पर्वतको फलेबास नगरपालिकाले श्रमिकहरुलाई पेन्सन परिचयपत्र वितरण गरेको छ ।नगरपालिकाले पालिकाको भगराका ४० जना किसानहरुलाई पेन्सनपट्टा बाँढेको हो । नियमित आम्दानी नभएका र दैनिक ज्यालादारीको भरमा हातमुख जाड्ने विवश मजदुरको हितका लागि यो योजना ल्याइएको नगरपालिकाले जनाएको छ । वैदेशिक रोजगारीमा गएका वा अन्य जागिर खाएकाहरु योजनामा सामेल हुन पाउने छैनन् । ६० वर्ष कटेपछि सो योजनामा सामेल भएकाहरुले पेन्सन पाउनेछन् । यो सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनासँगको सहकार्यमा सुरु भएको कार्यक्रम हो । योजना अनुसार हरेक महिना मजदुरहरुले आफ्नो खर्च कटाएर ५ सय रुपैयाँ सो कोषमा जम्मा गर्नेछन् । नगरपालिकाले त्यति नै रकम कोषमा थप्नेछ । ६० वर्षसम्म मजदुरले गरेको योगदानकै आधारमा पेन्सन निर्धारण हुनेछ । पेन्सनका अलावा सो कोषबाट दुर्घटना बीमालगायतका सुविधाहरु पनि पाउने व्यवस्था रहेको छ ।
जनस्तरमा योजना लागु गराउने फलेबास देशकै पहिलो नगरपालिका हो । एउटा वडाबाट सुरु भएको अभियानालाई पालिकाभर पु¥याउने योजनामा छ, फलेबास । मजदुरीबाटै जीवन निर्वाह गर्नेहरुलाई बूढेसकालमा कसरी हातमुख जोडौँला भन्नेहरुलाई यो कार्यक्रमले असाध्यै खुसी बनाएको छ । जनप्रतिनिधिहरु जनताप्रति उत्तरदायी हुने हो भने सानो प्रयासले पनि ठूलो र सकारात्मक सन्देश प्रवाह गर्न सकिन्छ भन्ने उदाहरण फलेबासले प्रस्तुत गरेको छ । सरकारले चाह्यो भने साना कार्यक्रमबाट पनि जनता खुसी बनाउन सक्छ । इच्छाशक्ति हुने हो भने असम्भव भन्ने कुरा नै छैन । संघीयताको कार्यान्वयसँगै हामीले ‘घरघरमा सिंहदबार’को नारा लगायौं । त्यही नाराको उचालेर जनप्रतिनिधि भएकामध्ये केहीले कालान्तरमा नारा बिर्सिए । उनीहरुले जनजिविकाको सवालहरुप्रति खास ध्यान दिएनन् । आफूले चुनेका जनप्रतिनिधिहरुबाट अपेक्षित कार्यसम्पादन नभएपछि ‘जुन जोगी आएपनि कानै चिरेका’ भनेजस्तो पनि भयो । खासगरी संघीय संसद विघटनको निर्णय, सत्ता परिवर्तनको खेल अनि भ्रष्टाचार प्रकरणहरुले जनता निराश भए । संघीय संसद जनताका समस्याप्रति संवेदनशील बन्न सकेन÷सकिरहेको छैन । यस्तोमा स्थानीय तहहरुले चाहिँ केही परिवर्तनको सन्देश प्रवाह गर्न सफल भएका छन् । कोभिड–१९ को महामारीको व्यवस्थापनदेखि जनताका साना समस्या सल्टाउन पालिकाहरुले खेलेको भूमिका प्रशंसनीय छ । भला, केही पालिकाहरुमा डोजेरे विकास, प्राकृतिक स्रोत र साधनको अनुचित दोहन भएको किन नहोस ! जनतालाई सरकारको अनुभूति दिलाउने भनेका स्थानीय तहले नै हो । जनता ठोक्किने पनि उनीहरुसँगै हो । स्थानीय तहका जनप्रतिनिधिहरुले जनताका आवश्यकताहरु बुझेका हुन्छन्, आफ्नो ठाउँलाई के आवश्यक छ भन्ने खुट्याएका हुन्छन् । केन्द्रबाटद लादिएका कार्यक्रमहरुले अपेक्षित परिणाम नदिँदा स्थानीय तह स्वंयले गरेका कामहरु बढी परिणाममुखी हुन्छन् । फलेबासले पनि स्थानीयको आवश्यकता पहिचान गरेको हो । सामाजिक सुरक्षाको सवालमा आफूलाई अगुवा बनाएको हो । फलेबासको यो अभियान सह्रानीय मात्रै नभएर अनुकरणीय पनि छ । अन्य पालिकाहरुले उसलाई पच्छ्याउनुपर्छ ।
