पोखरा, १ माघ– पोखरा महानगरपालिका वडा नम्बर ७ वडा कार्यालय भवन बन्ने भएको छ । रत्नचोकमा १ करोड ८० लाखको लागतमा वडा कार्यालय भवन निर्माण हुने भएको हो । दुई रोपनी ६ आना क्षेत्रफलमा बन्ने सुविधा सम्पन्न कार्यालयको बिहीबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत महेश बरालले संयुक्त रुपमा शिलान्यास गरे । १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी दीपज्योति कन्ट्क्सन प्रालिले ठेक्का पाएको छ । अहिले वडा कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आएको छ ।
शिलान्यास कार्यक्रममा बोल्दै महानगर प्रमुख मानबहादुर जिसीले सेवा प्रवाहलाई व्यवस्थित र नागरिकलाई सहज रुपमा सेवा पु¥याउने उद्देश्यले वडा कार्यालय भवन निर्माणलाई प्राथमिकतामा राखिएको बताए । उनले पोखरा महानगरपालिका विधि र कानुनको पालना गर्दै आफ्नो भिजन र मिसन अनुसार अगाडि बढेको बताए । उनले विकास र परिर्वतन रातारात सम्भव नहुने बताउँदै पोखरा महानगरबासीमा आसा र विश्वास लगाउने गरी काम गर्न आफू लागि परेको बताए ।
उपप्रमुख मञ्जुदेवी गुरुङले नागरिकलाई सेवा प्रवाह सहज बनाउन पूर्वाधारमा जोड दिइएको बताइन् । वडा कार्यालय निर्माण गर्न कार्यालयहरु व्यवस्थित हुनुपर्ने बताउँदै त्यही अनुसार वडा कार्यालय निर्माणलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताइन् । वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र बरालको अध्यक्षतामा भएको कार्यक्रमममा नेकपा वडा नम्बर ७ का अध्यक्ष पुरुषोत्तम रेग्मी, नेपाली काँग्रेसका वडा सभापति नवीन बराल, महानगरका वरिष्ठ इन्जिनियर शारदामोहन काफ्ले, वडा सदस्यद्धय प्रभा पन्त र किशोर बराल लगायतले बोलेका थिए ।





