प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेपाल कम्युष्निट पार्टी ( नेकपा) ले शुक्रबार राजधानीमा जनप्रदर्शन ग¥यो । देशभरबाट मान्छे बोलाएर गरिएको सो प्रदर्शनपछि प्रधानमन्त्री तथा सो समूहका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको नेकपा नै सक्कली भएको जिकिर गरे । सत्ता नै सडकमा ओर्लिएर विरोधको शैलीमा प्रदर्शन गरेको पञ्चायतको अवसानपछिको यो पहिलो परिदृष्य थियो । जनसभा भनिए पनि ओली नेतृत्वको सो प्रदर्शन मूलतः नेकपाकै अर्को समूहलाई धम्क्याउनको लागि थियो । नारायणहिटी दरबार अगाडि उभिएर प्रधानमन्त्री केपी शर्माले अर्को समूहको दोहोलो काढे । आफूले गरेका सबै कामहरु कानूनसम्मत भएको जिकिर गर्दै संसद पुनःस्थापना नहुने दोहो¥याए । चोरबाटोबाट गरिएको संवैधानिक निकायको नियुक्ती वैध भएको तर्क गरे ।
प्रधानमन्त्री केपी शर्माका कदमविरुद्ध प्रचण्ड–माधवले नेतृत्व गरेको नेकपादेखि सबैजसो राजनीतिक दलहरु सडकमा छन् । उनीहरुले संसद पुनःस्थापनाको माग गरिरहेका छन् र प्रधानमन्त्री ओली निरकंशु बन्दै गएको आरोप लगाएका छन् । जनताले प्रधानमन्त्री ओली नेतृत्वको नेकपालाई प्रचण्ड बहुमत दिए । स्यायित्व र विकासको आशामा जनमअभिमत नेकपातिर ढल्केको थियो । तर, नेकपाले त्यो जनमतको कदर गरेन । पार्टीभित्रको बिग्रहकै बीच प्रधानमन्त्री ओलीले संसद विघटन गरिदिए । संविधानमै नभएको प्रावधानमा टेकेर संसद विघटन गर्दा उनले संसद र जनताप्रतिको उत्तरदायित्व बिर्सिए । देशलाई पश्चगमनको यात्रा गराउने नायकको रुपमा आफूलाई पं्रतिष्थापित गराए । आफैले बनाएको संंविधानमाथि प्रहार गरिदिए । अहिले उनले संवैधानिक निकायहरुमा भकाभक आफ्ना मान्छे भर्ना गरेका छन् । देशैभर विभिन्न बहानामा आफ्ना कार्यकर्तालाई आयोगमा नियुक्त गरेर जागिर खुवाएका छन् । एकहिसाबले उनी राज्यसत्ता कब्जाको मानशिकतामा देखिएका छन् । आफू नभए कोही पनि हुँदैन भन्ने हुंकार गर्दै हिँडेका प्रधानमन्त्रीले जे–जस्तो तर्क दिए पनि उनका गतिविधिले लामो संघर्षपछि प्राप्त उपलब्धीहरु गुम्ने खतरा बढेको छ । देश अस्थिरतातर्फ धकेलिएको छ । सत्ता सडकमा आएर विरोधमा उत्रिएका दलहरुसँग सिंगौरी खेल्नु भनेको द्धन्द्ध निम्त्याउनु हो । हिजो पञ्चायतकालीन समयमा राजाहरु यसरी नै सडकमा आउँथे । पञ्चहरु राजा र पञ्चायतको पक्षमा नाराबाजी गर्न लगाउँथे । अहिले ओलीको शैली ठ्याक्कै त्यस्तै देखिएको छ । म नै राज्य हुँ भन्ने अहंकार पालेर उनी विरोधीहरुलाई सडकबाट पनि किनारा लगाउने काममा उद्यत भएका छन् । सत्ताको दुरुपयोग गर्दै उनले सर्वसत्तावादको अभ्यासको थालनी गरेका छन् । संवैधानिक अंगहरुलाई निकम्बा बनाउने प्रपञ्च रचेका छन् । निर्वाचनको घोषणा गरेर निर्वाचन आयोगकै हात बाँधिदिएका छन् । उनले जे गरेका छन्, सरासर गलत गरेका छन् । सत्ता र सडक दुबैको प्रयोग गर्दै लोकतन्त्रलाई बलीवेदीमा चढाउने प्रपञ्च रचेका छन् ।
