पोखरा, १४ फागुन– जागिरे र आरोहीमा के फरक छ ? प्रसिद्धी र प्राप्तिबीचको फरक के हो ? यक्षले युधिष्ठिरलाई सोधेका प्रश्नहरु होइनन् यी । नापी कार्यालय पोखरामा हाकिम सा’बको दर्जामा रहेका खिमलाल गौतमलाई यिनै प्रश्न सोध्दा उनी युधिष्ठिरजस्तै विश्वासिला देखिए । अंग्रेजी साहित्य पढेका उनले आध्यात्मिक शैलीमै भनिदिए–
कर्मण्येवाधिकारास्ते,मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा,ते संगोस्त्वकर्मणि ।
हो, उनले कर्म नै गरेका हुन् । नेपाल सरकारको उपसचिवको रुपमा उनलाई देशले काम गर्न खटाएको थियो । उनी आफैले नखोजे पनि कर्मको फल सिंगो देश र विश्वले खोजेको थियो । काम थियो, सगरमाथाको उचाई नाप्नु । संसारकै अग्लो शिखरको उचाई नाप्नु चानचुने काम थिएन । खिमलालसहितको टोलीले आफ्नो जिम्माको काम फत्ते ग¥यो । सगरमाथको उचाई ८८४८.८६ मिटर कायम भयो ।
आरोहण आफैमा दुरुह हुन्छ । भला, खिमलालको त्यो दोस्रो आरोहण थियो । अझ, शिखरमा २ घण्टा बिताउनु चानचुने कुरै थिएन । खिमलाल र नापी अधिकृत रविन कार्कीले ४ जना शेर्पाहरुको सहयोगमा त्यही २ घण्टामा सगरमाथासँगै नेपालकै उचाई बढाउने काम गरे । २०७५ साल जेठ ८ गतेको त्यो आरोहणसँगै खिमलालले खुट्टाको बुढीऔंला गुमाए । आरोहणकै क्रममा उनले पुत्रशोकको सामना गरे । सहकर्मी रविनको अक्सिजन सकिँदा झण्डै ज्यान गएन । तर, उनीहरु खुसी नै भए । काम सकियो, फेरि जागिरे जीवनमै रमाउँदै रहे । हाकिमको रुपमा खिमलालले भर्खरै प्रसिद्ध फेवातालको नापी सकेका छन् । उनको कामलाई देशले मान्यता दिएको छ । नापी कार्यालयको सानो कोठामा रहेका उनै खिमलाल आफ्नो कर्मले चाहिँ फेरि एकपटक चर्चा कमाएको छ । भारतको एक प्रतिष्ठित संस्थाले उनलाई स्न २०२१ का लागि विश्वका ५० जना प्रभावशाली राइजिङ स्टारमा सूचिकृत गरेको छ । भू–अवस्थितिको माध्यमबाट विश्वको अर्थतन्त्र र समाजलाई योगदान दिने उद्देश्यले स्थापित जिओस्पासल मिडिया एण्ड कम्युुनिकेसन्स नामक संस्थाको सूचिमा अटाउने उनी पहिलो नेपाली हुन् । संयोग कस्तो भने,सबैभन्दा अग्लो चुचुरो चुम्ने र उचाई नाप्ने खिमलाल त्यो सूचिको २५ औं नम्बरमा परेका छन् । जिओस्पासलले भनेको छ,‘यी युवाहरु जसको दिमागले भू–अवस्थितिलाई डिजिटल वातावरणमार्फत् पुनःपरिभाषित गराउने छ ।’ जिओस्पासलले भू–अवस्थितिले अर्थतन्त्र र समाजमा पार्ने प्रभावबारे जानकार एवं योगदान दिएकाहरुलाई छानिएको पनि प्रष्ट पारेको छ । जिओस्पासलको सम्पादकीय बोर्डले संसारका २५० भन्दा बढी व्यक्तिबाट ५० जनाको अन्तिम नामावली बनाएको हो । ५० जनाको सूचिमा नासामा काम गर्नै वैज्ञानिकदेखि कोभिड–१९ को महामारीको बेला बेलायतमा ड्रोनबाट ओखती सप्लाई गर्ने व्यक्तिसम्म समेटिएका छन् । जिओस्पासलले सगरमाथाको उचाई मापन गर्ने व्यक्तिको रुपमा मात्र नभएर उचाई मापनले भू–व्यवस्थापनमा सघाएकाले खिमलालाई सूचिमा राखिएको जनाएको छ ।
सन् २००५ मा भारतको नयाँदिल्लीबाट ४ पृष्ठको पत्रिका प्रकाशनबाट जियोस्पासलको यात्रा सुरु भएको हो । मिडिया र कम्युनिकेसनको क्षेत्रमा काम गर्ने यो संस्थाले संयुक्त राष्ट्रसंघको स्टाटिक्स डिभिजन,फाउण्डेसन अफ इकोलोजिकल सेक्युरिटीलगायतका संस्थासँग सहकार्य गर्दै आइरहेको छ । यसका अध्यक्ष डाक्टर एमपी नारायण रहेका छन् ।
जिओस्पासलको सूचिमा परेसँगै गौतमले खुसी व्यक्त त गरे तर गर्न बाँकी धेरै काम रहेको पनि सुनाए । ‘सगरमाथाको मापन मेरो नेतृत्वमो टिमले गरेको हो, आज जिओस्पासलमा सूचिकृत हुँदा यसको जस सबैलाई जान्छ’, उनले भने,‘ म जीवनमा निष्काम कर्ममा विश्वास गर्छु तर कर्मचारी भएकाले सगरमाथाको उचाई मापन गरेर प्रमाणित गर्नुपर्ने दायित्ववोधले थिचिएर उक्लँदा र फर्किँदाको दुःख यसले बिर्साइदिएको छ ।’





