पोखरा, २८ फागुन– उर्जामन्त्री टोपबहादुर रायमाझीले पोखराको मौसम र अहिलेको राजनीति उस्तै रहेको बताएका छन् । रुपा गाउँपालिकाको स्थापना दिवसमा बोल्दै रायमाझीले उक्त कुरा बताएका हुन् ।
‘सूर्यलाई कसैले रोक्न सक्दैन, हिजो पोखरामा असिनापानी प¥यो, आज सूर्य मज्जाले उदायो,’ उनले भने, ‘दिउसोतिर पानी पर्लाजस्तो हुन्छ तर घाम लाग्छ । अहिलेको राजनीति पनि यस्तै छ ।’
उनले प्रधानमन्त्री केपी ओलीलाई सबैभन्दा शक्तिशाली नेताको संज्ञा दिए । रुपा गाउँपालिका जानुअघि पोखरामा भएको कार्यकर्ता भेटघाटमा बोल्दै रायमाझीले आफू सांसद पद त्याग्न तयार भएको बताए ।‘अब हाम्रो के हुन्छ थाहा छैन । विचार, संगठन कार्यक्रममा लाग्ने कि सांसद जोगाउन लाग्ने । सांसद भन्ने कुरा त विचार, संगठन, योजना, कार्यक्रम कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने भयो भने मन्त्री र सांसद जहिले भए नि पाइन्छ । तर विचार, राजनीति योजना छोडियो भने त्यसमा विचलित होइन्छ’, उनले भने ।
प्रचण्ड र माधव नेपालले संसद विघटन गर्दा पुनस्र्थापनाको माग गरेर आन्दोलन गरेपनि संसद बैठक भने बहिष्कार गरेको उनले बताए । ‘जसले संसद बैठक मागेका थिए उनीहरुले बहिस्कार गरे, हामी चुनाव मागेकाहरु संसदमा गयौं’, उनले भने ।
माधव नेपाल, झलनाथ खनाल लगायत प्रचण्डका पक्षमा लागेका एमालेका नेताहरुलाई अहिले धेरै ब्यङ्ग्य गर्न नहुने उनले बताए । माधव नेपाल लगायतका नेताहरुको बल्ल होस खुलेको उनले टिप्पणी गरे । संसद पुनस्र्थापना भएपछि एमालेको संख्या वृद्धि भएको र माओवादीको संख्या घटेको उनले बताए । पूर्व माओवादी रायमाझी अहिले सर्वोच्चले एमाले र माओवादी ब्यूँताइदिएपछि एमालेको ओली समूहमा लागेका छन् ।
रायमाझीले कांग्रेस र माओवादी मिलेर सरकार बनाउने सम्भावना एक प्रतिशत पनि नभएको दाबी गरे । ‘माओवादी, जसपा र कांग्रेस मिलेर सरकार बनाउने सम्भावना १ प्रतिशत पनि छैन । हुँदा खाँदाको आप्mनो कम्युनिष्ट प्रधानमन्त्री केपी शर्मा ओली सर्वसम्मत पार्टी अध्यक्ष सर्वसम्मत प्रधानमन्त्री छोडेर कांग्रेसलाई प्रधानमन्त्री दिँदाखेरी बनाइहाल्नुभयो भने त्यो चल्नेवाला छैन । चलिहाल्यो भने पनि हामी प्रमुख प्रतिपक्षमा हुन्छाँै र देशव्यापी रुपमा चुनावमा गएर बहुमतको पार्टी बनाएर सरकार बनाउँछौ’, उनले भने ।
ओली सरकारलाई नै निरन्तरता दिन अहिले सजिलो भएको रायमाझीले बताए । उनले भने, ‘सजिलो अहिले पनि हाम्रो पार्टीलाई छ । केपी शर्मा ओलीको नेतृत्वमा जसपा वा कोही मिलेर । माधवजी झलनाथजी पनि आइसक्नुभो । अब हाम्रो पूर्व एमाले छँर्दैछ ।’ कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाको अध्यक्षतामा भएको कार्यक्रमअघि गाउँपालिकाका विभिन्न समुदायबीच झाँकी र भलिबल प्रतियोगिता पनि आयोजना गरिएको थियो ।
