बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

एयरपोर्ट सञ्चालनबारे सोचौं

एयरपोर्ट सञ्चालनबारे सोचौं


  • Dhorpatan News
  • चैत्र ४ २०७७, बुधबार

सन् २०१७ देखि सुरु भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थलको भौतिक निर्माणको काम करिब ६६ प्रतिशत सकिएको छ । चिनियाँ ठेकेदार कम्पनीले आउँदो असारसम्म सम्पूर्ण निर्माण सक्नेगरि काम गरिरहेको जनाएको छ । विमानस्थल आउँदो असार २६ गते नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने सम्झौता छ । निर्माण अन्तिम चरणमा पुगे पनि विमानस्थल संचालनको तयारी भने सुस्त देखिएको छ । रिठेपानीको डाँडा काट्ने,इन्धन डिपो निर्माण गर्ने तथा ढल व्यवस्थापनलगायतका कामहरु बाँकी छन् । संसदीय समितिले समयमै रिठेपानी डाँडा काट्न निर्देशन दिए पनि त्यसले गति लिन सकेको छैन । अर्कोतर्फ, विमानस्थल बनेपछि यहाँबाट कहाँ उडान भर्ने भन्ने निक्र्योल हुन सकेको छैन । यसले गर्दा विमानस्थल बनेपनि यसको प्रयोग नहुने त हैन भन्ने चिन्ता थपिएको छ ।
राष्ट्रिय गौरवको परियोजना हो, पोखरा विमानस्थल । लामो समयसम्मको संघर्षपछि विमानस्थल निर्माणले गति लिएको हो । मित्रराष्ट्र चीनको सदासयतामा त्यहाँको एक्जिम बैंकको ऋण सहयोगमा यो परियोजनाले गति लिएको हो । कोभिड–१९ ले निम्त्याएको लकडाउनको बेलामा पनि यो परियोजना रोकिएन । पोखरा र यो क्षेत्रको आर्थिक समृद्धिको लागि कोषेढुंगा हो, यो विमानस्थल । विमानस्थल बनेपछि पोखरा र गण्डकी क्षेत्र सोझै अन्तर्राष्ट्रिय तहसम्म जोडिने छ । देशले वैकल्पिक विमानस्थल पाउने छ भने यसले नेपालको पर्यटन उद्योगलाई माथि उकास्न ठूलो मद्दत पु¥याउने छ । अतः यो विमानस्थलको सही प्रयोग हुनैपर्छ । विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको बेला अब यसको दीगो संचालनको लागि नागरिक उड्डयन प्राधिकरण र नेपाल सरकारले तदारुकता देखाउनुपर्छ । अहिले नेपालका सबै उडानहरु सिमरा र नेपालगञ्ज हुँदै आउँछन् । एउटै बाटो भएकाले जहाजहरु ट्राफिक जाममा पर्ने गरेको छ । यो समस्या हटाउन नयाँ रुटको लागि भारत सरकारसँग पहल थाल्नुपर्छ । भारतले भैरहवा हुँदै हवाई रुट दिँदा प्राविधिक समस्या हुने बताइरहेको छ । यस्तो अवस्थामा वैकल्पिक हवाई रुटको खोजी हुनैपर्छ । विमानस्थल बन्नु मात्रै ठूलो कुरा हैन, दीगो संचालन र व्यवस्थापनको लागि उडानको सुनिश्चिततातर्फ बेलैमा ध्यान दिनुुपर्छ । यसको लागि अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रचार गरिनुपर्छ । भारत र चीनसँग सहकार्यको हात फैलाउनुपर्छ । हवाई यात्रु भएनन् भने पोखरा विमानस्थलबाट उडान भर्न कम्पनीहरु नआउन सक्छन् । पहिलो कुरा भनेको यात्रु नै हुन् । यात्रुको सुनिश्चितताको लागि आवश्यक परे सम्पूर्ण गण्डकीवासीले दवाव दिनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->