गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार सीमसार दिवसको शुभकामना दिए । उनले शुभकामना सन्देशमा भने, ‘अन्तष्ट्रिय महत्व भएका पोखरा उपत्यकाका ९ वटा ताललाई रामसार सूचीमा सूचीकृत गर्न सक्नु हामी प्रदेशवासीका लागि खुसीको खबर हो ।’ हो, मुख्यमन्त्री गुरुङले भनेजस्तै कास्कीका फेवा, रुपा, वेगनास, कमलपोखरी, खास्टे, गुँदी, न्यूरेनी, दिपांग र मैदीताल रामसार सूचिमा समेटिएका छन् । २०७२ सालको माघ महिनामा फेवातालको किनारामा आयोजित भव्य समारोहमा फेवासहित कास्कीका ८ वटा तालहरुलाई रामसार क्षेत्र घोषणा गएिको हो । यसअघि सरकारले २०७१ साल वैशाख १७ गते नै कास्कीका तालहरुलाई रामसार क्षेत्र घोषित गरिसकेको थियो । घोषणासँगै रामसार संरक्षणको जिम्मा स्थानीय तहले पाए । तर, रामसार संरक्षण त के कुरा ? घोषणा भएको यतिका वर्षसम्म तालहरुको सीमाब्कन पनि भएको छैन ।
पानीले ओगटेको ९ सय २४ हेक्टर र तालसँग जोडिएको सेती जलाधार क्षेत्रको २६ हजार १ सय १० हेक्टर क्षेत्र संरक्षणको जिम्मा लिएको स्थानीय तह बल्ल फेवातालको सीमाब्कनको काममा छ । फेवातालको चार किल्ला निर्धारण गर्न जिल्ला विकास समितिका पूर्वसभापति पुण्यप्रसाद पौडेलको अध्यक्षतामा बनेको समिति अहिले पनि काम गर्दैछ । यता, चारकिल्ला निर्धारण हुँदैछ, उता सीमसार क्षेत्र पुरेर बस्ती बसाल्ने काम पनि भइरहेको छ । सीमसार क्षेत्र भनेको पानीले ओगठेको जमिन मात्र हैन । वन्यजन्तुदेखि चराचुरुङ्गी र किराफट्याङ्ग्रासम्मलाई उपयुक्त हुने र आहार, विचरण र बासस्थानसम्मको सुविधा भएका जलक्षेत्र, दलदल र सेपिलो जमिन नै सीमसार भनिन्छ । फेवातालको चार किल्ला नै निर्धारण हुन नसकेको अवस्थामा वरपरका सीमसार अतिक्रमण हुनु अनौठो हैन । सीमसार संरक्षणको लागि पहिला तालहरुको सीमाब्कन हुनुपर्छ । त्यसपछि सीमसारको परिभाषा अनुसारको क्षेत्रको संरक्षण गरिनुपर्छ । लालपूर्जा सिरानीमा राखेर सुतेका नागरिकको जग्गा पनि परिभाषा अनुसार सीमसारमा नै पर्छ । नेपालको कुल भूभागमध्ये ५.६ प्रतिशत अर्थात ७ लाख ४३ हजार ५ सय ४३ हेक्टर जमिन सीमसार भएको तथ्याङ्क रहेको छ ।
जमिन नलुक्ने र पानी नसुक्ने क्षेत्रलाई सीमसार भनिन्छ । सीमसार क्षेत्र घुमन्ते चरा, उभयचर, किटपतङ्ग, माछालगायतका स्तनधारी जीवहरुको बासस्थान हो । त्यतिमात्र नभएर घुमन्ते हाँसहरुको बासस्थान पनि सीमसार क्षेत्र नै हो । सबै रामसार क्षेत्र सीमसार हुन् तर सबै सीमसारहरु रामसार क्षेत्र हैनन् । यो तथ्यलाई सरकार र सरोकारवाला निकायहरुले बुझ्नुपर्छ । सीमसार दिवस मनाइरहँदा ताल र सीमसारबीचको अन्तरसम्बन्ध र फरकबारे पनि बुझ्नुपर्छ । सीमसार सभ्यता हो भन्ने जति छिटो बुझिन्छ,त्यति नै यसको संरक्षण छिटो हुन्छ । नेपालले रामसार महासन्धि १९७१ र जैविक विविधिता महासन्धि, सन् १९८७ मा रामसार महासन्धिमा हस्ताक्षर गरेको पनि बिर्सन मिल्दैन । अझ नेपालले आफैले बनाएको सिमसार नीति २०५९ लाई कार्यान्वयन गर्ने जमर्को पनि गर्नैपर्छ ।
