पोखरा, १९ माघ- नेपालीमा एउटा उखान छ जहाँ इच्छा त्यहाँ उपाय ! इच्छा हुनुपर्छ उसले जस्तो असम्भव कामलाई समेत सम्भव बनाउन सक्छ । वाग्लुङ–८ सिगानाका गंगाबहादुर खड्का आजभन्दा २० वर्षअघि पोखरा झरे । पहिले भारतीय सेनामा कार्यरत खड्काको अहिले खुट्टा चल्दैन तर आफै कार लिएर हिँड्छन् । उनमा पहिले देखिनै कार चढेर हिड्ने चाहना थियो । बिदामा घर आएका खड्काको २० वर्ष अघि घाँस काट्न जाँदा लडेर दुवै खुट्टा काम नलाग्ने भएको थियो । उपचार गराए तर खुट्टा चलेन । त्यसपछि उनी पोखरा झरे । हिँड्डुल गर्न अर्काको सहायता चाहिने उनी आफ्नो नातीहरुलाई कारमै चढाएर विद्यालय छाड्छन्, परिवारलाई सिल्भर रंगको ग २ च ३८९१ नम्बरको कारमै घुमाउँछन् । उनको कारको अगाडी र पछाडीको भागमा रातो अक्षरमा लेखिएको छ,‘अपाङ्गमैत्रीले चलाएको साधन ।’ तर, खड्कासंग कार चलाउने सवारी अनुमतिपत्र भने छैन् । अनुमतिपत्रबिना सवारी चलाउन पाइँदैन । त्यो उनलाई पनि थाहा छ ।
५९ वर्षीय खड्का अहिलेको समयमा सरकारी निकाय, मन्त्री तथा नेताहरु भेट्नमै व्यस्त भएका छन् । सरकारले निःशुल्क व्यवस्था नगरेपनि भन्सारको छुटमा कार ल्याउन र सवारी चालक अनुमतीपत्र (लाइसेन्स) को लागि पहल गरिरहेका छन् । पोखरा महानगरपालिका अपाङ्ग परिचयपत्र वितरणका सदस्यसमेत रहेका खड्का सरकारले लाइसेन्सको व्यवस्था गरे कार चलाएरै अपाङ्गले आफ्नो परिवार धान्न सक्ने बताउँछन् । ‘हामी सरकारसँग निःशुल्क कार माग्दैनौँ । त्यो दिनसक्ने स्थितिसमेत छैन’,खड्काले भने,‘ तर, सरकारले भन्सार छुट र लाइसेन्सको लागि कानून बनाउने हो भने हामी पनि सामान्य व्यक्ति झै सवारी आफै लिएर हिड्न सक्छौँ ।’ उनले चलाउने कारमा ब्रेक, क्लचलगायतका सबै कुरा हातले चलाउन मिल्छ । आफूले राम्रोसँग कार चलाउनेमा उनी ढुक्क छन्
‘यो चुनौतीपूर्ण काम हो, हामीले सक्षम तरिकाले चलाउँदासमेत अर्काले आएर ठक्कर दिन सक्छ । राज्यले यसकालागि कानूनी व्यवस्था गर्न जरुरी छ’, उनले भने,‘आखाँ र हात ठीक भए कार लिएर हामी पनि त हिड्न सक्छौँ, गन्तव्यमा आफै पुग्न सक्छौँ, अरुको सहारा त चाहिँदैन ।’ भारतमा आखाँ र हात सकुशल भए कार चलाएर हिँड्न पाउने कानूनी व्यवस्था छ । तर, नेपालमा भने त्यस्तो व्यवस्था आइसकेको छैन् । विशेषगरी पोलियोबाट ग्रसित विरामीले कार पनि चलाउन सक्छन् ,हातकै भरमा । राज्यले ऐन कानून ल्याए जीविकोपार्जनको राम्रो र सुरक्षित आधार कार बन्न सक्ने उनको धारणा छ । ‘यो एउटा रोजगारीको लागि अवसरसमेत हो । सुरक्षित रुपमा यात्रुलाई लैजान पनि सकिन्छ । सकुशल व्यक्तिले भरपर्दो पनि हुन्छ राज्यले हामीलाई सहयोग गरे अटोमेटिक सिस्टमको (स्वचालित) समेत कार लिएर हिड्न सक्छौँ । यसले समाजमा हामीलाई हेर्ने दृष्टिकोणमा समेत भिन्नता आउनेछ ।’, उनले भने ।
नेपालमा सामान्य व्यक्तिकै लाइसेन्समा त झन्झट व्यहोर्नुपर्ने परिस्थिति छ । अपाङ्गमैत्री कारको लागि लाइसेन्सको व्यवस्था गर्नु झन चुनौती हो । चारपाङ्ग्रे स्कुटरको लागि भने लाइसेन्स व्यवस्था रहेको छ ।





