पोखरा, २६ फागुन– आज पोखरा महानगरको स्थापना दिवस । पाँच वर्षअघि आजकै दिनमा पोखरालाई सरकारले महानगर घोषणा गरेको थियो । नेपाल सरकारले २०७३ साल फागुन २७ गते राजपत्रमा सूचना प्रकाशित गरेपछि यसको क्षेत्रफल ४६४.२४ वर्गकिलोमिटर बनेको थियो । कास्कीको पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका, मौजा, चापाकोट, भदौरे तमागी, कास्कीकोट, माझठाना, कालिका र पुरन्चौर गाविस समावेशपछि पोखरा देशकै ठूलो महानगर बनेको हो । वडाको दृष्टिले पनि पोखरा सबैभन्दा धेरै वडा भएको महानगपालिका हो ।
महानगरले आफ्नो पाँचौ स्थापना दिवस मनाउने क्रममा महानगरले खेलकुदसहित विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । यसै उपक्रममा आयोजित अन्तर कार्यालय भलिबल प्रतियोगिताको उपाधि प्रशासन महाशाखाले जितेको छ । स्वास्थ्य महाशाखाको टोलीलाई पराजित गर्दै फाइनलमा पुगेको प्रशासन महाशाखाले जनप्रतीनिधिको टोलीलाईं २५–२१ र २५– २३ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । महिला जनप्रतिनीधि भर्सेस् कर्मचारीबीचमा सम्पन्न भलिवल प्रतियोगिताको उपाधि समेत कर्मचारीकै पोल्टामा परेको छ । उप–प्रमुख मञ्जुदेवी गुरुङ्को कप्तानीमा खेलमैदान प्रवेश गरेको टोलीलाई २५–१९, २३–२५ र २५–२१ को सेटमा पराजित गरेको हो ।
यस्तै, फुटबलतर्फ महानगरका प्रमुख प्रशासकीय अधिकृतको टोली विजयी भएको छ । महानगरका प्रमुख मानबहादुर जिसीको कप्तानीमा मैदान ओर्लिएको जनप्रतिनीधिको टोलीलाई महानगरकै प्रमुख प्रशासकीय अधिकृतको कप्तानीमा मैदान उत्रिएको कर्मचारीको टोलीले ४–२ गोलअन्तरले पराजित गरेको हो । अन्तर कार्यालय ब्याडमिन्टन डबल्सतर्फको उपाधि मन क्षेत्री र रामजी केसीले हात पारेका छन् । फाइनलमा चिरञ्जिवी पौडेल र शिव कार्कीको टोलीलाई २१–१८ र २१–११ को सोझो सेटमा पराजित गर्दै उनीहरुले सो उपाधि हात पारेका हुन् । ब्याडमिन्टन डबल्समा महिलातर्फको उपाधि उशा किरण रोकाया र मनकला खनालको टोलीले हात पारेका छन् । उनीहरुले सविना श्रेष्ठ र भोजकुमारी थापाको टोलीलाई २१–१९ र २१–१८ को सेटमा पराजित गरेका हुन् ।





