सिराहामा भएको बम विष्फोटको जिम्मा जयकुष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ । गोइत समूहले भ्रष्टाचारको विरोधमा विस्फोट गराएको जिकिर गरेको छ । लहानको मालपोत कार्यालयमा भएको विस्फोटमा परि ८ जना घाइते भएका छन् । उपाध्यक्ष रामविलास यादवले आत्मसमर्पण गरेकै दिन गोइत समूहबाट भएको यो विस्फोट कुनै पनि कोणबाट वैधानिक छैन । भ्रष्टाचारको विरोध हिंसा र विस्फोटबाट हुनै सक्दैन । राजनीतिक आवरणमा गरिने यस्ता विस्फोटका घटनाहरु आतंककारी क्रियाकलाप नै हुन् । आफ्ना असहमतिहरु खुल्ला रुपले नै राख्न पाइने अवस्थामा हुँदाहुँदै हिंसाको बाटो रोज्नु आतंक सृजना गर्नु नै हो । सर्वसाधारण जनतालाई दुःख दिने र आतंकित पार्ने गोइत समूहको क्रियाकलापप्रति सरकार गम्भीर बन्नुपर्छ । हिंसालाई साधन बनाएर राजनीतिमा स्थापित हुन खोज्ने प्रवृत्तिलाई निरुत्साहित मात्र हैन बन्देज नै लगाउनुपर्छ ।
सरकारले असन्तुष्ट समूहलाई राजनीतिको मूलधारमा ल्याइरहेको छ । हालसालै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आएको छ । वर्तमान व्यवस्था नमान्ने तर खुल्ला राजनीति गर्ने ध्येयसहित विप्लव खुल्ला राजनीतिमा आएपछि हिंसाको बाटो गलत हो भन्ने सन्देश प्रवाहित भएको थियो । हिंसा र हत्याको राजनीति सफल हुँदैन । नेपालको सन्दर्भमा हिजो यो वा त्यो बहानामा भएका हिंसाका घटनालाई राज्यबाटै वैधानिकता दिइएको छ । हिंसा भनेको क्रान्ति हैन । हिंसा र हत्याका घटनाहरुमा कसैले पनि उन्मुक्ति पाउनु हुँदैन । ती घटनाहरु कानूनी दायरामा आउनैपर्छ । हिजोका दिनमा सम्झौताका नाममा हिंंसालाई वैधानिकता दिँदा दण्डहीनताले प्रश्रय पाएको साँचो हो । यी घटनाहरुले हिंसा र हत्याको बाटोमा लागेका समूहहरुको मनोवल बढेकै हो । मधेशमा केही समयदेखि सुस्ताएको गोइत समूहको पछिल्लो गतिविधि यही धरातलबाट माथि उठेको हो । अत: सरकार यी र यस्ता गतिविधिहरुप्रति हदैसम्मको कठोर बन्नुपर्छ ।
असन्तुष्ट समूहलाई मूलधारमा ल्याउँदा पनि उनीहरुले गरेका मानवताविरोधी अपराधलाई नजरअन्दाज गरिनु हुँदैन ।अपराधलाई राजनीतिक रंग दिनु हुँदैन । यसो गरिए मात्रै हत्या र हिंंसाको राजनीति गर्नेहरु निरुत्साहित हुन्छन् । पछिल्लो समय तराई शान्त थियो । छिटफुट अपराधबाहेक सशस्त्र क्रान्तिको नाममा हिंसा र हत्या गर्ने समूहहरु सुशुप्त थिए । अहिले आएर यो उपक्रम बढ्ने संकेत देखिएको छ । लहानमा भएको घटनालाई सामान्य रुपमा बुझ्ने धृष्टता गरियो भने यसले दुष्परिणाम ल्याउँछ । राजनीतिक तलरता र अस्थिरता बढेको सशस्त्र समूहले टाउको उठाउनु शुभ संकेत हैन । अराजकता र अशान्तिले देश बर्वाद बनाउँछ । अपराधलाई राजनीतिकरण गर्ने प्रवृत्तिलाई बेलैमा लगाम लगाउनेतर्फ सरकारले ध्यान दिनैपर्छ ।
