पोखरा, ११ माघ– राष्ट्रिय बहिरा महासंघ नेपाल गण्डकी प्रदेशको आयोजनामा दोभाषे ४५ दिने नेपाली सांकेतिक भाषा र क्षमता विकास तालिम सुरु भएको छ । गण्डकी प्रदेशभित्र रहेका बहिराहरुलाई संचारसंग जोड्नको लागि दोभाषे तालिमको आयोजना गरिएको हो । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा तालिम सुरुगरिएको हो । गण्डकी प्रदेशका सबै जिल्लाको प्रतिनिधित्व हुने गरी कार्यक्रममा १५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।
आइतबार कार्यक्रमको उद्घाटन पश्चात बोल्ने क्रममा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव विनोद बहादुर कुवँरले बहिरा व्यक्तिको आवस्यकता अनुसारको काम गर्न नसकिएको बताए । राज्यले बहिरा भएका व्यक्तिहरुलाई केहि गर्न नसकेपनि गण्डकी प्रदेशले भने केहि हदसम्म सम्वेदनशील भएर लागिपरेको बताए । उनले सिमित स्रोत साधन र संचार नहुँदा बहिराहरुको पिडा बुझ्न निकै कठिन भएको बताए ।
राष्ट्रिय अपाङ्ग महासंघ गण्डकीका अध्यक्ष खोमराज सुबेदीले बहिराको लागि संचार दोभाषे विना असम्भव रहेको बताए । उनले बहिरालाई संचारको निम्ति बजेट बिनियोजन गर्दै दोभाषेको वृद्धि गर्नुपर्नेमा जोड दिए । ‘बहिरा हुनेहरुलाई निकै समस्या छ । अन्य क्षेत्रको त परको कुरा विरामी भएर अस्पताल जादाँ समेत निकै समस्या छ । अब प्रदेश सरकारलेपनि समावेशी र सशक्तिकरणको लागि प्रत्येक मन्त्रालयमा एक दोभाषे राखिदिन प¥र्यो । दोभाषेको व्यवस्था भए राज्यको सम्पूर्ण सेवा सुविधा उपभोग गर्न पाउने थिए,’ बहिराहरु पूर्ण रुपमा आधारभुत आवस्यकताबाट समेत बञ्चित हुने गरेको उनको भनाइ रहेको छ ।
उद्घाटन कार्यक्रममा बहिरासंघका अध्यक्ष राजेन्द्र सर्मा, उपाध्यक्ष प्रमिला थकाली सल्लाहकार हरीप्रसाद बराल लगाएतले सांकेतिक भाषामा आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रम संचालन संघका सचिव कुलप्रसाद भट्टराईले गरेका थिए भने त्यसको सहजीकरण दोभाषे मीरा विष्टले गरेकी थिइन् ।





