स्वास्थ्य मन्त्रालयले बिज्ञप्ती जारी गरेर फेरीपनि सुरक्षा मापदण्ड पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । कोरोना संक्रमणका कारण एक बर्ष अघि लकडाउन भएकै बेलामा मन्त्रालयको चेतावनी आउनुले नेपालीलाइ फेरी एकपटक झस्क्याएको छ ।
तर यो चेतावनीबाट हामी कति सचेत भएका छौ भन्ने कुरा महत्वपूर्ण छ । किनकी फेरीपनि नेपालमा स्वास्थ्य सर्तकता जरुरी देखिएको छ । सिमाना जोडिएको छिमेकी भारतमा कोभिडले दैनिक ३५ हजार सम्म संक्रमित देखिन थालेका छन् । त्यहाँका धेरै स्थानमा लकडाउन पनि सुरु भएको छ । सोझै आउजाउ हुने छिमेकी देशको अबस्थाालई वेवास्ता गर्दै स्वास्थ्य मापदण्ड हामीले पनि पालना गर्न बिर्सेका छौं । पर्यटन र राजनीतिक भेलाको नाउँमा नेपालका सबै क्षेत्रमा भीड बढेको छ । यस्तो अवस्थााई हामीले बेलैमा बिचार गरेनौ भने फेरीपनि लकडाउन र कोरोनाको संक्रमणबाट धेरै जोखिम भोग्नुपर्नेछ ।
संक्रमणको जोखिम भन्दा नेपालीलाइ लकडाउनको समस्या बढी छ । किनकी दैनिक काम गरेर खानुपर्नेलाइ यसले बढी सताउनेछ । स्वदेशी उत्पादन नभएको, अधिकांस रोजगारी पनि बिदेशको तथा सानो अर्थतन्त्र धरासायी हुँदा बढ्ने बेरोजगारीले आम नेपालीको अबस्था कमजोर हुने देखिन्छ । हुनपनि सामान्य स्वास्थ्यका मापदण्ड पालना गर्दा जोगिने काम पनि हामीले छाडेका छौं । खुला सिमानालाई कडाइ पनि गरिएको छैन । जसको कारण संक्रमणको जोखिम बढेको हो । नत हामीले फेरी हुने जोखिमको तयारी गरेका छौं । गत बर्ष केही आइसोलेसन बनेपनि व्यवस्थापकीय काममा हामी कमजोर छौं । आपत परेपछि मात्रै आत्तिने बानीले दुर्घटना निम्तने खतरा छ । बनेका आइसोलेसनमापनि न्युनतम सबै पूर्वाधार छैन । उपचार पद्दतीमा सुधार छैन । क्वारेन्टाइन बनाउनु परेमा फेरी तीनै बिद्यालय प्रयोग गर्नुपर्ने बाध्यता छ ।
राजनीतिक दलले ठूला भीड बढाएर कार्यक्रम गरिरहेका छन् । जोखिम न्युनिकरणमा भूमिका खेल्नुपर्ने कार्यकर्ताहरु आँफै जोखिम बढाएका छन् । गत पुसदेखि नेपालमा जुन प्रकारको राजनीतिक गतिविधि बढेका छन् त्यसले कोरोना संक्रमणको जोखिमको आगोमा घिउ थपेको छ । संख्यात्मक रुपमा आज सम्म नेपालमा थोरै संक्रमित देखिएका छन् । त्यो नेपालीको क्षमताले हो वा समयले साथ दिएको हो, तर दोश्रो लहरको कोरोना भित्रियो भने नेपालीलाई जोगिन गाह्रो छ । राज्यले पनि त्यस्ता बिषयमा ध्यान दिएको छैन ।
नेपालमा कोरोना बिरुद्धको खोप बन्ने संभावना छैन । छिमेकी देशले बनाएको खोप एक चरणको आयो । पहिलो पंक्तिमा खटिनेकालागि लगाइएपनि दोश्रो चरणको आउने नआउने समेत अझै प्रष्ट छैन । छिमेकी भारतनै संक्रमणको चपेटामा परिरहेको बेला नेपाललाई खोप पठाउन सक्छ वा सक्दैन त्यो भन्न सकिने अबस्था पनि छैन । युरोपका अधिकांस र दक्षिण अमेरिकी देशहरु अझैपनि लकडाउनको अबस्थामा छन् । संसार हल्लाउने ती देश समेत कोरोना रोकथामबाट थला परे । भोलीका दिनमा नेपाल र नेपालीको अबस्था त्यो भन्दा दर्दनाक हुन पनि सक्छ । त्यसैले हामीले आफ्नो क्षेत्रबाट जोगिने कुरानै ठूलो हो । अझैपनि हामीले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्नुको बिकल्प छैन । भोलीका दिनमा आउने महामारीबाट हरेक नागरिक आँफै सचेत बनेर जोगिनु अन्तिम बिकल्प हो ।
