कास्की, २० माघ– कास्कीको रुपा गाउँपालिकाले शहीद तथा वेपत्ता परिवार,द्धन्द्धपीडित र परिवर्तनका लागि जेलनेल भोगेकाहरुलाई सम्मानित गरेको छ ।
विभिन्न संघर्ष तथा परिवर्तनका आन्दोलनमा शहीद र वेपत्ता भएका १८ जना, घाइते भएका १७ जना द्धन्द्धपीडित ४० जना र ८ जना जेलनेल भोगेकाहरुलाई ताम्रपत्र, दोसल्लाले सम्मानित गरेको हो । ती परिवारका ५ जनासम्मको स्वास्थ्य बीमा पनि गरिएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए । उनका अनुसार बीमा एकलाख बराबरको छ । गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनले ती परिवारलाई सम्मान गरिन् ।
यता, गाउँपालिकाले पहिलोपटक रुपा डान्स आइडल पनि आयोजना गरेको छ । ५५ जनाभन्दा बढी प्रतियोगी डान्सरलाई पछि पार्दै रुपा–६ कि मेरिजन गुरुङले रुपा आइडलको ताज पहिरिएकी छन् । रुपा–५ कि अनुशा अधिकारि, रुपा–६ की सुस्मिता खड्का र रुपा–५ की सुजता विक क्रमशः द्वितीय, तृतीय र सान्त्वना भए । आइडलमा प्रथम हुनेले ३० हजार रुपैयाँ प्राप्त गरिन् । उनीहरुले क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार पाए । विभिन्न वडामा रहेका जाति विशेषका संस्कृति, रहनसहन र परम्परालाई एकै ठाउँमा ल्याउने र नयाँ पुस्तालाई आफ्नो संस्कृतिसँग जोड्न झाँकी प्रतियोगिता भने कोरोनाका कारण रोकिएको छ ।





