गण्डकी प्रदेश सरकारले मंगलबार आफ्नो ३ वर्षे कार्यकाल पूरा गरेको छ । संघीयताको कार्यान्वयनसँगै जनतालाई नजिकको सिंहदरबारको अनुभूति गराउने वर्षहरु हुन्, यी ३ वर्ष । तेस्रो वार्षिकोत्सव मनाइरहँदा ‘ए अब त सत्तामा रहने २ वर्षमात्र बाँकी रहेछ भनेर सुर्ता मान्ने अवसर हैन यो । यो त ३ वर्षलाई सिंहावललोकन गर्दै बाँकी समय प्रदेश र जनताको हितमा खर्चने प्रण गर्ने दिन पनि हो । स्थानीय तह र केन्द्रीय तहमात्रै भए हुन्छ भन्ने मानशिकतालाई झापड हान्दै विकासमा पुलको काम गर्ने अवसरका वर्षहरु थिए, ३ वर्ष । त्यो अवसर कति उपयोग भए भन्नेमा मम भन्ने काम प्रदेश सरकारको मूल नेतृत्वको हो, अर्थात् मुख्यमन्त्रीको हो ।
प्रदेश सरकारले आफ्नो ३ वर्षे कार्यावधिमा जनताको हितमा निकै राम्रा काम गरेको जिकिर गरेको छ । जनतालाई तत्काल सेवा प्रवाह गर्न, समस्यालाई सक्दो छिटो सल्टाउन र आवधिक,मध्यकालीन र दीर्घकालीन रणनीति अनुसार प्रदेशलाई समृद्ध बनाउने दिशामा ठूलो काम भएको प्रदेश सरकारको जिकिर छ । यो जिकिर पूर्ण सत्य र पूर्ण असत्य हैन । हो, प्रदेश सरकारले देखिने गरी केही काम गरेको छ । यद्यपि, विकास निरन्तर प्रक्रिया पनि हो ।
जनताले चिप्ला र फराकिला सडक चाहेका छन्, नजिकै राम्रो अस्पताल, रोजगारी र शिक्षा पाउने थलोको कल्पना गरेका छन् । यी कुराहरु घोषणापत्रमार्फत् नेताहरुले पूरा गर्ने वाचा पनि गरेका थिए । जनअनुमोदित हुन उनीहरुको साथ र समर्थन चाहिन्छ । त्यसको लागि वाचा पूरा गरिनुपर्छ । यही उपक्रममा विनियोजित भएर बनेका टुक्रे कामहरुलाई काम नमान्ने हो भने, गण्डकी प्रदेश सरकारको काम औषत नै देखिएको छ । विकास बजेट खर्चमा देखिएको सुस्तता, प्रशासनिक खर्चमा भएको बढोत्तरी प्रदेश सरकारले सुधार्नुपर्ने मुख्य कुरा हो । टुक्रे योजनामा दिइएको ध्यान अनि रोजगारी,कृषि र पर्यटनको लागि भन्दै दिइएको अनुदानले समृद्धि आउँदैन भन्ने सद्बुद्धि नआउनु प्रदेशको अर्को दुर्भाग्य हो ।
हो, अनुदान दिनुपर्छ तर जथाभावी बाँडिएको अनुदानले के भएको छ भनेर पुनरावलोकन पनि यही बेला गरिनुपर्छ । समग्रमा प्रदेश सरकार देखिने र सुनिने बन्न चाहिरहेको छ । वार्षिक १५ हजार डलरभन्दा माथिको प्रतिव्यक्ति आम्दानीदेखि आयू नै बढाउनेसम्मका योजनामा प्रदेश सरकारको चाहना प्रतिविम्बित हुन्छ । तर, ती लक्ष्य पूरा गर्न के गरिएको छ भन्ने कुरा र आफ्नो सीमितता पनि प्रदेश सरकारले बुझ्नैपर्छ । कोभिड–१९ को महामारीको बेला प्रदेशले आफ्नो हैसियत देखेको छ । स्वास्थ्य र शिक्षाको अवस्था कस्तो छ भन्ने बुझेको छ । रेमिट्यान्स नआउँदा प्रदेशको कुल ग्राहस्थ उत्पादन के हुन्छ भन्ने पनि प्रदेश सरकारले मनन गर्नैपर्छ । यसो गर्दा बाँकी अझ सम्झनलायक बन्नेछ । ३ वर्ष पूरा गरेकोमा प्रदेश सरकारलाई हार्दिक शुभकामना !
