एक महिना भयो बागलुङका अधिकांस होटलहरु भरिभराउ छन् । पाहुनाहरु प्रसस्त भएपछि साना देखि ठूला होटलले पाहुना राख्न भ्याइ नभ्याइ छ । त्यतिमात्र हैन बागलुङ कालीका मन्दिर, नेपालकै लामो झोलुंगे पुल र पञ्चकोटमा अझै धेरै पाहुना पुगिरहेका छन् ।
यसरी पाहुना आउने वातावरण बनेको एक बर्षपछि हो । कोरोना संकटले एक बर्ष सम्म सुस्ताएको पर्यटन व्यवसाय अहिले एकाएक बढेको छ । अभैm बिदेशी पर्यटक आउने बेला भैसकेको छैन । तर नेपालको पूर्वदेखि पश्चिमका मानिस आन्तरिक भ्रमणमा निस्कने क्रमले नेपालको अर्थतन्त्र भने चलाएमान बनाएको छ । पर्यटनका कारण होटल व्यवसाय मात्र हैन, तरकारी खेती गर्ने किसानको उत्पादन समेतले राम्रो बजार पाएको छ ।
यसरी पर्यटन व्यवसाय फस्टाउने काम मात्र हैन, हिजोका दिनमा पाठ्यक्रममा पढेका पर्यटकीय क्षेत्र मात्रै घुम्ने ठाउँ हुन् भन्ने मान्यता पनि हराएको छ । बरु जिल्लाका फरक र नयाँ गन्तव्यमा पनि पर्यटक पुग्ने अवस्था छ भन्ने सन्देश समेत दिन थालिएको छ । बागलुङकै धेरै बिद्यालय, आमा समूह र तरुणयुवाका कार्यक्रमहरु गाउँ केन्द्रीत भएका छन् । ढोरपाटनको घुमाइ देखि गलकोट, हाडिकोट र ताराखोलाहरुपनि रोजाइमा पर्न थालेका छन् । यसरी क्रमश जिल्ला भित्रका गन्तव्यमा आँखा पुग्दा होमस्टेको प्रवद्र्धन भएको छ । जिल्ला भित्रकै ठाउँको प्रचार भएको छ । बालबालिकालाई पर्यटकीय क्षेत्रको रुपमा जिल्ला भित्रै घुमाएपछि आफ्नो जिल्ला िभत्रपनि आर्कषक गन्तव्य रहेछन् भन्ने सन्देश प्रवाह भएको छ । यस अघि सौराहा, लुम्बिनी र पोखरा घुम्दामात्रै शैक्षिक भ्रमण भन्ने शिक्षक र बिद्यार्थीको मनोभावनामा पनि परिवर्तन आएको छ ।
एक वडाको मानिस अर्को वडामा घुम्दा एकले अर्को स्थानको सम्मान गर्ने, घुम्ने संस्कृतिको बिकास गर्ने र आन्तरिक रुपमा बनेका साना व्यवसायको प्रवद्र्धन हुने गरेको छ । यस्ता क्रियाकलापलाई अब भने प्रवद्र्धनात्मक रुपमा लैजाने बेला आएको छ । त्यतिमात्र हैन संघियतामा देश हिड्न थालेपछि स्थानीय तहलाई आफ्नै पाठ्यक्रम बनाउने अधिकारपनि प्राप्त भएको छ । यो अधिकार पुरा गर्न केही पालिकाले आफ्नै पाठ्यक्रम बनाउने योजना थालिसकेका छन् । यो क्रमले पालिकालाई अधिकार प्राप्त भएको महसुस हुनेछ भने स्थानीय र साना साना जातीय, भाषिक, सास्कृतिक समूहलाई आफ्नो बिषय पाठ्यक्रममा आएको भन्दै गर्व महसुस पनि हुनेछ । बहुभाषिक, बहुसास्कृतिक देशमा यस्ता बिषयले सास्कृतिक एकीकरणको पनि काम गर्नेछ ।
जे होस् पछिल्लो समय समाजमा देखिएको चलायमान प्रवृत्तिले पर्यटन क्षेत्र सुधार गरेको छ भने स्थानीय क्षेत्र, भाषा र संस्कृतिको प्रवद्र्धनमा पनि जोड दिएको छ । यस्ता बिषयलाई अबका दिनमा संरक्षण गर्ने, राम्रा कामलाई निरन्तरता दिने र विश्व बजारमा हाम्रा धेरै बिषय चिनाउने काम गर्न सकिन्छ । बिदेशीले गरेका साना कामलाई पढ्ने हामीले हाम्रै समाजमा भएका महत्वपूर्ण काम र गतिविधिहरु विश्वलाई किन नपढाउने भन्ने प्रश्न अब उब्जन थालेको छ । यस्ता बिषयलाई अब सबैले अपनत्व लिने गरी अगाडि बढाइनुपर्छ ।
