीगण्डकी करिडोरको स्तरोन्नती भैरहेको छ । त्यस्तै बागलुङ कुश्मीसेरा सडक पनि कालोपत्रेको काम भैरहेको छ । यी दवै सडक स्तरीय भएपछि सदरमुकामबाट सहजै आउजाउ गर्न सकिने र जहाज पनि नियमित चल्न सक्ने पौडेलले बताए ।
त्यस्तै छिमेकी पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारबाट पनि नजिक भएकोले यो बिमानस्थलको फाइदा लिन सकिने बागलुङ नगरपालिका वडा नं. १४ का अध्यक्ष चक्रबहादुर खत्रीले बताए । बलेवादेखि कुश्मा जोड्ने अग्लो झोलुंगे पुल, बन्जिजम्प र यन्त्रिक पुलसमेत भएकोले पर्वतका धेरै मानिसले बिमानस्थलको उपयोग गर्न सक्ने बताइएको छ । बलेवाबाट काठमाण्डौ र भैरहवाका लागि जहाज नियमित संचालन गर्दा सहज हुने स्थानीयले बताए । पटक पटक चलेर बन्द भएपनि पक्की धावनमार्ग बनेपछि भने स्थायित्व हुने खत्रीको भनाई छ ।





