बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

दलहरुको दायित्व

दलहरुको दायित्व


  • Dhorpatan News
  • पुष २९ २०७७, बुधबार

कोभिड–१९ को महामारीले अर्थतन्त्र थला परेको छ । छिमेकी देशहरुले कोभिडविरुद्ध खोप कार्यक्रम संचालन गरिरहँदा हामीकहाँ कहिले र कसरी खोप आउने भन्ने अन्यौल कायमै छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली खोपको व्यवस्थाको लागि भारत जाँदैछन् । उनको भ्रमणले सार्थकता पाए नेपालीहरुले खोप पाउलान् र सुरक्षित महशुस गर्लान् भन्ने आशा रहेको छ । तर, देशमा यतिबेला आशाभन्दा पनि निराशाका स्वरहरु चर्को सुनिन थालेका छन् । राजनीतिक दलहरु र खासगरि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको झगडाले मूल मुद्दा ओझेलमा परेको छ । विकास निर्माणलगायत जनस्वास्थ्यका विषयहरु छायाँमा परेका छन् ।
दुई चिरामा विभक्त नेपाल कम्युनिष्ट पार्टीमध्ये को वैधानिक भन्ने झगडाको अन्त्य भएको छैन । दुबै दलले आफू नै आधिकारिक भएको जिकिर गरिरहेका छन् । एउटाले अर्कालाई खुइल्याउन भएजति शब्दहरुको प्रयोग गरिएका छन् । अघिल्लो चुनावमा जनताले नेकपालाई ठूलो दल बनाए । नेकपाले पाएको मत स्थायित्व र समृद्धिको लागि थियो । तर, त्यो कुरा नेकपाका नेताहरुले बुझ्न सकेनन् । पार्टीभित्र देखिएको कलहकै बीचमा प्रधानमन्त्री केपी ओलीले संसद नै विघटन गरिदिए । संसद विघटनसँगै उनले चुनावको घोषणा गरेका छन् । चुनाव नै भयो भने पनि कोरोनाले सिध्याएको अर्थतन्त्रले चुनाव धान्ने अवस्था छैन । चुनावमा खर्च हुने पैसा विकास निर्माणमा लगाउन सकेको भए त्यसले देशको आर्थिक अवस्था उकास्न मद्दत पु¥याउँथ्यो । त्यतातिर प्रधानमन्त्रीले ध्यान दिएको देखिएन । आफ्नो हठका कारण सदन भंग गरेर देशमा जुन राजनीतिक जटिलता उत्पन्न्न भएको छ, यसले कसैको भलो गर्ने देखिएको छैन । व्यक्ति वा अमूक समूहले जित्दा राष्ट्र हार्ने अवस्था आएको छ । यो अवस्थाको अन्त्य हुने संभावना देखिएको छैन ।
संसद पुनःस्थापनाको माग राख्ने र संसद पुनःस्थापना सम्भव छैन भन्ने समूहबीचको झगडा टुंगिने छाँट पनि छैन । अदालतले यो विषय टुंग्याउला तर अदालतको निर्णयलाई नै चुनौति दिनेगरि गतिविधि हुने सम्भावना बढेर गएको छ । संवैधानिक निकायहरुलाई प्रभाव पार्नेगरि आएका अभिव्यक्ति र गतिविधिले ती निकायहरुको अस्तित्व रहने कि नरहने भन्ने आशंका पनि उब्जाएको छ । यो प्रवृत्तिलाई कुनै पनि कोणबाट राम्रो मान्न सकिँदैन । दलहरुले अहिले देखाएको रवैया र प्रवृत्तिले नागरिकहरुका समस्याहरु छायाँमा परेका छन् । नागरिकहरुको दुःख नदेख्ने, उनीहरुका समस्याबारे ध्यान नदिने गर्दा दलहरुप्रति नागरिकको विश्वास गुम्दै गएको छ । दलहरु बलियो हुँदा लोकतन्त्र बलियो हुने हो । दलहरु टुटफुटमा जाँदा र झगडा गरिरहँदा लोकतन्त्रको जरा हल्लिन पुग्छ । अहिले भएको यही हो । लामो त्याग र बलिदानबाट ल्याएको व्यवस्थामाथि नै प्रश्नचिन्ह खडा हुनेगरि दलहरु आपसमा भिड्नु हुँदैन । दलहरुले अहिलेको अवस्थामा संयम अपनाउनुपर्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->