धौलागिरी बहुमुखी क्याम्पस तत्कालिन धौलागिरी अञ्चलकै एकमात्र आंगिक क्यामपस हो । त्रिभूवन विश्व बिद्यालयको आंगिक भएपनि अहिले सम्म क्याम्पस भने धेरै संकटमा गुज्रेको छ । विशेषगरी क्याम्पसले दक्ष जनशक्तीको अभाव झेलेको हो । स्थापना कालका बिषयहरु हटिसकेका छन् । पढाइ हुन छाडेका छन् । तर नयाँ आवस्यकताको लागि सबै आंशिक शिक्षकको भर पर्नु परेको छ ।
सरकारी क्याम्पस भएर पनि अहिले सम्म आंशिक शिक्षकबढी भएकोले क्याम्पसले पाउनुपर्ने कतिपय मान्यताहरु पाउन सकेको छैन । त्यसको दोष विश्वविद्यालयमै छ । तर विश्वबिद्यालयले दिने अनुदान र कार्यक्रमपनि आफ्नै कारणले नपाएको दरबन्दी देखाएर रोक्ने काम भएको छ । क्याम्पसले स्वायत्ततामा जाने तयारी गरेको छ । स्वमूल्यांक समिति पनि बनाइएको छ । तर क्यामपसमा स्थायी दरबन्दी ३६ र आंशिक ३८ जना छन् ।
क्याम्पसको बिज्ञान र व्यवस्थापन संकाय शुन्य दरबन्दीमा चलेको छ । तर त्यही संकायले क्यामपसको नाम राखेको छ । अनौठो संयोजक मान्नुपर्छ शुन्य दरबन्दीले चलाइएको बिबिएमा नेपाल प्रथम र बिज्ञान संकायमा पनि उत्कृष्ठ बन्ने अबसर धौलागरी बहुमुखी क्याम्पसले पाएको छ । अर्को रोचक कुरा के छ भने क्यामपसमा दरबन्दीमा बसेका अधिकांस प्राध्यापकको बिषयनै खारेजी भैसकेको छ । उनीहरु हाजिरीकालागि मात्रै क्याम्पस धाउँछन् । आंशिकहरुले दैनिक ७ पिरियड सम्म पढाउँछन् । उनीहरुले न तथ तलब पाउँछन्, न त भत्तानै । बरु आएको दिन पढाएको ज्याला बुझ्छन्, बिरामी पर्दा पैसा पाउँदैनन् । एक आंशिक शिक्षकले सबै मिलेर एकैदिन बिरामी हुने कुरा चलाउँदा क्यामपस प्रमुख सहितका व्यवस्थापकीय समूह झस्कन्छ । अप्ठ्यारो परेको मौका छोपेर उनीहरुले बिरामीको बाहना बनाएकै खण्डमा पनि क्याम्पसमा सोझै तालाबन्दी हुने खतरा छ । बिद्यार्थीले पढ्न पाउने अबसथा छैन । तरपनि अझै वास्तविक समस्याप्रति चिन्ता लिने काम भएको छैन । प्रयास गर्दैछौं भन्ने उत्तर पाउन थालेको दशक पुग्न लाग्यो । तर त्यो बाहनाको उत्तर मात्रै हो भन्ने कुरा अब हरेकले बुझीसकेका छन् । विश्वविद्यालयका पदाधिकारीले पनि क्याम्पसको समस्या वा शैक्षिक समस्या सम्बोधन गर्नुको साटो नेताको चाकरी गरेर जागिर बचाउने काम गर्छन् भन्ने कुरा यही एउटा उदाहरणले प्रष्ट पार्छ । किनकी हरेक पटकका समस्या र जिज्ञाशामा उनीहरु मौन बस्ने, कुरा टार्ने वा वास्तविक समस्यामा प्रवेशै नगर्ने प्रवृत्ती हावी छ । कसको भागबण्डामा को पर्ने भन्ने कुरा मात्रै उनीहरुको बिषय बन्ने गरेबाट शैक्षिक समस्या सम्बोधनमा ध्यान छैन भन्ने बुझीन्छ ।
क्याम्पस स्थानीय सरकारको पनि सम्पत्ति हो । तर अहिले सम्म न जिल्लातहले न त स्थानीय तहले क्याम्पसको समस्या समाधानमा साथ दिएको छ । बरु स्वार्थ पुरा गर्नकालागि मात्रै क्याम्पस प्रयोग गरिन्छ । बागलुङको शैक्षिक गन्तव्य हो भनेर चिनाउन सकिन्छ भने बागलुङ नगरपालिका सहितका पालिकाले यहाँ लगानी गर्नपनि सक्नुपर्छ । क्याम्पस बाँच्दा बागलुङको बजारको व्यपार बढ्छ । घरधनीले भाडा लगाउन पाउँछन् । शिक्षकको जागिर पनि धानिएला । बसाई सराइ पनि रोकिएला । तर यस्ता बिषयमा अझैपनि किन ध्यान पुग्न सकेको छैन ? अझैपनि समयमा सोचेर क्यामपसको गुणस्तर सुधार, शैक्षिक उन्नती र भौतिक पूर्वाधारको उपयोगमा ध्यान दिन सकिएन भने भोली पछुताउनु बाहेक बिकल्प रहनेछैन ।



