पोखरा, १८ फागुन– नेपालमा अझै पनि तल्लो बर्ग र मध्यम बर्गले लोकतन्त्रको आभाष गर्न नपाएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । रेडियो अन्नपूर्णको समसामाहिक बहसपूर्ण कार्यक्रम ‘द राउण्ट टेबल’ मा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले नेपालको राजनीति पैसा र शक्तिको भरमा चल्दा सीमित तथा धनाढ्य वर्गले मात्र लाभ लिने गरेको जिकिर गरे । ‘पैसा तिरेर राजनीतिमा पद पाइन्छ भन्ने हाम्रो प्रवृत्ति सुरु भएको छ’, उनले भने,‘ यसमा पुनर्विचार गर्नुपर्छ ।’
राजनीतिक विश्लेषक विश्व सिग्देलले चेतना कमजोर हुँदा नेताका भाषाणमा अशिष्टता झल्किएको बताएका छन् । उनले नेपाल सुहाउँदो शिक्षा र संस्कार आवश्यक भएको जिकिर पनि गरे । वरिष्ठ अधिवक्ता तिलक पराजुलीले संविधानमाथि लात हान्ने प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको पदबाट तत्काल राजीनामा दिनु पर्ने भनाई राखे ।
नेकपाको सरकारलाई ट्रयाकमा ल्याउने जिम्मेबारी कांग्रेसमा हुँदा पनि केही गर्न नसकेको उनको भनाई थियो । अग्रज पत्रकार एवं गजुरी व्यारेक ब्रेकर राजु क्षेत्रीले जनयुद्धकालमा समाज परिवर्तनका लागि लडेका कैयांै मानिसहरु अझै पनि पीडामा परेको र उनीहरुको जीवन स्तरमा खासै सुधार हुन नसकेको गुनासो गरे ।





