पोखरा, २० चैत– नेकपा एमालेबाट पार्टी सदस्यसमेत नरहने गरी ६ महिने कारबाहीपश्चात माधव नेपालसमूह बिहीबार पोखरामा कार्यक्रम गरेको छ । कास्कीका अगुवा भेलालाई सम्बोधन गर्न नेपालसहित स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे पोखरा आएका थिए ।
कास्कीमात्रै नभई सम्पूर्ण गण्डकी क्षेत्र नै ओली समूहको दबदबा रहेको ठाउँ मानिन्छ । नगर, जिल्ला प्रदेशसहित केन्द्रमासमेत नेपाल समूह कमजोर छ । पार्टी कारबाहीपश्चात पहिलो पटक उपत्यका बाहिर कार्यक्रम गर्न नेपाल पोखरा आएका हुन् ।
‘ओली पक्षीय’ गढका रुपमा हेरिएको कास्कीमा नेपालले कार्यकर्तालाई सम्बोधनमात्रै गरेनन्, समानान्तर कमिटी घोषणासमेत गरे । करिब १ घन्टा भाषण गरेका उनले अन्तिम समयमा धनराज आचार्यको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेका हुन् । समितिको सचिवमा होमबहादुर नेपाली छन् ।
नेपाल समूहको समानान्तर जिल्ला कमिटी अध्यक्ष चुनिएका आचार्य नेकपा एमालेका पुराना नेता हुन् । उनी स्वर्गीय रवीन्द्र अधिकारीका सहपाठी र रवीन्द्र अधिकारी प्रतिष्ठानका महासचिवसमेत हुन् । सचिव नेपाली पुराना विद्यार्थी नेता हुन् ।
‘हामी दिन्छौं तपाईंलाई टिकट वडा, नगर, जिल्ला, प्रदेश, राष्ट्रिय सभा, प्रतिनिधि सभा सबैमा हामी टिकट दिन्छौं । हामी कुरा मिलाउँदै जान्छौं । तालमेल गर्छौं । केपी ओलीलाई एक्लो बनाएरै छाड्छौं ।’
‘अहिले केन्द्रीय कमिटीका साथीहरुसँग छलफल भएको छ । सोही छलफलअनुसार कास्कीमा ७५ सदस्यीय समिटी निर्माण भएको म घोषणा गर्न चाहन्छु,’ नेपालले भने, ‘समितिको सींगो नामको घोषणा अर्को बैठकमा गनेर्छौं । उपाध्यक्षलगायत अन्य ठाउँमा, हिजो पनि हाम्रा साथीहरुले जिम्मेवारी बहन गनुभएको छ । उहाँहरुलाई पनि निश्चित ठाउँ दिनेछौं ।’
नेपाल अर्को बैठकमा चाँडै महानगर, प्रदेश कमिटी पनि चयन गर्ने घोषणा गरे । ‘अब हुने अर्को भेलामा महानगर पदाधिकारी, कमिटी पनि घोषणा गर्नेछौं । तबसम्म यहाँका नेताहरुले सांगठित गर्न भूमिका निभाउनुहुनेछ,’ उनले भने ।
धेरै युवाको साथ आफू पक्षमा लागिसकेको दाबी गर्दै नेपालले थपे, ‘अब चाँडै केन्द्रको पनि घोषणा गर्नेछौं । जिल्लामा सबै संगठित हुनुहोस् । कमिटी बैठकहरू अब नियमित गर्नुहोस् । हामी सबै ठाउँमा संगठित भएर केन्द्रमा पनि घोषणा गर्छौं ।’ कास्कीमा नेकपा एमालेको अध्यक्षमा भने कृष्ण थापा छन् । उनी गण्डकी प्रदेश सभा सदस्यसमेत हुन् ।
‘टिकट नदिएर कमजोर बनाइएका हौं’
आफू पक्षीय कमजोर रहेकै ठाउँबाट समानान्तर कमिटी अभियानको घोषणा गर्नु अर्थपूर्ण रुपमा हेरिएको छ । उनले देशैभरिका जिल्लामा आफू पक्षीय बहुमत रहेको तर, गण्डकीमा ओली पक्षले ‘टिकट नदिएरै’ कमजोर हुन पुगेको दाबी गरे ।
‘नगर, जिल्ला, केन्द्र जता पनि हामीलाई एकजना पनि छिर्न दिनु भएन, किनकी यहाँ उनका (ओलीका) हनुमानहरु धेरै थिए । हाम्रो सुनुवाइ भएन,’ नेपालले भने, ‘धन्न प्रदेशमा बल्ल बल्ल एकजनाले पाउनु भएको छ ।’
