बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सडक मानव र स्वंसेवा

सडक मानव र स्वंसेवा


  • Dhorpatan News
  • फाल्गुन ७ २०७७, शुक्रबार

केही समय देखि नेपालका सडक पेटीमा अलपत्र पर्ने मानिसहरु थोरै मात्र देखिन थालिएको छ । कुनैबेला बागलुङ कालिका मन्दिरमा मात्रै ५० जना सम्म मानिसहरु माग्न बसेको भेटिन्थे । क्रमश घट्ने क्रममा अहिले मन्दिरको हाता भित्र शुन्य भैसकेको छ । बाहिरी क्षेत्र वा बजार क्षेत्रमा एकादुइ बाहेक सडक मानव कमै मात्रामा देखिन्छ ।
बिशेषगरी सडक मानव रहित अभियान चलाएर मानव सेवा आश्रमले देशब्यापी अभियान चाल्दा यो सफलता मिलेको देखिन्छ । राजधानी लगायत देशभर मेची महाकाली यात्रा मार्फत आश्रमले सयौं मानिसलाई उद्दार गरेर आश्रय दिएर राखेको छ । त्यस्तै कतिपयको परिवार भेटाएर पुर्नमिलन पनि गराएको छ । यो अभियानमा केही जुझारु युवाहरुले अगुवाई गरिरहेका छन् । यो अबस्था केहीबर्ष अघिदेखि मात्रै सुरु भएको हो । दानमुठी उठाएर गरिरहेका यस्ता अभियानले जुन मानव सभ्यता देखाएको छ त्यो अब राज्य वा तिन तहको सरकारको पनि आफ्नो काम बन्नुपर्छ । आफ्ना नागरिकहरु भोकभोकै सडकमा बस्नुपर्ने बाध्यता हटाउन थालिएका आश्रमलाई व्यवस्थित बनाउने र सडक मानवरहित नेपाल बनाउने कामले नेपालकै सभ्यता पनि झल्काउने हो ।
यो अभियान चलाएर हेटौडामा रहेको आश्रमको केन्द्रीय कार्यालयले केही जिल्लाहरुमा आश्रमको आफ्नै भवन निर्माण गर्ने अभियान पनि चलाएको छ । गण्डकी प्रदेशकै लमजुङ, गोरखा र कास्कीमा यो अभियानको काम थालनी भैसकेको छ । तर बागलुङमा जग्गा नपाएर काम अलपत्र छ । चार बर्षदेखिको अभियानलाई मुर्त रुप दिनकालागि आश्रमको आफ्नै भवन बन्नुपर्ने आबस्यकता छ । तर अहिले सम्म सरोकारवाला निकायले चासो राखेको छैन । आश्रममा स्वंसेवी काम गरिरहेका युवाले जग्गाको खोजीमा महिनौ समय लगानी गरेका छन् । तर बागलुङ नगरपालिकाले पनि चासो नराखेको गुनासो समेत आइरहेको छ । कतिपय स्थानलाई दिन नचाहने, कतिपय स्थान बालबालिका, अपांग, महिला र बृद्दहरु राख्नुपर्दा उपयोगी नहुने अबस्था छ । नगरपालिकाले बिकल्प खोज्ने काममा साथ दिनुपर्नेमा नदिएको हो । अहिले बसिरहेको घर अस्थायी हो । एक गैरसरकारी संस्थाको जग्गा भोगाधिकारको रुपमा संचालनमा छ । तर त्यसकालागि पनि जिल्लामा आउने प्रशासकहरुको तजबिजीमा मात्रै भवन वा जग्गा पाउने गरिएकोले सामाजिक हितका संस्थाहरुको बेथिती भैरहेको छ । संचालन भैरहेको आश्रमलाई संचालन गर्न नसकेर असहायलाइ्र्र छाडिदिनेहो भने फेरी बागलुङ मात्रै हैन नेपाल सडक मानवहरुको देश बन्नेछ । त्यतिमात्र हैन खानलाउन नपाएर चिसो छिडिमा बस्नेहरुको कारणले हुने दुर्घटनाले फेरी देशकै नाममा कालो दाग लाग्ने खतरा छ ।
त्यसैले राम्रो, मानवीय र सामाजिक सेवामा स्वयंसेवी भावनाबाट लागेका युवाको प्रेरणा बढाउन र असहायलाई संरक्षकत्व दिनुपर्ने राज्यको दायित्वलाई नेपालका तीन तहकै सरकारले ध्यान दिनुपर्छ । राज्यले गरेको काम गरिरहेका स्वयंसेवीलाई सामान्य प्रोत्साहन मात्रै गरिदिंदा राज्यको खर्च बिनै सयौं बेसाहाराले सहारा पाउनेछन् । उनीहरुले अभिभावक पाउनेछन् र सम्य राज्य निर्माणमा पनि सहयोग पुग्नेछ । यो अभियानमा लाग्नेलाई सम्मान गरेर राज्यको गरिमा बढाउने अबसर पनि सरकारले चुकाउनु हुँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->