आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

सभापतिाबाहेक चुनाव लड्दिन : डा.शेखर

सभापतिाबाहेक चुनाव लड्दिन : डा.शेखर


  • ढोरपाटन सम्वाददाता
  • चैत्र २९ २०७७, आइतबार

पोखरा, २९ चैत– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले पार्टी सभापतिबाहेकका पदमा उम्मेदवारी नदिने उद्घोष गरेका छन् । कांग्रेस महाधिवेशनमा सभापति उम्मेदवारी दिने तयारीमा रहेका कोइरालाले आफू पार्टी सभापति भए कार्यकर्ताले दुःख नपाउने जिकिर पनि गरे ।
‘म १४ औं महाधिवेशनमा सभापतिाबाहेकको पदमा उम्मेदवारी दिन्नँ’, गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसको अवसरमा शनिबार पोखरामा आयोजित फोटो प्रदर्शनी एवं विचार गोष्ठीमा बोल्दै उनले भने,‘कार्यकर्ताको क्षमता, योग्यता र योगदानको आधारमा उचित भूमिका दिन्छु ।’ कोइराला परिवारभित्र उनका भाइ तथा कांग्रेस महामन्त्री सशांक कोइरालाले पनि सभापतिमा उम्मेदवारी दिने बताइरहँदा उनले आफ्नो दावेदारी दोहो¥याएका हुन् । उनले पार्टीको महाधिवेशन कात्तिक ७ मै गराउन कार्यकर्ता जुमुर्राउने समय आएको बताए । खचाखच कार्यकर्ता भरिएको सभामा बोल्दै उनले नेतृत्वको आलोचनामा समय खर्चे ।
उनले वर्तमान प्रधानमन्त्री खड्कप्रसाद ओलीका कारण देश वर्वादीतर्फ अघि बढेको जिकिर गरे । वर्तमान सरकार निरंकुशता र अधिनायकवादतर्फ अघिबढ्दै गएको बताउँदै उनले प्रधानमन्त्री ओलीले आफूलाई केन्द्रमा राखेर देश चलाउँदा लोकतन्त्र नै धरापमा परेको उल्लेख गरे ।
उनले छिटोभन्दा छिटो मिलिजुली सरकार बनाउन आवश्यक भएको बताए । अविश्वासको प्रस्ताव दर्ता गर्न ढिलो भइसकेको उनको भनाई थियो । उनले अब आउने सरकार चुनावी सरकार नै हुने संकेत गर्दै आउँदो मंसिर वा चैत महिनामा देशलाई निकास दिन निर्वाचनको विकल्प नरहेको बताए ।
यादवराज अधिकारीको अध्यक्षतामा भएको सभामा नेता गुरुराज घिमिरेले गिरिजाप्रसादले सहमति, सहकार्य र एकताको माध्यमबाट नेपालको राजनीतिक भविष्य निर्धारण गरेको विचार राखे । नेतृ कमला पन्तले २०४८ देखि ०५१ सम्मको गिरिजाप्रसादको अर्थ नीतिले आजसम्म देश चलेको बताइन् । सभामा नेता जीवन परियार, नेतृ रत्ना शेरचन, जिपी फाउन्डेसन गण्डकी प्रदेश संयाजक शारदा पौडेल, नेपाली कांग्रेस कास्कीका सभापति कृष्णबहादुर केसी, पूर्वसभापति शुक्रराज शर्मा, यज्ञबहादुर थापा, सोभियतबहादुर अधिकारी, नेता देवराज चालिसे, खोटाङका पूर्व पार्टी सभापति सुवास पोखरेल, राष्ट्रिय सभाका सचेतक अनिता देवकोटा, पूर्वराष्ट्रियसभा सदस्य वृन्दादेवी आले राना, अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवर, तरुण दल कास्कीका सभापति मनोज गुरुङ, नेता विजयराज आचार्यलगायतले विचार गोष्ठीमा धारणा राखेका थिए ।
यसबीच नेपाल खानेपानी संस्थान कर्मचारी संघ केन्द्रीय समितिद्वारा प्रकाशित भित्तेपात्रो विमोचन भएको छ । संघका महासचिव केदार धमलाको नेतृत्वमा भएको विमोचन सभामा प्रमुख अतिथि डा. शेखर कोइरालाले श्रमिकको समस्यामा कांग्रेस प्रतिवद्ध भएको बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->