प्रदेशमा नेकपा एमालेको २७ सिट छ । जसमध्ये एकजना इन्द्रलाल सापकोटामात्रै माधव पक्षीय छन् । ‘अब झनै कुनै भूमिका पाउँछु भनेर नसोचे हुन्छ । त्यसका लागि नेताहरुको पाउ चरण गर्नुपर्छ,’ उनले भने, ‘तर हामी नैतिकवान हुनुपर्छ । नेताको पाउ चरण गर्नु हुँदैन ।’
अर्को प्रसंगमा नेपालले समानान्तर कमिटी बनाउँदै लैजाने र ओली पक्षले टिकट नदिए आफूहरुले टिकट दिएरै चुनाव जिताउने दाबी गरे । ‘हामी दिन्छौं तपाईंलाई टिकट वडा, नगर, जिल्ला, प्रदेश, राष्ट्रिय सभा, प्रतिनिधि सभा सबैमा हामी टिकट दिन्छौं,’ नेपालले भने, ‘हामी कुरा मिलाउँदै जान्छौं । तालमेल गर्छौं । केपी ओलीलाई एक्लो बनाएरै छाड्छौं ।’
नेपालको कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्दै नेकपा एमालेलाई निजी कम्पनी बनाउन लागेको नेपालको आरोप थियो । उनले आफूसहित भीम रावललाई पार्टीबाट कारबाही गरेको भएपनि ‘नटेर्ने’ बताए । ‘केपी ओलीले हटाएर हट्ने हो ? कस्ले टेर्छ ? त्यो निजी कम्पनी हो ? हामी अहिले पनि वरिष्ठ नेता, स्थायी कमिटी सदस्य नै छौं,’ उनले भने ।
कास्की अब ओलीको रहँदैन : पाण्डे
नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले कास्की अब ओलीको नरहने दाबी गरे । उनले पार्टीलाई सुदृद्धिकरण गर्ने, पुनर्गठन गर्ने र कास्कीलाई ओलीको केन्द्रबाट फरक विचारधाराको केन्द्र बनाइने बताएका हुन् ।
‘पार्टीलाई सुदृद्धिकरण गर्ने, पुनर्गठन गर्ने र कास्कीका कमरेडहरुलाई मेरो विशेष अनुरोध छः कास्की ओलीजीको केन्द्र भन्ने होइन । अब केही समयपछि कास्की ओलीजीको होइन,’ उनले भने, ‘यो अर्को विचार समूह, जो यो पार्टीमा क्रान्तिकारी धारको नेतृत्व गर्छ, त्यसैको केन्द्र बन्नुपर्छ । त्यस हिसाबले अघि बढौं ।’
नेकपा एमालेबाट बिहीबामात्रै नेता पाण्डे र घनश्याम भुसाललाई अध्यक्ष केपाी शर्मा ओलीले कारबाही गरेका छन् । अध्यक्ष ओलीले पार्टीले सोधेको स्पष्टीकरणको उचित जवाफ नदिएको आरोप लगाउँदै पाण्डे र भुसाललाई कारबाही गरेका हुन् । यसअघि वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावल ६ महिनाका लागि पार्टी सदस्यसमेत नरहने गरी कारबाहीमा परेका थिए ।
अध्यक्ष थापाको प्रतिक्रिया : हतारमा हतास र गैर जिम्मेवारीपूर्ण काम भयो
माधव नेपाल समूहले कास्कीमा समानान्तर कमिटी गठन गरेपछि नेकपा एमाले कास्की अध्यक्ष कृष्ण थापाले नेपाल समूहले हतारमा हतास र गैरजिम्मेवारीपूर्ण काम गरेको प्रतिक्रिया दिएका छन् । कास्कीमा नेकपा एमालेको अध्यक्षमा भने कृष्ण थापा छन् । उनी गण्डकी प्रदेश सभा सदस्यसमेत हुन् ।
‘यसबारे मलाई धेरै जानकारी आएको छैन । तर, साँच्चै उहाँहरुले समानान्तर कमिटी गठन गर्नु भएको हो भने यो एकदमै हतारमा हतास र गैरजिम्मेवारीपूर्ण काम गर्नुभयो,’ ढोरपाटनसँग कुरा गर्दै अध्यक्ष थापाले भने ।
थापाले आफूइतर समूहले समानान्तर कमिटी गठन गरेपछि के गर्ने भन्नेबारे पार्टीले निर्णय गर्ने जानकारी दिए । ‘व्यक्तिगत रुपमा यो हतारमा गरिएको निर्णय हो । संस्थागत रुपमा अब पार्टीले के निर्णय गर्छ त्यसपछिमात्रै भन्न सकिन्छ,’ उनले भने ।





