बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

डढेलोप्रति गम्भीर बन

डढेलोप्रति गम्भीर बन


  • Dhorpatan News
  • फाल्गुन १३ २०७७, बिहिबार

गएको मंसिरदेखि फागुनसम्म मनाङमा ३ पटकसम्म आगलागी भयो । मनाङको चामे गाउँपालिकाको थानचोक, नाँसो गाउँपालिकाको ६,७ र ९ नम्बर वडाको जंगल र ङिस्याङको घ्यारु क्षेत्रमा भएको आगलागीबाट करिब २८ सय हेक्टर वन सखाप भयो । आगो निभाउन जिल्ला वन कार्यालय मनाङको नेतृत्वमा सबै सुरक्षा अंगहरु परिचालन गरियो । आगो नियन्त्रणमा खटिएको टोलीले वनको डढेलोबाट बस्ती जोगाउन लक्ष्मणरेखा बनायो । अहिले आगो नियन्त्रण भएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको डिभिजन वन कार्यालय मनाङका प्रमुख विष्णुप्रसाद अधिकारीको भनाई छ ।
गएको माघको सुरुमै अर्को हिमाली जिल्ला मुस्ताङको जङ्गलमा पनि आगलागी भयो । मुक्तिनाथ मन्दिरभन्दा माथि थोराङपास गर्ने निर्जन पहाडमा भएको आगो नियन्त्रणमा आउन पनि समय लाग्यो । मंगलबारकै कुरा गर्ने हो भने बागलुङको गलकोट क्षेत्रमा पर्ने ३ वटा सामुदायिक वनमा लागेको आगो १८ घण्टापछि नियन्त्रणमा आएको छ । यी आगलागीले हिमाली क्षेत्रका महत्वपूर्ण जडिबुटी, बुट्यान र रुखहरु नष्ट भएका छन् । वन्यजन्तुहरु मरेको अनुमान गरिएको छ । हिमाली भेगमा पानी कम पर्छ । हिउँदमा पनि यो वर्ष मुस्ताङ र मनाङमा खासै हिउँ परेन । हिउँ नपरेको बेला वनमा आगो फैलियो । आगो मानवीय कारणले नै फैलिएकोमा कुनै द्धिविधा छैन । भला, कतैकतै चट्याङ्ग वा दुई रुखको घर्षणबाट आगो निस्केर पनि डढेलो फैलिएका दृष्टान्त पाइन्छन् । चोरी सिका गर्नेहरुले, राम्रो घाँस उम्रन्छ भन्ने परम्परागत मान्यताले र आगोलागी भएको ठाउँमा उम्रने मीठो च्याउको लोभले सो क्षेत्रमा वनमा आगो लगाइन्छ । वनमा आगो लगाउनु भनेको जैविक विविधता विनाश गर्नु हो भन्ने चेत स्थानीयमा नहुँदा यस्ता गतिविधिहरु हरेक वर्ष दोहोरिन्छन् । करोडौंको क्षतिको मूल्याङ्कन नै गर्न सकिँदैन । बाढी र पहिरोबाट हुने क्षतिभन्दा आगलागीबाट हुने क्षति ठूलो हुने विज्ञहरुको भनाई छ । त्यसले वातावरण विनास र जलवायू परिवर्तनमा कस्तो असर पार्छ भन्ने सामान्य गाउँलेले बुझ्नै कुरै भएन । आगलागीले आफ्नै बस्ती सिध्याउँछ भन्ने चेत पनि उनीहरुमा हुँदैन ।
खडेरी याम सुरु हुन लागेको छ । गर्मी महिना सुरु भएसँगै देशका अधिकांश वनहरु डढेलोको चपेटामा पर्ने अघिल्ला वर्षहरुका दृष्टान्तहरुले बताएका छन् । तर, हरेक वर्ष विपत् बनेर आउने डढेलो नियन्त्रणको लागि गरिएका प्रयासहरु भने सार्थक छैनन् । सरकारले विपद् जोखिम न्यूनिकरणको लागि राष्ट्रिय रणनीतिक कार्ययोजना २०१८–२०३० बनाएको पनि छ । आगलागीको हुने वन क्षेत्रको पहिचान गर्ने र कारण खोज्ने र निराकरणको पहल गर्ने सो योजनामा उल्लेख गरिएको छ । यद्यपि, यी विषयहरु कागजमा सीमित छन् । सबैभन्दा बढी क्षति गराउने डढेलोप्रति सरकारी तहबाट देखाइएको उदासिनताले हरेक वर्ष क्षति बढ्दै गएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->