रंगहरुको पर्व हो, फागु पूर्णिमा अर्थात् होली । होली पहाड,हिमाल र तराई सबैतिर मनाइन्छ । शुक्ल पक्षको ठूलो चन्द्रको छत्रछायाँमा रंगहरु खेल्नु होलीको मौलिक चरित्र हो । होलीसँग विभिन्न कथा र पूरककथा जोडिएका छन् । तराई,पहाड र हिमाली क्षेत्रमा फरक शैलीमा होली मनाइन्छ । काठमाडांैको वसन्तपुरमा चीर ठड्याएपछि होलीपर्वको औपचारिक सुरुवात हुन्छ भने मिथिलाञ्चलमा अर्कै परम्परा रहेको छ । होलीमा लगाइने रंगहरुमध्ये रातो शौभाग्यको सूचक हो भने नीलो मानवता र धैर्यतालाई दर्शाउँछ भने पहेँलो रंग भगवान् श्रीकृष्णको प्रिय रंग हो ।
होली आत्मियता साँटने पर्वको रुपमा पनि होलीलाई लिइन्छ । एकआपसमा रंग र टीका लगाएर खेलिने यो पर्वको मौलिकता चाहिँ पछिल्लो दिनमा हराउँदै गएको छ ।तराईमा गाइने फागुन गीत,जोगीरा, चैतावर र धमारजस्ता मौलिकता बोकेका होलीगीतहरु हराइसकेका छन् । आधुनिकताको नाममा उच्छृङ्खलता भित्रिएको छ । इच्छाविपरित रंग लगाइदिने, ज्यादति गर्ने अनि मादक पदार्थको सेवन गर्नेजस्ता विकृतिले पर्वको मौलिकता नष्ट गरेको छ । फागुको नाममा गरिने यस्ता गलत कार्यहरुलाई निरुत्साहित गरिनुपर्छ । सांस्कृतिक विचलनले मौलिकता मासिन्छ । मौलिकता मासिँदा सभ्यता मर्छ । विशिष्ठ सांस्कृतिक पर्वहरुलाई जोगाउनतर्फ सबैले ध्यान दिनैपर्छ ।रंगहरुले स्वतन्त्रताको अनुभूति दिलाउँछ । उल्लासमय वातावरणमा स्वतन्त्रताको अनुभूति गर्दा स्वच्छन्दता बर्जित हुन्छ । कसैको इच्छाविपरित रंगहरु दल्नु,विभिन्न रसायन मिसिएका रंगहरु प्रयोग गर्नु स्वास्थ्यको दृष्टिले पनि राम्रो हुँदैन । रसायन मिसिएका रंगहरुलाई पूर्णत बन्देज लगाइनुपर्छ ।
अर्कोतर्फ, यो वर्ष कोभिड–१९ को सन्त्रासका बीच होली आएको छ ।कोभिड–१९ को दोस्रो लहरका बीच होली मनाउँदा संयमता अपनाउन जरुरी छ । प्रशासनले भीडभाड नगर्न तथा संयम भएर होली मनाउन आग्रह गरेको छ । यो आग्रहको वेवास्ता गर्नु भनेको समस्या निम्त्याउनु हो । छिमेकी राष्ट्र भारतले कोभिडको खोप रोकेको अवस्थामा यो वर्ष भीडभाड नगर्नु नै सबैभन्दा हितकर हुन्छ । स्वास्थ्य र सुरक्षाभन्दा ठूलो विषय अरु हुन सक्दैन । लापरवाहीले गर्दा निम्तन सक्ने खतरालाई नजरअन्दाज गर्नु हुँदैन । संयमतापूर्ण रुपले रंगहरुको पर्व मनाउनु नै सबैभन्दा बुद्धिमत्तापूर्ण काम हुन्छ । सामाजिक दूरी कायम गर्ने, भीडभाडमा नजाने, मास्कको अनिवार्य प्रयोग गर्दै होलीलाई घरभित्रै सीमित गर्नुपर्छ । बचिए अर्कोवर्ष पनि होली आइहाल्छ भन्ने बिर्सनुु हँुदैन ।
