हामीले सुन्दै आएको बर्मा अर्थात् म्यान्मारमा सैनिक ‘कु’ भएको छ । त्यहाँका सेना प्रमुख मिन ओङ ह्वाइनले बर्मामा एकवर्षको निम्ति संकटकालको घोषणा गरिदिएका छन् । यसअघि सेनाले बर्माको सत्तारुढ दल नेसनल लीग फर डेमोक्रेसी ( एनएलडी)की नेता आङ साङ सूची,राष्ट्रपति वुइन मेयनसहित अन्य नेताहरु पनि पक्राउ गरेको थियो । गएको वर्ष भएको निर्वाचनमा स्पष्ट बहुमत पाएको एनएलडीले धाँधली गरेको आरोप लगाउँदै आएको त्यहाँको सेनाले सोमबार नयाँ निर्वाचित संसदको बैठक बस्न लागेकै बेला ‘कु’ गरिदिएको हो ।
बर्माको लागि सैनिक ‘कु’ अनौठो होइन । त्यहाँ पटक–पटक सेनाले सत्ता आफ्नो हातमा लिँदै आएको छ । सूची त्यही व्यक्ति हुन्, जसका पिताले म्यान्मारलाई अंग्रेजबाट स्वतन्त्र बनाउन नेतृत्वदायी भूमिका निभाएका थिए । अंग्रेजबाट मुक्त भएको म्यान्मारमा प्रजातन्त्र संस्थागत हुनै पाएन । उनका पिताको हत्या भयो । सूची बेलायतमा बसिन् । सन् १९८८ मा देश फिर्तासँगै उनी राजनीतिमा होमिइन् । सैनिक शासनविरुद्ध देशव्यापी प्रदर्शनको नेतृत्व गरिन् । सो आन्दोलनमा हजारौँ मारिए । पछि उनले एनएलडी गठन गरिन् । सन् १९९० मा भएको निर्वाचनमा उनको पार्टीले बहुमत ल्याए पनि शैनिक शासनले सत्ता हस्तान्तरण गरेन । सूची लामो समय नजरबन्दमा परिन् । प्रजातन्त्रको मानक बनेकी सूचीले त्यही समय नोवेल पुरस्कार पाइन् । उनको पार्टीले सन् २०१२ र १५ को चुनाव जित्यो । पदमा नभए पनि सत्ताको साँचो समातेकी सूचीले त्यो बेला सेनासँग शक्ति साझेदारीमा सहमति जनाइन् । उनको विरुद्ध लेख्ने पत्रकारहरुलाई जेल हालियो । जीवनभर लोकतन्त्रको लागि लडेकी उनले सेनाबाट रोहिन्ज्या मुसलमानमाथि भएको ज्यादतिलाई ज्यादति नै मानिन् । अन्तर्राष्ट्रियस्तरमा उनको छवि धमिलिन पुग्यो । जुन सेनाको ज्यादतीलाई उनले साथ दिइन् अन्तत ः त्यही सेनाले उनलाई पुनः नजरबन्दमा पु¥यायो । प्रजातन्त्र नरहँदा सूची पनि रहिनन् ।
संयोग, म्यान्मारमा प्रजातन्त्र खोसिएको दिनमै नेपालमा पनि राजाबाट प्रजातन्त्रमाथि ‘कु’ भएको थियो । उनले पनि आफूसँग मिलेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गर्दै शक्ति आफ्नो हातमा लिएका थिए । निरकुंशताका पक्षपातीहरु कहिल्यै पनि लोकतन्त्रका हिमायती हुन सक्दैनन् । उनीहरु मौका पाउनासाथ लोकतन्त्रमाथि प्रहार गर्छन् । म्यान्मारले भोगेको त्यही हो । सूचीले जसको भर गरिन्, उनीहरु लोकतन्त्रवादी थिएनन् । मात्र मौकाको पर्खाइमा थिए । सूचीले प्रजातान्त्रिक मूल्य र मान्यता बिर्सेर आफ्नै नागरिकमाथिको ज्यादतीप्रति आँखा चिम्लिन । वर्षौं लगाएर बनाएको व्यक्तित्व सत्ताको स्वादमा गर्लम्म ढलाइन् र आफै कमजोर भएर प्रजातन्त्र नै अर्काको हातमा जाने वातावरण बनाइन् । लामो समय प्रजातन्त्रको लागि लडेको व्यक्ति कसरी निरकुंशताको मतियार बन्न सक्छ भन्ने उदाहरण बनेकी थिइन्,सूची । उनको क्रियाकलापले ढिलोचाँढो प्रजातन्त्र धरापमा पथ्र्यो नै । अहिले भएको त्यही हो । तर, म्यान्मारमा जे नहुनुपर्ने हो त्यही भएको छ । त्यहाँ भएको सैनिक ‘कु’ आलोच्य छ । यद्यपि, बर्मामा भएको यो घटना नेपालका सत्ताधारीको लागि भने पाठसरह नै भएको छ । लोकतन्त्रमाथि बुट बजार्दा त्यसले लोकतन्त्र त जान्छ नै सँगै आफू पनि गइन्छ भन्ने हेक्का राख्नैपर्ने भएको छ ।
