शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

रवीन्द्रकी बहिनी भन्छिन् : दाजु अझै हुनुहुन्छ जस्तो लाग्छ

रवीन्द्रकी बहिनी भन्छिन् : दाजु अझै हुनुहुन्छ जस्तो लाग्छ


  • विकाश रोका मगर
  • फाल्गुन १६ २०७७, आइतबार

पोखरा, १६ फागुन- शालिकलाई घेरेर लश्करै मैनबत्ती बालिएको छ । आकासै अँध्यारो हुने गरी कालो बादल मडारिएको छ । केहीबेरमा पानी पर्छ । पानी पर्दा एकएक गर्दै मनबत्तीबाट बत्ती निभ्न थाल्छन् ।
उनी आफू उभिएको ठाउँबाट हठात् शालिकनेर पुग्छिन् । निभेका मैनबत्तीहरुलाई एकपछि अर्को गर्दै बालिरहन्छिन् । उनको भावबाट प्रष्ट हुन्थ्यो – उनी चाहँदिनन् कि श्रद्धाले बालेका उज्यालाहरु ननिभून कसैगरी !
झरीको थोपाले बत्तीहरु निँभ्दै जान्थे, बेलाबेला आँखाबाट झरेका आँसु पुछ्दै उनी बाल्दै जान्थिन् । क्रम दोहोरिरह्यो । झरी थामिएन ।
शालिक थियो दिवंगत पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारी । र, झरीको थोपाबाट उज्यालाहरु बचाउने ‘दुष्प्रयास’ गरिरहेकी उनी थिइन्, स्व अधिकारीकी बहिनी विमला अधिकारी ।
शनिबार रवीन्द्र स्मृति प्रतिष्ठानले स्व अधिकारीको शालिकमा माल्यार्पण तथा दीप प्रज्वलन कार्यक्रम गरेको थियो । त्यही कार्यक्रममा दाजुको शालिकलाई दीप प्रज्वलन गर्न आइपुगेकी थिइन्, उनी ।
०००
ठिक दुई वर्ष आजकै दिन (०७५ फागुन १५) मा ताप्लेजुङमा भएको हेली दुर्घटनामा नेपाली राजनीतिले एक अमूल्य व्यक्तित्व गुमायो । बहालवाला मन्त्री रहेकै बखत नेपालीले पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई गुमाए ।
परिवारबाट दाजु रवीन्द्रलाई गुमाएको ठिक दुई वर्ष बितिसकेको छ । तर, पनि बहिनी विमला अधिकारीलाई अझै दाजु यतैकतै छन् जस्तो लाग्छ । उनीबिनाका चाडपर्वहरु खल्लो भएका छन् । बाल्यकालदेखिका हजार स्मृतिहरुमा उनी दाजुलाई नै पाउँछिन् ।
स्व रवीन्द्र एक्ली बहिनी हुन् विमला । त्यसैले पनि अरुभन्दा बेसी दाजुको याद आउँछ उनलाई । ‘दाइको एउटामात्रै सम्झना भन्ने मलाई छैन । अझै पनि पलपल याद आउँछ । उहाँले मलाई अत्यन्तै माया गर्नुहुन्थ्यो,’ दाइ हवाइ दुर्घटनामा पर्नु अघिको समय सम्झिन्छिन्, ‘सायद यस्तै केही भन्ने पैल्यै थाहा भएरै होला, हाम्लाई जहिले पनि अप्ठेरा स्थितिमा मोटिभेट गरिराख्नुहुन्थ्यो ।’
दाजु रवीन्द्र हरेक कुरामा अत्यन्तै सकारात्मक रुपमा प्रस्तुत हुने भएकाले पनि आफूलाई झनै यादले सताउने विमला सुनाउँछिन् । ‘उहाँ आफ्नोबारेमात्रै होइन, हरेक मान्छेप्रति असाध्यै पोजेटिभ हुनुहुन्थ्यो । त्यही कुरा साह्रै याद आउँछ । ऐले २ वर्ष वित्यो । मलाई अहिले पनि यस्तो लाग्दैन कि उहाँ हुनुहुन्न ।’
