बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

परिवार जोगाऔं

परिवार जोगाऔं


  • Dhorpatan News
  • चैत्र १९ २०७७, बिहिबार

बागलुङको काठेखोला ७,रेशका १० वर्षीय उज्ज्वल थापा,परिवार विखण्डनले निम्त्याउने संकट र बहुआयामिक प्रभावको प्रतिनिधि पात्र हुन् । पिताको निधन,आमाले बसाएको नयाँ घरबारले १ वर्षीय उज्ज्वल र उनकी दिदीको विजोग भयो । उनीहरु एकाएक सडकमा आइपुगे । दिदीलाई मानव सेवा आश्रम बागलुङले सहारा दियो । १० वर्षीय उज्ज्वल भने सडकमै बस्न अभिषप्त भने । अभिभावकविहीन भएपछि उज्ज्वले पढाइ छाडे । मैला लुगा लगाएर विद्यालय जाँदा साथीहरुले गिज्याएपछि स्कूलसँग उनको मन मरेको हो । आमा खोज्दै जाँदा पनि उनले बास पाउँदैनन् बरु घरबाट आधारातमा घरबाटद निकालिन्छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक सडक बालबालिकाको पुनःस्थापना गरिएको जिकिर गर्दै आएका छन् । प्रधानमन्त्रीले कुन सडक हेर्छन् र यस्तो अभिव्यक्ति दिन्छन् थाहा छैन तर सडक उनले भनेजस्तै वेसहराविहीन हुन सकेको छैन । बाध्यताले सडकमा आएकाहरुको संरक्षण र व्यवस्थापनको जिम्मा निःसन्देह सरकारको हो ।तर,सरकार मनगढन्ते गफमा रमाउँछ,केही गैरसरकारी संस्थाले सम्पादन गरेका कामहरुलाई उपलब्धी मान्छ र दायित्व विमुख बनिदिन्छ । बालबालिकाहरु किन सडकमा आउन अभिषप्त छन् भन्नेबारे खोजबिन नै गर्दैन । समस्याको चुरोमा नपुग्दासम्म न प्रधानमन्त्रीले भनेजस्तो सडक खाली हुन्छ नत सडकमा आउने उपक्रम नै रोकिन्छ ।
नेपाली समाज रुपान्तरणको चरणमा छ । हिजोको शास्त्रीय मान्यताहरु भत्किएका छन् । परिवारको परिभाषा नै बदलिएको छ । विवाह भनेको सम्झौता हो भन्ने मान्यता कमजोर हुँदै गएको छ । स्वतन्त्रता र स्वच्छन्दाताबीचको लक्ष्मणरेखा झिनो बनिरहँदा ‘पारपाचुके’ फेसन बनेको छ । अर्कोतर्फ, युवाहरुलाई विदेश जान प्रोत्साहित गर्ने सरकारी नीति र रेमिट्यान्सकै लागि विदेशिन अभिषप्त जनशक्तिका कारण परिवारहरु विखण्डित भइरहेका छन् । सानो निहुँमा महिलामाथि हिंसाका घटनामा बढोत्तरी भएको छ भने अर्कोतर्फ महिलाबाट पीडित पुरुषको संख्या पनि बढ्दै गएको छ । पितृसत्तात्मक सोचका कारण निम्तिने हिंसाबाट मुक्ति भनेको पारपाचुके नै हो । मन नमिलेपछि सँगै हिँड्न सकिँदैन÷हुँदैन । त्यसले झन गम्भीर दुर्घटना निम्त्याउने सम्भावना रहन्छ । अहिलेको देवानी संहिताले महिला र पुरुष दुबैलाई सम्बन्ध विच्छेद गर्न पाउने अधिकार दिएको छ । तर, यो अधिकारको प्रयोग गरिरहँदा त्यसले निम्त्याउने जटिलताबारे पनि मनन गर्नुपर्छ ।लोग्ने–स्वास्नी छुट्टिँदा त्यसले बालबच्चाहरमा पर्ने असर,उनीहरुको भविष्यलाई नजरअन्दाज गर्न मिल्दैन । विकसित राष्ट्रहरुमा सम्बन्ध विच्छेदपछि पनि बालबच्चाको भविष्यलाई केन्द्रमा राखिन्छ । नेपालमा त्यस्तो प्रचलन छैन । जसले गर्दा बाबुआमा छुट्टिँदा बच्चाहरुको भविष्य अन्धकार हुने गरेको छ । यो हेर्दा र सुन्दा सानो तर गम्भीर विषय हो । यो विषयबारे सरकार र सरोकारवालाले बेलैमा सोच्नुपर्छ । परिवारको विखण्डन हुने कारणहरुको खोजी, त्यसको निराकरणको लागि अभियान संचालन गरिनुपर्छ । पुराना समाजशास्त्रीय मान्यताहरु भत्किने क्रममा रहेको नेपालमा अब परिवार जोगाउन मनोसामाजिक अभियान संचालन गर्नुपर्छ । वर्षेनी बढ्दो सम्बन्ध विच्छेदलाई रोक्न त सकिँदैन तर कम गर्न अवश्य सकिन्छ भन्ने राज्यले बेलैमा बुझ्नुुपर्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->