पोखराको बाक्लो क्रंक्रिटको जङ्गल देखिनु जामुनबोटको विशेषता हो । स्वास्थ्यको ख्याल गर्नेहरु बिहानै डाँडा उक्लन्छन्, मनोरञ्जन र दृष्यावलोकनका शौखिनहरुको लागि यो पायकको गन्तव्य हो । पोखरा–१८ मा पर्ने जामुनबोटले हिजोआज परिचय बदलेको छ । त्यहाँ पूर्वमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीदेखि पृथ्वीनारायण शाह, योगेन्द्रमान शेरचन, भीमसेन दाहाल, पुष्पलाल श्रेष्ठसम्मको शालिक मात्रै छ्रैन,शारीरिक व्यायामका सामग्री पनि राखिएको छ । करिब ५७ रोपनी क्षेत्रफल फैलिएको पार्कको नाम नै ‘शहीद पार्क’ राखिएको छ । पोखराका विभिन्न चोकहरुमा रहेका शालिकहरु व्यवस्थापन गर्नकै निम्ति महानगरले जामुनबोटमा करिब १ करोड लगानी गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा महानगरबाट विनियोजित बजेटले पार्कले आकार पाए पनि घोषणा अनुरुपका शालिकहरु भने राखिएको छैन । मेयर मानबहादुर जिसीले सो ठाउँमा पोखराका विभिन्न क्षेत्रमा छरिएका २० वटाभन्दा बढी शालिकहरु ठड्याउने उद्घोष गरेका थिए । पोखराको पृथ्वीचोकमा रहेको लखन थापाको शालिक हटाएपछि बढेको आक्रोस मत्थर पार्न शहीद पार्कको परिकल्पना गरियोे । शहीदका शालिक सार्न महानगरले पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापाको संयोजकत्वमा १३ सदस्यीय पार्क व्यवस्थापन समिति गठन भयो । तर, समिति गठन भएको लामो समयसम्म पनि शालिकहरु पार्कमा पुग्न सकेका छैनन् । महानगरले कोभिड–१९ को कारण काम रोकिएको जिकिर गरेको छ ।
पोखराका विभिन्न चोकहरुमा शालिकहरु ठडिएका थिए । महानगरले शालिकहरुले ट्राफिक व्यवस्थापनमा समस्या पारेको र चोक फराकिलो बनाउन शालिकहरुको पार्क बनाउने निर्णय ग¥यो । त्यहाँसम्म ठीकै थियो । हो, पोखराका सडक र चोकहरु सवारी साधनको बढ्दो चापसँगै साँघुरा हुँदै गएका छन् । साघुरा चोकहरु दुर्घटनाको कारक बन्नेमा कुनै द्धिविधा छैन । चोकहरु फराकिलो हुनैपर्छ । तर, जुन रफ्तारमा काम हुनुपर्ने हो, त्यसरी काम नहुँदा महानगरको कार्यसम्पादनमा प्रश्नचिन्ह खडा भएको छ । पार्कको लागि संघीय सरकारबाट थप १ करोड रुपैयाँ र पूर्वमन्त्री जगत विश्वकर्माले पनि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत् रुकम दिएको सन्दर्भमा काममा ढिलाई हुनुहुँदैन ।
तर, यसो भनिरहँदा एउटा जीवन्त सहरमा मानवीय विकास क्रममा निर्मित सबै कुराहरु सुरक्षित हुन्छन् भन्ने महानगरले भुल्नु हुँदैन । फ्रान्सदेखि बेलायतसम्मका उदाहरण हेर्ने हो भने त्यहाँ पनि साँघुरा सडकमा शालिकहरु नभएका हैनन् । तर, उनीहरुले शालिकको व्यवस्थापन यसरी गरेका छन् कि, ती भद्दा लाग्दैनन् । त्यसले सहरकै सौन्दर्यता र वैभवता थपेको महशुस गराउँछन् । कुरा व्यवस्थापनको हो, सोच विचारबिना भत्काइहाल्ने अनि पुनःदवाव परेपछि बनाउन पछि नपर्ने प्रवृत्तिले इतिहासको सही सम्मान गर्न सक्दैन । पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाह र पछि लखन थापाको शालिक भत्काउँदा महानगरले त्यही अदूरदर्शीता देखायो । कतिसम्म भने ,पृथ्वीचोकमा हटाइएको लखन थापाको शालिक चर्को दवावपछि महानगरकै पैसाले सानो ठाउँमा मर्मत गरियो । शालिकहरुसँग सम्मान र इतिहास जोडिएको हुन्छ । शालिकहरुको मात्रै पार्क बनाउनुलाई नराम्रो मान्न सकिँदैन । तर, इतिहासको मूल्याङ्कन गर्दैगर्दा कुनै पनि कालखण्ड, व्यक्ति र समुदायको अवमूल्यन गरिनु हुँदैन । सबै शालिकहरुलाई यथासम्भव सही ठाउँमा व्यवस्थापन गरिनुपर्छ ।
