बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बोल तर बेलगाम नहोऊ

बोल तर बेलगाम नहोऊ


  • Dhorpatan News
  • फाल्गुन ११ २०७७, मंगलबार

केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कांग्रेसको तर्फबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने गुलाम नबी आजादसहितका ४ जना सभासदको विदाईमा असाध्यै भावुक देखिए । उनले गुलाम नबी आजादसँग बिताएका क्षणहरुको सम्झना गरे । उनले भने,‘गुलामजी आफ्नो पार्टीको जति चिन्ता गर्थे त्यति नै देश र सदनको पनि चिन्ता गर्थे ।’ प्रधानमन्त्री मोदीले बोल्दाबोल्दै आँसु खसाले । मोदी चुनावी भाषणमा पक्कै पनि विपक्षीप्रति आक्रामक थिए र हुन्छन् । तर, उनले जुन अभिव्यक्ति र भावकुता प्रदर्शन गरे, त्यसबाट वाहवाही बटुले । राजनेतामा हुने संस्कार प्रदर्शन गरे ।
नेपाल धेरै कुरा छिमेकी भारतबाट प्रभावित छ । नेताहरुमा पनि कहिलेकाहिँ त्यहाँ नेताजस्तै हुने हुटहुटी देखिन्छ । यद्यपि, नेपालका राजनेतामा त्यस्तो संवेदनशीलता विरलै देखिन्छ । बेलगाम बोली, असहिष्णुता र कतिपय अवस्थामा उदण्डता नेपाली राजनेताहरुको स्वभाव हो । राजनीतिमा भर्खरै हाम्फालेकादेखि दशकौं बिताएका नेताहरुमा पनि यो दोषबाट मुक्त छैनन् । उनीहरु सोच–विचारबिना प्याच्च बोलिदिन्छन् अनि त्यसलाई सच्याउन अभिषप्त हुन्छन् । पछिल्लो समयमा देशका प्रधानमन्त्री केपी शर्मा ओलीमा यो पन बढी देखिएको छ । आफ्नो पार्टी फुटेपछि उनी विपक्षीहरुप्रति बढी नै आक्रामक देखिएका छन् । हिजो सँगै हिँडेकाहरुको मानमर्दन र खिसीट्यूरी गर्नु उनको दिनचर्या बनेको छ । उखानटुक्काको भरमार प्रयोग गर्दै उनले भाषालाई मीठो त बनाएका छन् तर उनले स्वस्थ आलोचनाको परम्परा बिर्सिएका छन् । उपराष्ट्रपति नन्दकिशोर पुनको अभिव्यक्तिलाई लिएर उनले प्रजातन्त्र दिवसकै दिन छुद्रता प्रदर्शन गरिदिए । सदन विघटनलाई लिएर उपराष्ट्रपतिले दिएको अभिव्यक्तिप्रतिको असहमति उनले सार्वजनिक मञ्चमै पोखे । उपराष्ट्रपति सम्मानित पद हो र मनमा जे भए पनि त्यो पदको सम्मान गर्नु कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी हो भन्ने सायद उनले बिर्सिए ।
प्रधानमन्त्री ओलीको तत्काल प्रतिक्रिया जनाउने बानी यत्तिमा मात्रै सीमित छैन । उनले विराटनगरमा भएको आमसभामा संसद पुनःस्थापना नभए आन्दोनल गर्ने धम्की दिए । सत्तामा भएको राजनीतिक दल विरोधको शैलीमा सडकमा उत्रिनु आफैमा सुहाउने विषय हैन । यद्यपि, पार्टी फुटसँगै प्रधानमन्त्री तँभन्दा म के कम भन्ने शैलीमा प्रचण्ड–माधव नेपालजस्तै देश दौडाहामा निस्केका छन् । शक्ति प्रदर्शन गरेका छन् । मान्छे यति छन् हेर भन्न भ्याएका छन् । सत्तामा बस्नेले काम प्रदर्शन गर्ने हो । सिंहदरबार जान बिर्सेका प्रधानमन्त्री यतिबेला आफ्नै अभिव्यक्तिलाई सच्याउने बाध्यतामा पुगेका छन् । उनले संसद पुनःस्थापना भए सांसद किनबेच हुन्छ भनेको तर आन्दोलनमा जाने नभनेको स्पष्टिकरण दिनु परेको छ ।
प्रधानमन्त्रीले विराटनगरमा दिएको अभिव्यक्तिको अहिले पनि रेकर्ड छ । आफैले बिगारेको कुरालाई रुफु भर्नुपर्ने बाध्यता आउनु प्रधानमन्त्रीको रुपमा सुहाउने विषय हैन । राजनीतिमा प्रतिष्पर्धा हुन्छ तर अर्काको मानमर्दन शोभनीय हुँदैन । सत्तामा बस्नेहरुले सडकमा बस्नेहरुको भन्दा ठूलो गर्जन गर्नु हुँदैन । यो राजनीतिक संस्कार हैन । प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिहरुले त्यो लक्ष्मणरेखा पार गरेको आम जनताले अनुभूति गरेका छन् । प्रधानमन्त्रीले यतिबेला आफूमा उच्च राजनीतिक संस्कार भएको प्रमाणित गर्नुपर्छ । लामो समय जेलनेल सहेको र लोकतन्त्रको लागि अनवरत संघर्ष गरेको जिकिर गरिरहँदा लोकतन्त्रमा आधारभूत मूल्य–मान्यता बिर्सनु हुँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->