आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

पोखरा एयरपोर्ट भैरहवाभन्दा राम्रो : मन्त्री ढकाल

पोखरा एयरपोर्ट भैरहवाभन्दा राम्रो : मन्त्री ढकाल


  • ढोरपाटन संवाददाता
  • माघ २ २०७७, शुक्रबार
निर्माणाधीन पोखरा क्षेत्री अन्तर्राष्ट्रिय विमानस्थलको अवस्थाबारे जानकारी लिँदै पर्यटनमन्त्री भानुभक्त ढकाल ।

पोखरा, २ माघ– संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री भानुभक्त ढकालले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भौतिक प्रगतिको हिसाबले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलभन्दा उत्कृष्ट रहेको बताएका छन् ।

निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन भ्रमणमा बिहीबार पोखरा आएका मन्त्री ढकालले पोखरा विमानस्थलको निर्माण प्रगतिले खुसी लागेको पनि बताए ।
भैरहवामा निर्माण हुनलागेको विमानस्थलको स्थलगत अवलोकनपछि उनी पोखरा आएका हुन् । मन्त्रीले बनावट र निर्माण प्रगति पोखराको राम्रो भएको बताए । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन पछि निर्माणको क्रममा आउने नीतिगत समस्या र समन्वयको लागि सरकार सधैँ तयार रहेको भन्दै मन्त्री ढकालले समयमा निर्माण सम्पन्न भई संचालनमा ल्याउन सरकारले तयारी थालेको बताए । सरकारको ध्यान नपुगेका कारण विलम्बन भएका काम र समस्यालाई समयमा हटाउन आफूले पहल लिने उनको भनाई थियो ।

विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीले हालसम्म विमानस्थलको ७० प्रतिशत भौतिक तथा ५० प्रतिशत वित्तीय प्रगति भएको बताए । अहिलेसम्म ७० प्रतिशत भौतिक संरचना निर्माणको काम सकिएको र सन् २०२१ को जुन १० तारिखसम्म काम सकिने विश्वास व्यक्त गरे। उनले विमानस्थलको रनवे, टर्मिनल भवनसहित निर्माणाधीन १४ भवन, ट्याक्सी पार्किङलगायतका संरचना तथा हालसम्मको प्रगतिका बारेमा मन्त्रीलाई जानकारी गराएका थिए । उनका अनुसार निर्धारित मिति सन् २०२१ जुन १० भित्रमा सक्नेगरि काम भइरहेको छ । ‘ल्याण्डसाइड’तर्फ दुई हजार ५०० मिटर रनवे, ट्याक्सी वे, आइसोलेटेड पार्किङ, राजमार्गबाट टर्मिनल भवनसम्मको मुख्य सडक तथा अन्य पहुँचमार्ग (एस्सेस रोड), सिँचाइ नाला, पानी बाहिर पठाउने (आउटलेटिङ) तथा कल्भर्डको काम सकिएको छ ।
त्यसैगरी एयरसाइड र भवनतर्फ आन्तरिक तथा बाह्य टर्मिनल भवन, एटीसी टावरलगायतका विभिन्न १४ भवन, ह्याङ्गरलगायतको सिभिल संरचना र क्रंक्रिट संरचनाको काम सकिएर डेकोरेसन तथा फिनिसिङ भइरहेको छ । विदेशी कामदार आएपछि डेकोरेसनको काम हुनेछ । विमानस्थल नजिकको रिठेपानी डाँडा कटान, हालको ल्याण्डफिल साइट स्थानान्तरण,आयल निगमको इन्धन डिपोको व्यवस्थापनलगायतका काम बाँकी रहेको उनले बताए ।

‘दुई तिहाईले व्यवस्था नै बदल्न सक्छ, संसदको के कुरा ?’

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री भानुभक्त ढकालले दुई तिहाई भएको सरकारले संसद भंग गर्नु संविधानसम्मत भएको जिकिर गरेका छन् ।
पोखरा पर्यटन परिषदले बिहीबार साँझ आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले प्रधानमन्त्रीसँग दुई तिहाई बहुमत भएकाले उनको कदम सही भएको बताएका हुन् ।
‘सार्वभौमसत्ता जनतामा जाने कुरा हो, दुई तिहाई भएको सरकारले व्यवस्था नै बदल्न सक्छ, संविधान नै नयाँ लेखिदिन सक्छ । संसदको कुरा मात्र हैन’, उनले भने,‘यसले गर्दा चुनाव हुन्छ ।’
उनले चुनाव हुने पक्का पक्की भए पनि नेकपाको प्रचण्ड– माधव समूह चुनाव हुँदैन भन्ने हल्ला गर्न बाध्य भएको उनको भनाई थियो ।
‘कतिपयले चुनाव हुँदैन भनेर कार्यकर्तालाई अल्झाउन परेको र कतिपयलाई चुनाव चिन्ह हाम्रै हुन्छ भनेर भनेर भ्रममा पारेर उता जान नदिन तगारो हालेर बस्नु परेको छ’, उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->