केही दिनयता वातावरण धमिलिएको छ । दिउसै अध्याँरो बनेपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानहरु प्रभावित बनेका छन् । संघीय राजधानी काठमाडौं वायु प्रदुषणबाट सबैभन्दा बढी प्रभावित भएको छ । विश्वका प्रदुषित सहरमध्ये यो एक नम्बरमा आएको छ । स्वीट्जरल्याण्डमा मुख्य कार्यालय रहेको आइक्यू एयरका अनुसार यहाँको हावा नै विषाक्त बन्न पुगेको छ । मानिसहरु बाहिर निस्कँदा आँखा पोल्नेलगायतका समस्याहरु देखिएको छ । वातावरणविदहरुले यो समस्या अझ केहीदिन लम्बिने जनाएका छन् । तुलनात्मक रुपमा स्वच्छ मानिने पोखरा र आसपासको क्षेत्र पनि वातारणीय प्रदुषणबाट अछुतो रहेको छैन । छिनमै पानी पर्ने पोखराको आकास धुम्मिएको छ । समग्रमा प्रदुषणले सिंगो देश प्रभावित बनेको छ ।शनिबार मात्रै पोखराका ३ ठाउँमा मापन भएको हावाको गुणस्तर (एक्यूआई) १५४ देखि २१८ सम्म पुगेको छ । ५० एक्युआइसम्म राम्रो मानिन्छ ।
देशका विभिन्न ठाउँमा भएका आगलागीले प्रदुषण बढाएको विज्ञहरुको भनाई छ । त्यसो त, हाम्रा सहरहरु भइरहेका मानवीय क्रियाकलापकै कारण पनि प्रदुषित थिए । प्रकृतिको चक्रलाई ध्यान नदिइ भएका विकास–निर्माण, प्राकृतिक दोहन तथा सवारीको बढ्दो चाप वातावरण बिगार्ने प्रमुख कारकहरु हुन् र थिए । पश्चिमी वायुमार्फत् पाकिस्तान र भारतबाट छिरेको दुषित हावाले पनि यहाँको वातावरण बिगारेको हो ।वायु प्रदुषित हाुँदा यसले हवाई उडान मात्रै प्रभावित गरेको छैन, मानव स्वास्थ्यमा पनि असर पु¥याएको छ । दुषित हावामा सास फेर्दा नाक चिलाउने, आँखा पोल्ने जस्ता तत्कालीन लक्षण देखिए पनि यसले दीर्घरोग निम्त्याउन सक्ने खतरा बढेको छ । त्यसले अहिलेको अवस्थामा घरबाहिर ननिस्कने र निस्कनै परे मास्कको प्रयोग गर्नुपर्ने भएको छ ।
दुई ठूला औद्योगिक राष्ट्रको बीचमा रहेको नेपाल वातरणीय दृष्टिले जोखिममा सबैभन्दा बढी जोखिममा रहेको विज्ञहरुले औंल्याएका छन् । दुई छिमेकीले गरेको कार्वन उत्सर्जनले यहाँका हिमालहरु पग्लिन थालेका छन् । मौषमी चक्र बिग्रिएको छ । मौषमी चक्र बिग्रिँदा यसले समग्र कृषि प्रणालीलाई असर पु¥याएको छ । अतिवृष्टि र अनावृष्टिका कारण बाढीपहिरोका घटनाहरु बढेका छन् । अर्कोतर्फ हामी आफैले प्रकृतिको अति दोहनले पनि समस्या निम्तिएको छ । वनजंगल जथाभावी फडानी, नदीजन्य पदार्थहरुको दोहन र वातारणीय सन्तुलन बिगार्नेगरि भएका विकासे परियोजनाका कारण पनि प्रकृति बिग्रिएको छ । दिनानुदिन बिग्रिएको वातावरणका कारण नेपालले ठूलो क्षति ब्यहोर्ने अवस्था आएको छ । त्यसलै अब वातारणीय समस्याप्रति बढी नै संवेदनशील हुनुपर्ने भएको छ । वातावरण जोगाउन स्पष्ट मापदण्ड निर्धारण, त्यसको पालना एवं नागरिकको तर्फबाट खबरदारी जरुरी देखिएको छ । त्यसो हुन नसके हामीले ठूलो मूल्य चुकाउनुपर्ने एकातिर छ भने अर्कोतिर भावी पुस्तासमेत जोखिममा पर्ने निश्चित छ ।
