गत वर्षको चैत महिना हरेक नेपालीले बन्द घरभित्रै बसेर कटाए । कोरोना महामारीको प्रारम्भमा आएका अफवाह र पहिलो चरणमा देखिएको त्रासले सरकारले गरेको बन्दाबन्दी र सर्वसाधारण आँफैमा रहेको त्रासका कारण कोही कसैलाई बाहिर निस्कीने वातावरण थिएन । कोरोनाको संक्रमण कम र त्रास बढी भएको समय थियो त्यो समय । चिनको बुहान शहरबाट सुरु भएको महामारीको प्रारम्भिक झड्का लागेको थियो गत चैतको दोस्रो साता नेपाललाई । आज हाही त्यो कठिन परिस्थितीको प्रारम्भ भएको ठिक एक वर्ष समयावधीको संघारमा छौं । महामारीको त्रास कम भएको छ तर जोखिम उत्तिकै छ । यो बिचको समयमा कोरोना संक्रमणका कारण ३ हजार १६ जनाले ज्यान गुमाएका छन् ।
कोरोनाका कारण ज्यान गुमाउने क्रम रोकिएको छैन । पछिल्लो २४ घण्टाको तथ्यांक मात्रै केलाउने हो भने १ सय २५ जनाको कोरोना भाईरस जाँच हुँदा एक जनाको मृत्यु भएको तथ्यांक छ । सरकारले कोरोनाविरुद्धको खोप अभियान चलाईरहेको छ । त्यो खोपको प्रभावकारीताका विषयमा जे–जति प्रचारहरु भएका छन् तथ्यपरक हिसाबले त्यसको प्रभावबारे पुष्टि हुनेगरी जानकारीहरु बाहिर आएका छैनन् । खोप अभियान डोज अभावका कारण दोस्रो चरणमा रोकिएको छ । यी सबै परिदृश्यलाई केलाउँदा हामी अहिले पनि कोरोना संक्रमण र त्यसका कारण हुने क्षतिको जोखिमपूर्ण अवस्थामा छौं ।
गत चैतमा हाम्रो देशमा संक्रमण एकाएक फैलिनुमा छिमेकी मुलुकहरु मुख्य कारक हुन् । विभिन्न कामको शिलशिलमा त्यहाँ पुगेका हाम्रा नागरिक र त्यहाँबाट नेपाल आउनेहरुबाट भाईरस यहाँसम्म आईपुगेको कुरालाई कसैले नकार्न सक्दैन् । पछिल्लो केही दिनयता भारतमा कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार, कोरोनाका करिब ४० हजार नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमितको यो संख्या गत नोभेम्बर २९ यताकै सबैभन्दा उच्च हो । यस्तो अवस्थामा भारतमा कोरोना संक्रमण पुनः उच्च विन्दुमा पुग्न सक्ने आशंका बढेको छ । भारतमा चलिरहेको कोरोना संक्रमणको यो दोस्रो लहर हो । भारतमा मानिसहरुले मास्क लगाउने र भौतिक दुरी कायम राख्नेजस्ता मापदण्ड मान्न छाडेकाले संक्रमण बढेको जानकारहरु बताईरहेका छन् ।
भारतमा महामारीको रुप धारण गर्दा कोरोनाको दोस्रो लहरले हामीलाई छोड्दैन । कठिन परिस्थितीको सामना गरेर पहिलो लहरलाई केही थान्को लगाएको नेपाली समाजले दोस्रो लहर चलेमा के गर्ने भन्ने विषयमा नत मन्थन भएका छन् नत औपचारिक छलफल । मानव जीवको अन्त्यलाई सहज रुपमा लिनु हुँदैन । भारतमा जस्तै तिव्र गतिमा फैलिने कोरोना महामारीको दोस्रो लहर फैलिँदा नेपालमा कति मान्छेको मृत्यु होला । कति मान्छे तहसनहस अवस्थामा पुग्लान् । त्यसैले दोस्रो लहरको नियन्त्रण र रोकथामका निमित्त सरकारी तवरबाट तत्काल योजना बनाउनु जरुरी छ । पछिल्लो समय पुनः कोरोनाको बेवास्ता गर्दै छाडा बनिरहेको हाम्रो समाजलाई समेत कोरोना महामारीको दोस्रो लहर सुरु हुनुपूर्व त्यससँग जुध्नका लागि तयार किन नराख्ने । सरकारले तोकेको मापदण्डको पालना गर्न सर्वसाधारण लाग्ने र सरकारले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा योजना बनाएर काम गर्न ढिला गर्नुहुँदैन् । अनपेक्षीत क्षतिले सबैलाई पछुतो बनाउँछ ।
