हिमाल देउता हुन् । हिमाल सभ्यता हो । संस्कृति सभ्यताबाट सुरु हुन्छ । कसको संस्कृति कस्तो थियो, वैश्विक संस्कृतिले केही मान्दैन । व्यापार हेर्छ, नाफा जोख्छ अनि कर तिरेको नाममा राज्यसँग लाभ लिन्छ । हिमालले माग्दैन । हिमालले जब दिन थाल्यो, मान्छेहरु व्यापारिक भए । मानवता थियो नै, तर बिक्रीको लागि थिएन । हिमाललाई पूजा गर्नेहरुले अर्काको लागि गरेनन् । हिमाल अर्काको लागि भइदियो, उनीहरु पूज्दै थिए । यो गाउँको कथा हो । हिमालको कथा पोखरा र पर्यटकीय भन्ने खुम्बुले चिन्दैन । खुम्बु हुँदै तेन्जिब माथि जाँदै गर्दा शेर्पाले पनि चिनेनन्, हिउँले चिन्यो तर मान्छेले चिनेन । हिमाल चढ्नुजस्तै ओर्लनु पनि हो जीवन भन्ने म्याकलोरीको वचन सापट लिएर भन्दा मान्छेले मान्छे चिन्दैनथ्यो । महारानीको कथासँग तत्कालीन राणा शासन जोडियो । उनीहरुले बेलायतमाजस्तो खुसीयाली त मनाएनन् तर तेन्जिबलाई पदवी दिए । गाउँको कथापछि यथार्थतिर फर्कदा हिमालहरु सम्पदा मात्र होइनन्, जीवनलाई जीवन्तता पस्कने हाम्रै सहायक हुन् भन्ने बल्ल बुझे ।
उनीहरुले बुझ्दै थिए, गाउँमा सलह पसेजस्तो पर्यटक आइदिए । उनीहरुले आफ्नै कुरा भने, गाउँलेले साउतीमा कुरा बुझे । पर्यटक खुशी भए । गाउँलेले पनि पर्यटकलाई देउता नै माने । आफ्ना देउता नभनेका, आफ्ना भँगेर नभनेकाहरुले आवाज उठाए । हेलिकोप्टर आकाशमा उडेको किन रहेछ, उनीहरुले बुझे । गाउँमा पञ्चको सट्टा आफै पञ्च भएकाहरुले आवाज उठाए । आवाज अहिले पनि उठिरहेको छ, ‘किन, हाम्रा वनका चरा र मृगलाई तिमीहरुले बस्न दिएनौ ?’ जनप्रतिनिधिहरुले उठाएका आवाजहरुलाई कसैले सुनेनन् । गाउँगाउँमा विकासको नाममा बाटो गयो, हाइड्रो पुग्यो र विकासको बाजा बजायो । गाउँलेले बाजा सुने तर घरमा पुग्दा बाजाले केही दिदैन भन्ने थाहा पाए । लामो कथाको छोटो कुरा एउटै हो, गाउँसँग विकास जोडिएन । विकास समातेको बाटो गाउँलेलाई थिएन । विकास जनतासँग जोडिनुपर्छ । अहिले तीन तहका सरकार छन् । सबैलेआफैले गरेको छु भनेका छन् । देखाउने जनतालाई हो । जनताले अनुभूति गर्ने ठाउँमा विकासको अनुभूति सबैले गर्न पाउनु पर्छ । हिमाल संस्कार र संस्कृतिसँग जोड्नेहरुले हिमाललाई पुज्नु पर्छ । हिमालसँग वरदान माग्दा यसको संरक्षण बारेपनि सोच्नै पर्छ । हिमाल विश्राम गर्न जाने थलो होइन, मोक्ष र ज्ञानको बोध गम्य स्थान हो ।
