संसद बिघटनपछि देशको राजनीतिमा राँको बलेको छ । सत्तामा रहेको दलदेखि प्रतिपक्ष र सरकारको समर्थनमा रहेका दलसम्म सडकमा छन् । जनताको आवाज बोल्ने सदन नै नरहेकाले राजनीतिक दलहरुले आफ्ना बिचार व्यक्त गर्ने थलो सडकलाई बनाएका छन् । सत्तामा रहेको दलको एक पक्ष प्रधानमन्त्रीको निर्णयको बिपक्षमा सडकमा छभने अर्को पक्ष निर्णयको पक्षपोषणका लागि सडकमा ओर्लिएको छ ।
दलहरु सडकमा मात्रै होईन, गाउँका कुना कन्दरा, शहरका चोकहरु र सर्वसाधारणका घरघरमा पुग्न थालेका छन् । २०६२÷०६३ को जनआन्दोलनपछिका दिनहरुमा देशमा राजनीतिक गतिविधिहरु निर्वाचन केन्द्रित भएका थिए । दलहरुले संगठन गर्ने काम होस वा जनताका बिचमा गएर उनीहरुको भावना बुझ्ने र आफ्ना कार्यक्रमहरु प्रस्तुत गर्ने काम समेत निर्वाचनको समयमा मात्रै गर्छन् । अन्य समयमा नेता, कार्यकर्ता र कार्यालय समेत कहाँ छ भनेर पत्तो नहुने दलहरु समेत निर्वाचनको समयमा टोलटोलमा पुग्ने परिपाटीलाई आमसर्वसाधारणले नजिकबाट नियालेकै बिषय हो ।
पछिल्लो समय संसद बिघटनको तरंगले निम्त्याएको संकटमा साच्चिकै देशमा निर्वाचनको समय आएको हो कि भन्ने देखिन थालेको छ । सानादेखि ठुला भनिएका दलहरुले अहिले निर्वाचनको समयमा मतदाता भेटघाट जस्तै गरेर कार्यकर्ता भेटघाटको काम गरिरहेका छन् । सत्ता उन्मादले संसद बिघटन गरेको बिरोधको बहानामा सत्तामा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाहेकका दलहरु जनताको घरघरमा पुगेर संगठन र सभाहरु गरिरहेका छनभने सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आँफै भित्रको तिक्तता लिएर कार्यकर्ताहरु आफ्नो पक्षमा पार्ने होडबाजीमा छ । जसमा दुवै समुहका नेता कार्यकर्ताहरु सक्रिय छन् ।
दलहरु जनताको बिचमा जानु सकरात्मक पक्ष हो । वास्तवमा जनहितकै लागि राजनीति गर्नेहरु सधैं जनताका बिचमा नै रहनुपर्छ । निर्वाचनको समयमा मत मागिसकेपछि बिजयको माला पहिरनेहरु र पराजय भएकाहरु यतिका लामो समय कहाँ थिए ? हिउँदमा शितलहर, हिउँ, बर्षाको समयमा बाढी र पहिरो र देशलाई नै तहसनहस बनाउने कोरोना महामारीका बेला दलहरुको सक्रियता र जनतालाई साथ कहाँनेर थियो ? के यी र यस्ता मुद्धा देशमा क्रियासील सबै दलका मुद्धा होईनन् ? जनसेवा दलहरुको कर्म होईन् ? प्रश्न अनेक छन् ।
राजनीतिक संकट आएपछि मात्रै जनताको दैलो सम्झिने राजनीतिक दलहरुको परम्परा अन्त्य हुनुपर्छ । कोरोना महामारीले अहिले पनि छोडेको छैन् । केही सिथिल बनेको महामारी फेरी सक्रिय नहोला भन्न सकिन्न । जुन कुरा स्वास्थ्य बिज्ञहरुले सुझाई रहेका छन् । त्यसैले देश र जनहितका निमित्त राजनीति गर्ने नारा लगाउनेहरुले हेक्का राख्न जरुरी छ, जनता राजनीतिक संकट समाधानका ढाल मात्रै बनिरहन सक्दैनन् । देशको शासन व्यवस्थामा नै प्रश्न उठ्नेगरी भैरहेका राजनीतिक खेल र त्यसभित्रका स्वार्थहरुको बिषयमा जनता जानकार छन् । निर्वाचनको झल्को दिनेगरी भैरहेको दलहरुको घरदैलो र आमसर्वसाधारणको तहबाट आउने सुझावहरुले सार्थकता पाउन् । राष्ट्रहित र राष्ट्रियता तथा जनजीविकाका बिषयमा सबै दलहरु सचेत र जिम्मेबार बन्न जरुरी छ । जनतालाई साथ निर्वाचनमा होइन, संकटका वेला आवश्यक हुन्छ ।

