शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

बजेट ‘पर्खिँदा’ फेवातालको गेग्य्रान निकाल्न ढिलाइ !

बजेट ‘पर्खिँदा’ फेवातालको गेग्य्रान निकाल्न ढिलाइ !

बाँध तथा नहर मर्मत अन्तिम चरणमा, तालमा पानी भरिन सुरु ।


  • विकाश रोकामगर
  • फाल्गुन २० २०७७, बिहिबार

पोखरा, २० फागुन– बाँध तथा नहर मर्मत गर्न जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, कास्कीले माघको अन्तिम साता फेवातालको पानी घटायो । एक मिटर पानी घटाउँदा तालबाट करिब ६ करोड लिटर पानी बहेर गयो ।
ठूलोमात्रामा पानी बगेर गएपछि तालको आधा भूभाग बगरमा परिणत भएको छ । पानी घटेर बगर भएकै मौकामा त्यहाँ जम्मा भएका गेग्य्रान निकाल्न सरोकारवाला निकायले आवाज उठाउँदै आएका थिए । नागरिक समाज पोखराले आफैं डोजर लगेर सांकेतिक दबाबसमेत दिएको थियो ।
पानी घटेकोबेला त्यहाँ जम्मा भएको गेग्य्रान निकाल्न र तालको सौन्दर्यकरण गर्न सरोकारवाला निकायले ध्यानाकर्षण गराएपछि प्रदेश सरकारले गतहप्ता समिति नै गठन ग¥यो । गण्डकी प्रदेशका पर्यटनमन्त्रीको अध्यक्षता बसेको बैठकले वन, वातावरण तथा जैविक विविधता महाशाखा प्रमुख रामकाजी श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय समितिसमेत गठन गरिसकेको छ ।
तर, बाँध तथा नहर मर्मत भएर तालको पानी पुरानै अवस्थामा फर्किन सुरु गरिसक्दा पनि समितिले प्रभावकारी ढंगले अघि बढाउन सकेको छैन । बजेट बभाव देखाउँदै समितिले योजनाअनुरुप तालबाट गेग्य्रान झिक्न सकेको छैन । एक मिटर घटाइएको पानीमा अहिले ५० सेन्टिमिटर पानी जम्मा भइसकेको जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, कास्की प्रमुख किरण आचार्य बताउँछन् ।
‘गेटको मर्मत पूरा भइसक्यो । गेट मर्मत भइसकेपछि बाँध खोलिरहनु पर्दैन । यसो हुँदा तालमा पानी जम्मा हुन सुरु भइसकेको छ,’ आचार्यले ढोरपाटनसँग भने, ‘अब डाउनस्टिमतिरको काम बाँकी छ । ग्राउडिङकोमात्रै थोरै काम बाँकी छ ।’ ग्राउडिङ गर्दा चर्किएका ठाउँमा मेसिनले सिमेन्ट भर्नेमात्रै बाँकी रहेको उनले जानकारी दिए ।
फागुन महिनाभित्र ताल तथा नहरको सम्पूर्ण भाग मर्मत सक्ने गरी काम भइरहेको र मर्मत कार्य सकिए झनै तीव्र रुपमा तालमा पानी भरिने आचार्यको भनाइ छ । आचार्यको भनाइअनुसार फागुनमहिनाभित्रै तालमा थुप्रिएका गेग्य्रान माटो निकालिसक्नु पर्ने हुन्छ । आचार्य स्वयं समितिको सदस्यमा छन् ।
तर, त्यहाँको माटो तथा गेग्य्रान निकाल्न गठित समितले काम अघि बढाउन सकेको छैन । समितिले फेवातालको माटो झिक्ने योजना ‘अपर्झट’ बनेको र त्यसका लागि बजेट अभाव रहेकाले काम अघि बढाउन नसकेको जनाएको छ ।
तालबाट माटो तथा गेग्य्रान निकाल्न करिब डेढ करोडसम्म लाग्ने देखिएको तर, आफुहरुसँग पर्याप्त रकम नभएको समिति संयोजक रामकाजी श्रेष्ठ बताउँछन् । ‘तालको पानी घटेकोबेला बनेको योजना भएर हामीसँग बजेट अभाव छ,’ उनले भने, ‘समितिमा भएका निकायकै बजेटबाट कटौती गरेर तालबाट माटो निकाल्ने भनेका छौं ।’ उनले सरोकारवाला निकायसँग बजेट माग गरिरहेको जानकारी दिए ।
जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय, कास्कीले तालको माटो निकाल्न व्यक्तिको संलग्नता भए १ करोड ३० लाख र मेसिनको मात्रै प्रयोग भए २५ लाख लाग्ने अनुमान गरेको श्रेष्ठले जानकारी दिए । समितिका अनुसार तालबाट करिब १५ हजार घनमिटर माटो निकाल्ने योजना छ ।
गेग्य्रान निकाल्ने जिम्मा उपभोक्ता समितिलाई !
कोमागाने पार्क क्षेत्रको तालको गेग्य्रान निकाल्न ताल संरक्षण तथा विकास प्राधिकरण पार्क सौन्दर्यकरणका नाममा विनियोजित २० लाख बजेटबाट ५ लाख रुपैयाँ छुट्याएको छ । समितिले उक्त क्षेत्रको माटो निकाल्ने जिम्मा प्राधिकरणलाई नै दिएको छ ।
प्राधिकरणले विनियोजित ५ लाख रुपैयाँबाट सोमबार पर्यटनमन्त्री विकास लम्सालको उपस्थितिमा ‘केही’ माटोसमेत निकाल्यो । तर, त्यो कामले समेत गति लिन नसकेको सरोकारवालाले गुनासो गरेका छन् ।
समितिले तालको माटो निकाल्ने जिम्मा भने उपभोक्ता समितिलाई दिएको जनाएको छ । ‘पार्क सौन्दर्यकरण गर्न उपभोक्ता समिति गठन गरिएको थियो । अहिले त्यही समितिलाई नै माटो निकाल्ने जिम्मा तोकेका छौं,’ प्राधिकरण प्रमुख अनुप गुरुङले ढोरपाटनसँग भने, ‘सीमित बजेटमा धेरै काम गर्नुपरेकाले पनि माटो निकाल्न ढिलाइ भइराखेको हो ।’
‘बजेटको अभाव र डोजरको तालमेल’ मिलाउँदा योजनामुताबिक तालको माटो निकाल्न नसकिएको गुरुङको भनाइ छ । उनले भने, ‘अहिले फेरि सम्बन्धित निकायमा बजेट माग गरेका छौं । थोरै पैसाले धेरै कामको तालमेल मिलाउनु प¥यो । त्यसमाथि डोजर पनि पाउनै गाह्रो,’ उनले भने ।
समितिले तालमा पानी नभरिँदै चैत महिनाभित्र लक्षित गेग्य्रान योजना बनाएको छ । खहरेखोला, हर्पन खोला लगायत माध्यमबाट तालमा थुप्रिन आउने गेग्य्रान निकाल्ने योजनामा समिति छ । पोखरा महानगरले यसअघि पनि पामे क्षेत्रको माटो निकालेको थियो ।
फेवातालमा २०१८ सालमा भारतीय सहयोग मिसनको सहयोगमा पहिलो पटक ४६ फिट बाँध निर्माण गरिएको थियो । बाँध बाँधेर कुल १५ हजार रोपनी क्षेत्रफलमा सिंचाइका लागि नहर निर्माण गरिएको थियो । पछि उक्त बाँध २०३१ सालमा बाँध फुटेर गएको थियो ।
पछि २०३४ कात्तिक १८ गते पुनः नयाँ बाँधको शिलान्यास गरिएको थियो । उक्त बाँध संयुक्त राष्ट्रसंघको सहयोगमा निर्माण गरिएको हो । उक्त बाँध निर्माण कार्य २०३५ सालमा आएर सम्पन्न भएको थियो । ३५ सालमा बाँध निर्माण भएयता हालसम्मकै सबैभन्दा ठूलो मर्मत गर्न लागिएको हो ।
मन्त्रीपरिषद्ले हालैमात्र नयाँ क्षेत्रफल ५.७२६ किलोमिटर कायम गरेको छ । फेवातालको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन गर्न सरकारले गठन गरेको समितिको सिफारिसका आधारमा नयाँ क्षेत्रफल कायम भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->