पालिकाले आफ्नो क्षेत्रबाट कला,साहित्य, खेलकुदको क्षेत्रमा योगदान पु¥याउने १३ जनालाई ताम्रपत्र,दोसल्ला र नगदसहित सम्मान गरेको छ । कला तथा साहित्यको क्षेत्रमा योगदान पु¥याएको भन्दै अग्रज पत्रकार तथा साहित्यकार वद्रिबिनोद प्रतीक, लेखक हरिहर खनाल, मदन पुरस्कार विजेता अमर न्यौपाने, कवि प्रकट पंगेनी शिव, सूर्यबहादुर खड्का तथा वैज्ञानिक आविष्कार गरेको भन्दै रविमल्लाह मियाँ र कलाकार माओत्से गुरुङ तथा खेलाडीहरु बक्सिङका चन्द्रबहादुर गुरुङ, तेक्वान्दोकी रमिला टि खत्री, कराँतेका सुवास खड्का, क्रिकेटका सुनिल राना र फुटबलका दिपेश आलेलाई सम्मान गरेको हो ।
गाउँपालिकाका व्यक्तिहरुले गाउँ र राष्ट्रका लागि गरेको योग्दानको आधारमा स्थापना दिवसको अवसरमा सम्मान गरेको अध्यक्ष नवराज ओझाले जानकारी दिए । यस्तै अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी भने रुपा गाउँपालिकाले नै जितेको छ । मादी गाउँपालिकालाई हराउदै रुपाले उपाधि हात पारेको हो । विजेताले नगद ८० तथा उपविजेताले नगद ६० हजार रुपैँयाको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
रुपातालको योजनालाई पुग्ने बजेट
उर्जामन्त्री रायमाझीले रुपाताल परियोजनामा रकम अभाव नहुने बताएका छन । बिहीबार रुपा गाउँपालिकाको स्थापना दिवसको क्रममा सो क्षेत्र पुगेका मन्त्री रायमाझीले रुपालाई व्यवस्थित पर्यटकीय गन्तव्य बनाउनका लागी ४ अर्बको प्रोजेक्ट बन्ने विश्वास दिलाए । रुपाताल परियोजनाको के कति काम भयो भन्ने विषयमा अनुगमन गरेको बताउदैँ उनले भने,‘ ४ अर्बको परियोजना तीव्र रुपमा अघि बढ्छ, रकम अभावले रोकिँदैन ।’
परियोजनाअन्तर्गत सिस्टेनीघाट–सुवेदीटुँडामा ६ सय मिटर लम्बाई, जगमा १२ मिटर चौडाइ, ५ मिटर गहिरो र पानीको सतहभन्दा ४ मिटर माथिसम्म बाँध निर्माण हुने बताए । यसले अहिलेको पानीको सतह ३ मिटर बढ्नेछ । हाल ६ मिटरसम्म गहिरो तालमा ३ मिटर थप्ने योजनमा छ । मन्त्री रायमाझीले रुपातालको ड्याम बनाउने काम अघिबढ्ने बताए ।
२०३२ को नापीमा १ सय ३५ हेक्टर क्षेत्रफलमा फैलिएको रूपाताल अहिले १ सय ७ हेक्टरमा खुम्चिएको छ । अधिकारीका अनुसार बाँध बनेपछि १ सय ७४ दशमलव ४ हेक्टरमा फैलिनेछ । २०६४ मा केन्द्रीय नापी टोलीको तथ्यांकअनुसार रूपातालको ८ सय रोपनी क्षेत्रफल अतिक्रमणमा परेको छ । वर्षेनी ५ रोपनीका दरले ताल पुरिँदै गएको छ ।