दाजु नभएको अविश्वास भएकै कारण विमला जतिजतिबेला आफूलाई एकदम एक्लो र कमजोर पाउँछिन्, उनी सबैभन्दा पहिले दाजुलाई नै सम्झिन पुग्छिन् । ‘जतिबेला आफूलाई एकदम लो फिल गर्छु । डिमोटिभेट हुन्छु । यस्तो कहिलेकाहीं हुन्छ । जस्तो आज म एकदमै लो फिल गरिरहेकी छु,’ मधुर श्वरमा सुनिन्छिन्, ‘यस्तोबेला म उहाँको ब्रेभरी थ्यो नि ! त्यो सम्झन्छु । त्यसले मलाई अटोमेटिक मोटिभेट गर्छ ।’
दाजु रवीन्द्र अत्यन्तै साधारण जीवनशैली बिताउने स्वभावको भएको विमलाको चित्रण छ । ‘उहाँ साह्रै सामान्य खालको जीवनशैली बिताउनुहुन्थ्यो । विशेषगरी खानेकुरामा साधारण तरिकाको रोज्नुहुन्थ्यो । खानेकुरामा खर्च गर्नुहुँदैन भन्नुहुन्थ्यो,’ उनले भनिन्, ‘हाम्लाईसमेत त्यही कुरामा बढी जोड गर्न भन्न हुन्थ्यो ।’
दुर्घटना हुनुको त्यो अन्तिम भेट !
दुर्घटना हुनु ३ दिन अघिमात्रै रवीन्द्र अधिकारीको कान्छा छोरा स्वराज अधिकारीको जन्मदिन थियो । जन्म दिन मनाउन विमला लगायत सबै परिवारका सदस्य कोठामा जम्मा भइसकेका थिए ।
फागुन १२ गतेको त्यो साँझ स्वराजको जन्मदिन मनाउन सबै तम्तयार थिए । तर, बुवा अधिकारी ढिलोमात्रै आइपुगे । उनी कोठामा आउँदा रात परिसकेको थियो । ‘बाबु (स्वराज)को बड्डे थियो । त्यसकै लागि काठमाडौं गएका थिएँ । दाइ ढिलो ढिलो आउनु भाथ्यो,’ दुर्घटना हुनुभन्दा ३ दिन अघिको समयमा पुग्छिन्, ‘त्यही पनि साथीले छोरोको बड्डे भने सम्झाइदिएपछिमात्रै हतारहतारमा आउनुभा रै’छ ।’
स्वराजको जन्म दिनको अवसरमा काठमाडौंमा भएको त्यो भेट नै विमलाका लागि दाजुसँगको अन्तिम भेट बन्यो ।
त्यो दिन रवीन्द्रले छोरासँग के गिफ्ट माग्छौ भनेर सोधेका थिए । स्वराजले खुसी हुँदै भिडियो गेम मागेको तर, दाजुले त्यो साह्रै महँगो भो भन्दै अर्को चिज मागेपछि गालामा चुम्बन गरिदिएको विमलाको आँखामा ताजै छ । भन्छिन्, ‘स्वराजलाई माया (चुम्बन) गरेको अहिले साह्रै याद आउँछ । त्यही भेट नै अन्तिम बन्यो ।’
दाजु राजनीतिज्ञ भएकाले साह्रै व्यस्त भएर धेरै समय बिताउन नपाएपनि चाडपर्वमा भने सधैं सँगै हुने गरेको स्मरण विमला गर्छिन् । अहिले अरु समयमा दाजु नभएकोबारे मनलाई सम्झाइबुझाई गरेर थम्थमाए पनि चाडपर्वमा दाजुको धेरै याद आउने उनको अनुभव छ ।
‘दाजु एकदमै व्यस्त हुने भएकाले धेरै समय बिताउनै पाउँथेनौं । चाडपर्वमामात्रै सँगै हुन्थ्यौं । २ वर्ष भो हाम्ले कुनै पनि चाडपर्व पहिलेजसरी सँगै बसेर सेलिब्रेट गरेकै छैनौं,’ विमलाको भावुक बोली सुनिन्छ, ‘परिवार सँगै भएर त्यस्ता (दाजुबारे) कुरा गर्नै सक्दैनौं । अहिले पनि दाजु यतैकतै हुनुहुन्छ भन्ने लाग्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->