हाम्रा सहरहरु सहरजस्ता छैनन् । आधुनिक सहरको लागि आवश्यक भाौतिक पूर्वाधारको अभाव र अव्यवस्थित सहरीकरण नेपाली सहरहरुका विशेषता हुन् । राजविराजपछि सबैभन्दा पहिला भौतिक विकासको योजना बनाएको पोखरा पनि यो मामिलामा पछाडि छ । २०३१ सालमा तत्कालीन अञ्चलाधीश शंकरराज पाठकको अगुवाईमा इञ्जिनियर पदमबहादुर क्षेत्रीले पोखराको भौतिक विकासको योजना बनाएका थिए । १८० वर्गकिलोमिटरक्षेत्रमा फैलिएको तत्कालीन पोखरा नगरपञ्चायतमा बाटो कस्तो बनाउने, बस्ती कहाँ विकास गर्ने, आवश्यक पूर्वाधारहरु कस्तो बन्नेलगायतका योजना समेटिएका थिए । सिद्धार्थ राजमार्ग र पृथ्वी राजमार्गसँग पोखराका बाटाहरु जोड्दै मुख्य पर्यटकीय क्षेत्र लेकसाइडका सबै घरका छतबाट ताल हेर्नेगरि योजना बनाइएको थियो । व्यक्तिको जग्गा लिएर त्यहाँ पूर्वाधार विकास गर्ने र त्यो जग्गाबापत् नागरिकलाई जग्गा नै फिर्ता दिने ‘ल्याण्ड पुलिङ’ पनि यहाँ सुरु गरिएको थियो । ल्याण्ड पुलिङ अवधारणाबाटै पोखराको न्यूरोड बनेको हो । भौतिक विकास योजना अनुरुप त्यो बेला धेरैजसो जग्गाहरु अधिग्रहण गरिए ।अहिलेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि सरकारी कार्यालय भएको क्षेत्र, पोखरा बसपार्क,रंगशाला त्यहीबेला अधिग्रहण गरिएको थियो । रंगशालामा हाल आएर केही संरचना बनेको देखिएको छ । पोखरा क्षेत्रीय विमानस्थल निर्माणको क्रममा छ भने बसपार्कको लागि छुट्याइएको जग्गा अतिक्रमणको चपेटामा परेको छ । योजना अनुसार काम भएको भए साँच्चै पोखरा सुन्दर हुने थियो ।
शंकरराज पाठकपछि आएका अंचलाधीश र पोखरा नगरपञ्चायतले सो योजना कार्यान्व्यनमा ल्याउन सकेन । तत्कालीन योजना दराजमा थन्किएपछि पनि विभिन्न कालखण्डमा पोखराको बृहत्तर विकासको लागि योजना बन्ने क्रम जारी रह्यो । तर, ती योजनाहरु कार्यान्वयनमा आउन सकेनन् । सुन्दर पोखराबारे गरिएका अनुसन्धानतिर पनि कसैको ध्यान गएर । थाइल्याण्डको प्रसिद्ध एसियन इन्ष्टिच्यूट अफ टेक्लोलोजीमा ( एआइटी) मा मात्रै पोखराबारे गरिएका ७० भन्दा बढी थेसिसहरु थन्किएका छन् । त्यतातर्फ कसैको ध्यान गएको छैन ।पोखरालाई अन्तर्राष्ट्रिय सहर भनिन्छ । अन्तर्राष्ट्रिय सहरलाई चाहिने पूर्वाधार बन्न सकेका छैनन् । सार्वजनिक शौचालयसमेत नभएको सहरलाई अन्तर्राष्ट्रिय सहर कसरी भन्ने ?यहाँका बाटाहरु साँघुरा भइसकेका छन् । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, पुस्तकालय, नाचघर,कला संग्रहालयजस्ता अत्यावश्यक पूर्वाधार त परका कुरा हुन् । जथाभावि मापदण्ड मिचेर बनाइएका भौतिक संरचनाले सहरलाई कुरुप बनाइदिएको छ । पोखराको पर्याय मानिएको फेवाताल अतिक्रमणर प्रदुषणको चपेटमा परेको छ । त्यसलाई संरक्षण गर्ने दीर्घकालीन योजना पटकपटक बनेपनि कार्यान्वयमा आएको छैन । अर्कोतिर पोखरालाई सुन्दर प्राकृतिक सहर बनाउने योजनामा धक्का लागिसकेको छ । धेरै कुरा बिग्रिएको छ । मानवीय सूचकांकमा अगाडि देखिएपनि पोखराले धेरै कुरा गुमाएको छ । धेरै कुरा बिग्रिएको छ तर बनाउने सम्भावना अझै बाँकी छ । मापदण्डमा कडाई गर्ने, भएका योजनाहरुलाई कार्यान्वन गर्ने र यसलाई साँच्चिकै अन्तर्राष्ट्रिय सहर बनाउनेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने भएको छ ।
