बागलुङको पुरानो बिद्यालय बिद्यामन्दिर पूर्व बिद्यार्थीहरुको लगानीबाट ठडियो । भूकम्पले भत्केको भवन पुन निर्माणकालागि करोडौं रकम पूर्व बिद्यार्थीबाटै उठेको यो नौलो र पहिलो अबसरपनि हो । त्यसकालागि सरकारी निकायबाटपनि केही सहयोग भने पुगेको देखिन्छ । तर अधिकांस लगानी पूर्व बिद्यार्थीहरुको हो ।
यो एउटा उदाहरण मात्रै हो । गलकोटमा पनि पूर्व बिद्यार्थीले धेरै लगानी गरेका छन् । त्यहाँका बिद्यालय सहितका सार्वजनिक क्षेत्रमा उत्तिकै लगानी गरिरहेका छन् । कतिपयले बिदेशमा काम गरेर गाउँका बिद्यार्थी पढाएका छन् । छात्रवृत्ति बाँडेका छन् । कतिपय स्थानमा गाउँमा सडक निर्माणमा समेत पूर्व बिद्यार्थीको नाउँ वा प्रवासको साथ जस्ता नाम दिएर भएको देखिन्छ । एकादुइ उदाहरण जस्तै धेरै खाले बिकास निर्माणमा जिल्ला वा गाउँ छाडेकाहरुको लगानीबाट संभव देखिएको छ ।
राज्यको लगानी पनि धेरै स्थानमा भैरहेको छ । तर तुलनात्मक रुपमा राज्यको लगानी भन्दा स्थानीय बासिन्दाले गरेको सहयोग बढी सदुपयोग भएको देखिन्छ । उनीहरुले व्यक्तिगत पैसा पठाउँदा सही ठाउँमा लगानी भए नभएको हेर्छन् । तर राज्यको लगानी कुन स्थानमा बगिरहेको छ भन्ने कुरा हेरिदिने निकाय नभएर बढी समस्या परेको छ । त्यसोत बिकास निर्माणमा अपनत्व लिन सकिने भन्दै गाउँगाउँमा सिंहदरबार ल्याउनकैलागि स्थानीय तह गठन भएको हो । वडा तहसम्मै बजेट ल्याउने गतिलो माध्यम भनेकै संघियता हो । तर अझैपनि सरकारी पैसा खर्च गरेको बिषयलाई न त उपभोक्ताले खवरदारी गरेका छन् न त सरकारी निकायनै जिम्मेवार देखिन्छन् ।
जनप्रतिनिधिको रुपमा गएकाहरुले आफ्नो स्वार्थमा काम गर्न र लगानी गर्न रुचाउने, उपभोक्ताले पनि सरकारी पैसा हो भनेर चासो नदिने प्रवृत्तिले बिकासका योजनाहरु धेरै अलपत्र परेका छन् । समयमा रकम सदुपयोग गरेर पूर्वाधार निर्माणलाई पूर्णता दिनुपर्छ भन्ने मान्यता अझै बिकास हुन सकेको छैन । संघियताले ल्याएको बजेटलाई तल्लो तहसम्म अनियमितता गर्ने, भ्रष्टाचार गर्ने र आफ्नो स्वार्थमा खाने वा लगानी गर्ने हो भन्ने भावना समेत बिकास भैरहेको देखिन्छ । बिकास र योजनाकालागि ल्याएको संघियता भ्रष्टाचार र अनियमितताकालागि ल्याएको जस्तो भएको छ । जनप्रतिनिधिमा पनि राज्यको बजेट व्यक्तिगत हो भन्ने अहंपना पलाएको देखिन्छ । जसले गर्दा बाटो खन्ने, पहाड भत्काउने काम मात्रै भैरहेको छ । जुन बिकासको मोडल असफल जस्तै भैसकेको छ । बर्षातमा पहिरो खसाल्ने र जनधनको क्षति पुग्ने काम मात्रै भएको बिकास भन्दा हरेक रकमको खोजी गर्ने बिकास चाहिएको छ । त्यसकालागि अब हरेक नागरिकले पनि चासो गर्नुपर्ने बेला आएको छ ।
आफ्नो घरछेउमा भैरहेको काममा पनि के कति लगानी भयो, काम भयो की भएन भन्ने चासो नराख्ने प्रवृत्तिले करोडौंका योजनाहरु अलपत्र भैरहेका छन् । कतिपय संचारमाध्यमको निरन्तरको प्रहारबाटमात्रै ती आयोजना संचालन हुन सकेको देखिन्छ । त्यसैले अब नागरिक जगेर मात्रै लगानी सदुपयोग हुने देखिन्छ । त्यसकालागि पछिल्लो समय हटेको श्रमदानको संस्कृति पुन जागृत गर्नु आबस्यक भैसकेकोछ । कतिपय साझेदारीका काममा समेत सरकारी बजेट खर्चने कागजमा मात्र देखाउने प्रवृत्ति छ । त्यो प्रवृत्ति रोकियो भने मात्रै बिकासले गति लिने र दिगो बन्ने देखिन्छ ।
