पोखरा, १२ फागुन–
एकता अपरिहार्य छ : आशा कोइराला
नेपाली जनताको जित भएको छ । सत्य र न्याय कहिल्यै हार्दैन । फेरि एकपटक कानुनी राज्यको अनुभूति गर्न पाइएको छ ।
हामीले एउटै कम्युनिष्ट केन्द्र बनाउने उदेश्यले एकता गरेका थियौँ । कम्युनिष्टहरु एकीकृत हुनुपर्छ । एकतामा तागत हुन्छ । तर, कम्युनिष्टको सिद्धान्त, नीति र आचारणबाट च्यूत भएका व्यक्तिगत स्वार्थमा प्रेरित भएकाहरु पार्टीमा बस्न सक्दैन् । कम्युनिष्टबीचमा एकता अपरिहार्य छ, हुनुपर्छ ।
जनपक्षीय निर्णय : नेता बराल (प्रचण्ड–माधव समूह )
प्रधानमन्त्रीले दुई तिहाइको मातमा संविधानलाई कुल्चेर गरेको संसद् विघटन बदर हुनु जनताको पक्षमा छ । यो असंवैधानिक र प्रतिगामीहरुको विरुद्धमा भएको लडाईँ हो आखिर सत्यको जित भयो । अदालतले गलत मार्गमा गएको संविधानलाई सही मार्गमा ल्याउँदै सही निर्णय गरेको छ शक्तिको अगाडी न्यायपालिकाको भूमिका कति महत्वपूर्ण हुँदोरहेछ भन्ने देखाएको छ । अब वैधानिक र आधिकारिक नेकपा पनि हामी नै भएको प्रष्ट हुँदै गएको छ ।
न्यायको दीप निभेन : विन्दुकुमार थापा ( नेपाली कांग्रेस नेता/ सभासद )
प्रधानमन्त्री केपी ओलीको संविधानले परिकल्पना नै नगरेको विषयमा प्रवेश गरी संविधान च्यात्ने दृष्टतालाईे बदर गरेर सर्वोच्च अदालतले न्यायको दीप ननिभेको सन्देश दिएको छ । नेपाली कांग्रेसले सुरुदेखि नै प्रधानमन्त्रीको कदमलाई अवैधानिक भन्दै आएबको थियो । हामीले सडकबाटै प्रधानमन्त्रीको कदमको विरोध गरेका थियौँ । संविधान अनुसार आएको फैसलाको अब प्रधानमन्त्रीले सम्मान गर्नुपर्छ । उहाँले नैतिकता गुमाउनु भएको प्रष्ट छ । नैतिकताको आधारमा राजीनामा दिनुपर्छ ।
अब संसदीय राजनीति गर्छौँ : मायानाथ अधिकारी (नेकपा ओली पक्षीय नेता/सभासद)
हाम्रो कदम राजनीतिक कदम हुन्छ । सर्वोच्चको कदम मान्छौँ । रामकुमारी झाँक्रीजस्तो हामी सर्वोच्चलाई धम्क्याउँदैनौँ । संसदीय राजनीति गर्छौँ । संसदीय समितिलाई बलियो बनाउँछौँ । नयाँ परिस्थिति भर्खर थाहा भयो । फागुन १५ गते प्रधानमन्त्री पोखरा आउने कार्यक्रम क्यान्सिल भएको छैन । प्रधानमन्त्रीको टाइमको कुरा के हुन्छ थाहा छैन ।





