बैतडीको दोगडाकेदार नगरपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि निर्मम हत्या गरिएको पुष्टि भएको छ । भागरथीमाथि भएको यो घटनाका अपराधी पत्ता लागेको छैन तर यो बलात्कारको घटनाले नेपाली समाजको शीर निहुरिएको छ । घटनाले आङ नै सिरिङ्ग बनाउने कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रकरण सम्झाएको छ । निर्मलाको पनि यसरी नै बलात्कारपछि हत्या भएको थियो । निर्मलाको हत्यारा अझै पत्ता लाग्न सकेको छै । भागरथीमाथि भएको जघन्य अपराधले प्रहरी प्रशासनमाथि चुनौति र प्रश्नहरु खडा गरिदिएको छ । समाज किन यति हिंश्रक र क्रुर हुँदैछ र अपराधीहरु किन पक्राउ परेका छैनन् भन्ने प्रश्नसँगै समाज आक्रोसित र त्रसित भएको छ ।
बलात्कार आफैमा जघन्य अपराध हो । बलात्कारपछिको हत्या झन डरलाग्दो अवस्था हो । नेपालमा दिनहुँजसो बलात्कारका घटनाहरु सार्वजनिक भइरहेका छन् । बलात्कारीले आफन्त, नातागोता, बालबालिका केही नभनेको अवस्था छ । एकपछि अर्को अपराधको श्रृंखला चलिरहँदा र त्यसमा संलग्नहरु पक्राउ नपर्दा समाज त्रसित हुनु,महिला र किशोरीहरुले असुरक्षित महशुस गरिरहेका छन् । असुरक्षाको भावले राज्यविहीनता र जंगलीराजको सम्झना पनि गराइरहेको छ । यस्ता घटनाले मुलूक अपराधीहरुको अखडा बन्दै गएको पुष्टि गर्छ ।महिलाहरु श्रृष्टिका सुन्दर रचना हुन् । महिलाहरुलाई पूर्र्वीय दर्शनले सदैव सम्मानित र उँचो स्थान दिएको छ । त्यस्तो मर्यादा दिएका महिलाहरुमाथि दैनिक हुने बलात्कार अनि हत्याले नेपाली समाज नै कलंकित बनेको छ । यो कलंकको ठूलो धब्बा सरकार, सुरक्षा निकाय र आम नागरिकको अनुहार पोतिएको छ । निर्मला र भागरथीका हत्याराहरु कानूनको कठघरमा उभिँदैनन् तबसम्म यो धब्बा कायम नै रहन्छ । मानिसलाई कानून र नैतिकताले बाँधेको हुन्छ । मान्छे नैतिकवान हुँदा आधा अपराध आफै न्यूनीकरण हुन्छ । पछिल्लो समय नेपाली समाजमा नैतिकतामा ह्रास आइरहेको छ । धर्म, इमान र पाप भन्ने के हो भन्ने कुरा नै मान्छेले बिर्सिएको छ । यसले गर्दा अपराधमा बढोत्तरी भएको छ । अर्कोतर्फ अपराधीहरुले उन्मुक्ति पाउँदा अपराधीहरुको मनोवल बढेको छ । राज्य कमजोर हुँदा अपराधीहरु जन्मने क्रम ह्वात्तै बढेको छ । अत ः अहिलेको अवस्थामा एकातिर नागरिकलाई नैतिकवान बनाउन, उच्च संस्कारयुक्त नागरिक समाज निर्माण गर्न नैतिकताको पाठ पढाउनुपर्ने भएको छ भने अर्कोतर्फ कानूनका हातहरु कसिला र लामा पार्नैपर्ने भएको छ । कानूनका हातहरु अपराधीसम्म पुग्नै सक्ने बनाउनको लागि ती संरचनाहरुमा सुधार जरुरी देखिएको छ । अनुसन्धानमा अब्बल जनशक्ति भएन भने अपराधीहरुले उन्मुक्ति पाउने अवस्था आउँछ । अहिले नेपालमा भएको यही हो । बलात्कार र हत्याजस्ता गम्भीर प्रकृतिका घटनालाई अन्य गतिविधिजस्तै हल्का रुपमा लिने मानशिकताबाट राज्य मुक्त हुनुपर्छ । अपराधीप्रति राज्य कठोर बन्नैपर्छ ।
