नेपालको लामो र संसारकैलामो भनेर दावी गरिएको पुलको उद्घाटन भएको छ । निर्माण थालनी भएको दुइ बर्षमै यो पुल बनिसकेर उद्घाटन हुनु सुखद बिषय हो । कोरोना महामारी र लकडाउनको समस्या नभएको भए यो पुल अघिल्लो बर्ष उद्घाटन भैसक्थ्यो । यसरी बिकास भएर छिटै उद्घाटन हुने थोरै संरचनाहरुमा बागलुङको यो पुल पर्छ ।
नेपालमा धेरै बिकास निर्माणका कामहरु बर्षौ सम्म बन्दैनन् । दशकौं सम्म नबनेपछि कतिपय निर्माणाधिन आयोजना भएको भन्दापनि जीर्ण बन्दै जाने गरेको देखिन्छ । तर यो मात्रै कसरी संभव भयो त ? यो बिषयमा समयमा सोच्न सकियो भने देशका धेरै योजनाहरु अलपत्र बन्नबाट जोगिन्थे । हुनपनि हरेक योजना सफल हुनुमा सरकारी संयन्त्र, लगानी, ठेकेदार र उपभोक्तापनि जागरुक बन्नुपर्छ । हरेक उपभोक्ताले आफ्नो वा मेरो बिकास भन्ने सम्झनुपर्छ । ठेकेदारले पनि सरकारी काम कहिले जाला घाम भनेर बस्न हुँदैन । राज्यका संयन्त्रले पनि बनेको आधारमा भुक्तानी दिने मात्र नभइ गुणस्तर मापत सँगै छिटो काम गर्न दवाव सिर्जना पनि गर्नुपर्छ । त्यतिमात्र हैन ठेकेदारलाई कामगर्ने वातावरण पनि तयार गरिदिनुपर्छ ।
यी सबै बिषय लामो पुलकालागि उपयोगी भएको देखिए । शिलान्यासमा आएका राष्ट्रिय सभाका अध्यक्षले समेत यो पुल छिटै उद्घाटन गर्ने लक्ष बनाए । उनले अन्य काममा बागलुङ आउने बेलामा पनि पुलकै चासो र चिन्नत गरे । हरेक पटक आएर पुलको निर्माण प्रगती मात्रै बुझेनन्, ठेकेदारलाई झकझक्याए । बजेटको कमी हुन नदिने, बनिसकेपछि ठेकेदारलाई सम्मान गर्ने र समयमा काम सकिएको उदाहरण बनाउन प्रेरणा दिए । ठेकेदार पक्षले पनि समयमा काम गरेर पुरस्कार पाउने, आम जनताको बिकासमा प्राथमिकता दिनुपर्छ भन्ने सन्देश दिन खोजे । पुलको लठ्ठा टांग्ने स्थानमा तीनवटा सडक भएर पनि सुरक्षित रुपमा काम गर्नु ठेकेदारको कुशलता समेत हो ।
यो पुल अभावमा पर्वतको पाङका मानिसले बागलुङ बजार आउन १ घण्टा बिताउनु पथ्र्यो । तर अहिले १० मीनेटमा छोटो भएको छ । दुरीले छोटो मात्र नभइ यो पुलले दुइ क्षेत्रको भावना जोडिएको छ । दुवै क्षेत्रको व्यपार व्यवसाय, संस्कृति, बिद्यार्थी, कर्मचारी र अन्य समुदायलाइ पनि जोडेको छ । यस्ता बिकास निर्माणका काममा हाम्रा नेतृत्वले यस्तै प्रकारको समन्वय र अगुवाई गर्नुपर्छ । हुनपनि हरेकले मेरो काम हो भनेर गरेको खण्डमा समयमा सफलता पाउने निश्चित छ । अर्काको काम भनेर गरेको खण्डमा मध्यपहाडी लोकमार्ग जस्तै बन्छ । बर्षौदेखि अलपत्र परेको मध्यपहाडीको बागलुङ खण्ड, बसपार्क, बिभिन्न खानेपानी आयोजनाहरु त्यसका उदाहरण हुन् । समयमा चासो नभएकै कारण जिल्ला प्रशासन र अदालत भवन बर्षौदेखि अलपत्र परेका थिए । ढीला गरी निर्माण सम्पन्न भएका छन् । धौलागिरी अस्पताल अझै पुर्णता पाएको छैन । हुनपनि १२ बर्ष सम्म ठेकेदारले काम अलपत्र पार्ने अबस्था आउनु दुःखद हो । त्यसकालागि नेतृत्वको चासो कम भएको स्पष्टै हुन्छ । नत्र कामहरु कुन सजिलो र कुन अप्ठ्यारो होला ? जे होस् आम जनताले सन्तोष गर्न सक्ने गरी बनेको नेपालकै लामो पुलले चासो र चिन्तन भएमा ठूला आयोजनाहरु समयमा बन्न सक्छन् भन्ने सन्देश दिएको छ । अबका बिकासे योजनामा हरेक नेतृत्वले यो बिषय आत्मसाथ गरोस् ।
