
पोखरा, १२ फागुन– बालुवाटारमा ७० वर्ष पुगेको उपलक्ष्यमा केक काटेर जन्मदिन मनाउँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतको फैसलाले ‘सरप्राइज गिफ्ट’ दिएको छ । कुनै समय नेपाली जनताको नजरमा राजनेताको रुपमा स्थापित हुन लागेका ओली असंवैधानिक कदमका कारण इतिहासकै खराब प्रधानमन्त्रीमा दर्ज हुन पुगेका छन् ।
सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको राजनिति सकिएको प्रचण्ड, नेपाल पक्षधरले बताएका छन । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भंग गरेका थिए । संसद् विघटन भएको ३ महिना पछि सर्वोच्चले निर्णय बदर गरेको हो । नेपाल कम्युनिष्ट भित्रैबाट आफुलाई काम गर्न नदिएको भन्दै ओलीले विघटन गरेका थिए । सर्वोच्चले संविधान विपरीत रहेको भन्दै संसद् विघटन बदर गरेको हो । सर्वोच्चले गरेको निर्णय जनताको पक्षमा रहेको भन्दै पोखरामा प्रचण्ड माधव पक्षधरले संसद् पुनर्वहालीको खुसीयालीमा दिप प्रज्वलन समेत गरेका छन् ।
पोखराको पृथ्वीचोकमा दीप्रज्वलन गर्दै प्रचण्ड माधव पक्षधरले ओलीको राजनितिको अन्त्य भएको बताएका छन् । नेकपाका केन्द्रीय सदस्य श्रीनाथ बरालले अदालतले संविधान जोगाएको टिप्पणी गरे । राष्ट्रिय युवा संघ कास्कीका नेता बलराम तिमिल्सिनाले ओलिराजको अन्त्य भएको बताए । ओलीले जनतालई रैती र आफू शासक भन्ने सोचिरहँदा अदालतले विवेकपूर्ण निर्णय लिँदै शासकको अन्त्य गरेको उनले बताए । ‘हामीलाई लोकतन्त्रमाथि हमला गर्ने शक्ति छैन भन्ने लाग्दा केपी ओली लोकतन्त्रको ह्याङ ओभरको रुपमा देखिनपुगे । संविधान च्यात्नज खोज्ने ओली आफै च्यातिए’, अदालतको निर्णयमान्दै कुनै हर्कत नगरी संसद् बोलाउन चेतावनी दिए । ‘केपी ओली अब कुम्लो बाँधेर झापा तिर गए हुन्छ’, उनले भने ।





